शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

बिहीबार, १९ साउन २०७९, १२ : ५८
बिहीबार, १९ साउन २०७९

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । 

“विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फछ्र्यौट भएको छ”, जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भने, “यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।”

श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताए । उनका अनुसार जिल्लामा सम्बन्ध विच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ । 

त्यस्तै आव २०७८/७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटाबाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ । अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एकवटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताए । एउटा जबर्जस्ती करणीको मुद्दा भने फछ्र्यौट हुन बाँकी रहेको उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप