आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीको कहर : स्थानीयलाई दोहोरो त्रास

सरकारले जग्गा लिने डरले बाढीपीडित जोखिम मोलेरै बस्तीमा
बिहीबार, १९ साउन २०७९, २२ : ३०
बिहीबार, १९ साउन २०७९

पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ । 

२०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशीले पुनः सोही धार समात्न खोजेपछि त्यहाँका २ हजार ५ सय घर परिवार विस्थापनको जोखिममा छन् । जोखिममा पर्नेहरु १ हजार ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा लगि सकिएको छ । 

पानीको सतह बढ्दै गएको खण्डमा अरु १ हजार परिवार सार्नुपर्ने अवस्था रहेको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए । पुरानै धारमा कोशी फर्किएको खण्डमा बेलका नगरपालिकाको सोमबारे, डुम्रिबोट, मसानघाट, धौरीटप्पु, चिलिया, रामनगर आदि लगायतका वस्तीबाट सप्तकोशी बग्नेछ । 

सप्तकोशी आजभन्दा १६० वर्ष अगाडि चक्रघट्टी, इटहरी हुँदै ब्रम्हपुत्रमा पुगेर मिसिन्थ्यो । सप्तकोशी पूर्वतिर नै केन्द्रीत हुँदै बगिरहेको थियो । जब २०२१ सालमा चतरामा नहरको हेडबक्स बन्यो, त्यसपछि सप्तकोशी पश्चिमतिर ढल्केको हो । ‘२०४५ सालको भूकम्पमा जमिन चल्मलाउँदा पानीको मुख्य बहाब पुनः पूर्वतिर लागेको थियो,’ बेलका–३ का स्थानीय सुशील सेढाई बताउँछन् । 

गत वर्ष पनि यस्तै भंगालो गाउँतिर पस्न थालेपछि स्थानीयले त्यसलाई रोकेका थिए । तर, अहिलेजस्तो कटान थिएन । पछि केन्द्र सरकार तथा प्रदेश सरकारका मन्त्रीहरु त्यस ठाउँमा पटक पटक अनुगमनमा गएका थिए । तर, बाँध निर्माणको काम हुन सकेन । परिणामतः सप्तकोशी बस्तीमा पस्न सुरु गरेको छ । ‘डेढ वर्ष अगाडि हेरेर गएकाहरुले केही गर्दैनन्, पानीमा लगेर बालुवा हाल्छन् । अनि कसरी हुन्छ । यसलाई दह्रो तरिकाले आरसीसी गरे त हुने हो नि ?,’ बेलका–९ का हेमराज थापा गुनासो पोख्छन् । 

सरकारले यसअघि नै सप्तकोशीको कटानले जोखिममा परेका वस्तीहरु स्थानान्तरणका लागि प्रयास नगरेको भने होइन । तर, सस्तो जमिन, पानी नजिक, जीवन धान्न सजिलो र यातायातको सुविधाका कारण त्यहाँ वस्ती सर्नुको साटो जनघनत्व बढ्दै गयो ।

सप्तकोशीका कारण बेलाबेलामा दुःख पाउँदै आएको मानव वस्ती भने कोशीले धार बदलेर जता जान्छ, त्यसको विपरीत धारमा बस्ती सार्दै आएका छन् । ‘खोला यता सर्छ, बस्ती उता सर्छ,’ सेढाइ भन्छन् ।
 
अहिलेको कटानबाट पसेको सप्तकोशीको भंगालो डुम्रीबोटेबाट खयरको जंगलै जंगल ठूलो शिसौली क्षेत्र, एकता चोकबाट रामनगर हुँदै भागलपुर पुगेर मूल भंगालोमा मिसिन्छ । उक्त क्षेत्रको दुरी झण्डै ७ किलोमिटर हाराहारीमा रहेको छ । 
‘अहिले पनि कोशी बगेको ठाउँमा नम्बरी जग्गा छ,’ सेढाईं भन्छन्, ‘नदी कहिल्यै पनि सिधा बग्दैन । नागबेली भएर बग्छ । जब नदीको नागबेलीमा अवरोध हुन्छ, उसले उग्र रुप लिन थाल्छ ।’ 

स्थानीयलाई दोहोरो त्रास

सप्तकोशीले डुबाउने त्रास सँगसँगै सर्वसाधारणलाई अर्को त्रास पनि रहेको देखियो । श्रीलंका टप्पु क्षेत्रमा धेरै स्थानीय सरकारी जग्गामा बसोबास गर्छन् । बाढीको त्रास देखाएर त्यहाँको वस्ती खाली गर्न खोजेको हो कि भन्ने त्रासले उनीहरु उद्धार टोलीसँग आउन नमानेको प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए । 

‘त्यहाँ राम्रो उब्जनी हुन्छ, उद्धार टोलीले दुईवटा घरको खाद्यान्न ल्याएर थन्क्याउँदा मात्रै बेलकाको एउटा सामुदायिक भवन टनाटन भयो,’ कार्की भन्छन्, ‘सर्वसाधारणहरु उब्जनी राम्रो हुने र सस्तो जमिन भएको कारण पनि त्यहाँ छोड्न नमानेको देखियो ।’ 

सशस्त्र प्रहरीका इन्स्पेक्टर उत्तम बस्नेतले पनि श्रीलंका टप्पुका सर्वसाधारण उद्धार गर्न खोज्दा नमानेको बताउँछन् । ‘पानी आएकै छैन । हामी सुरक्षित छौं, अहिले जाँदैनौं भनेर बसिरहेका छन्,’ बस्नेतले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप