बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुर क्षेत्र नम्बर–२ मा ‘हेभी वेट’ भिडन्त : उम्मेदवारीमा यी नेताको चर्चा

बिहीबार, १९ साउन २०७९, १२ : २३
बिहीबार, १९ साउन २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणाको तयारी भइरहेको छ । सो अवस्थामा निर्वाचनको चर्चा पनि चुलिन थालेको छ । मकवानपुरमा पनि निर्वाचनको चर्चा सुरु भइसकेको छ । दलहरु निर्वाचनको एजेण्डा तय गर्न केन्द्रित भएका छन् भने संघ तथा प्रदेशको चुनाव मिति तोक्नु अघि नै दलका नेताहरु उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै आफ्नो तर्फबाट तयारीमा जुटिसकेका छन् ।

यसै सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ लाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यी हुन् चर्चामा रहेका उम्मेदवार

मकवानपुरको क्षेत्र नम्बर–२ सत्ता गठबन्धनका तीन दलका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो । यो क्षेत्र सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको दल नेपाली काँग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को निर्वाचन क्षेत्र हो । उनी यो क्षेत्रबाट लगातार पराजित हुँदै आएकी छन् ।

उनीसँगै यो क्षेत्र सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य एवम् निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाको पनि निर्वाचन क्षेत्र हो । २०७४ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट सो क्षेत्रमा चुनाव लडेका खतिवडाले काँग्रेसकी डिनालाई पराजित गरेका थिए ।

लगातार ४ वटा निर्वाचनमा सफलता हात पारेका खतिवडा कुनै पनि अवस्थामा आफ्नो निर्वाचन क्षेत्र (मकवानपुर–२) छोड्ने मुडमा छैनन् । गठबन्धनको भागबण्डामा पनि उनले सो क्षेत्रमा आफ्नो माग दाबी गर्ने बुझिएको छ ।

यता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रबाट पनि सोही क्षेत्रबाट निर्वाचन जित्दै आएकी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान छिन् । २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बन्दा मोक्तानले प्रतिनिधिसभाको टिकट गुमाएकी थिइन् । उनले विरोध खतिवडालाई प्रतिनिधिसभा छोडेर आफू प्रदेशसभामा उम्मेदवार बनेकी थिइन् ।

आगामी निर्वाचनमा भने मोक्तान कुनै पनि हालतमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने पक्षमा उभिएकी छन् । उनले पनि प्रतिनिधिसभाको सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गर्दै आएकी छन् ।

मोक्तानसँगै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीको पनि निर्वाचन क्षेत्र यही हो । यस अघि राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका विडारीले पनि यस पटक सो क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी थालिसकेका छन् ।

यता मकवानपुर क्षेत्र नम्बर–२ लाई एमालेले पनि महत्वका साथ हेरेको छ । यो क्षेत्रमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको स्थायी बसोबास छ । उनी सोही क्षेत्रको मतदाता पनि हुन् ।

२०७४ को निर्वाचनमा प्रदेशसभाको मकवानपुर–१ (ख)बाट निर्वाचन लडेर जितेका उनले आगामी निर्वाचनमा प्रदेशसभामा उम्मेदवार नहुने घोषणा गरिसकेका छन् । प्रतिनिधिसभातर्फ भने चुनाव लड्ने कि नलड्ने भन्नेबारे उनले प्रस्ट भनिसकेका छैनन् ।

उनी आगामी निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा मात्र चुनाव लड्ने मनस्थितिमा छन् । सोही अनुसार उनी पनि मकवानपुर–२ बाट आगामी निर्वाचन लड्न इच्छुक रहेको बताइएको छ । त्यस्तै एमालेबाट रामेश्वर राना, संविधानसभा सदस्य सुभाष चन्द्र ठकुरी, विष्णु ढकाल लगायतले चुनाव लड्न सक्ने चर्चा छ ।

नेकपा एमाले मकवानपुरका इन्चार्जसमेत रहेका रानाले सो क्षेत्रबाट २०६४ सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो भने त्यस यता उनले चुनावमा उम्मेदवार बन्ने अवसर पाएका छैनन् । ठकुरी भने २०७० सालको निर्वाचनमा मकवानपुर–२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

उनी यस पटक प्रतिनिधिसभामै चुनाव लड्ने तयारीमा जुटेका छन् । उनले मकवानपुर–२ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारी थालेको बुझिएको छ । एमालेका ढकाल भने २०७४ को स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । उनी काँग्रेस–माओवादी केन्द्रसहित गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लवशेर विष्टसँग पराजित भएका थिए । उनी पनि प्रतिनिधिसभा तर्फको बलियो उम्मेदवारको रुपमा पार्टी भित्र प्रस्तुत भएको बताइएको छ ।

२०७० सालमा काँग्रेसले जिल्लामै एकमात्र सीट जितेको थियो । काँग्रेसका इन्द्रबहादुर बानियाँले मकवानपुर–१ बाट चुनाव जितेका थिए भने संघीयता कार्यान्वयनपछि मकवानपुरमा प्रतिनिधिसभाको २ क्षेत्र कायम भयो । २०७४ को निर्वाचनमा पनि काँग्रेसले प्रदेशतर्फ एकमात्र सीट जितेको थियो भने प्रतिनिधिसभामा शून्य भयो ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फको सो क्षेत्र एलाइन्स अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई छोडेर बानियाँ प्रदेशसभाको चुनाव लड्न मकवानपुर–२ को (ख) छिरेका थिए । २०७४ मा प्रतिनिधिसभा तर्फको मकवानपुर–२ क्षेत्र विरोध खतिवडालाई छोड्दै आफू प्रदेशतर्फ झरेका एमालेका राजाराम स्याङ्तान पराजित भए । एमालेबाट २०७० मा मकवानपुर क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्य निर्वाचित भएका स्याङ्तान अहिले एकीकृत समाजवादीमा आवद्ध छन् ।

प्रदेशसभातर्फ स्याङ्तानलाई हराएका काँग्रेसका बानियाँ पनि सो क्षेत्रबाट प्रतिनिधिसभाको चुनाव लड्ने सोचमा छन् । सोही अनुसार उनले गत स्थानीय तहको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ का अधिकांश पालिकामा गठबन्धनका उम्मेदवारलाई जिताएका थिए । २०७० को निर्वाचनबाट जित हात पारेका उनी यस पटक प्रतिनिधिसभामा सो क्षेत्रबाट नै चुनाव लड्ने र जित्ने तयारीमा जुटेका छन् ।

यस्तो छ मकवानपुर–२ को लेखाजोखा

निर्वाचनको मिति तय हुने दिन नजिकिँदै गर्दा मकवानपुरमा को नेता कहाँबाट चुनाव लड्ने भन्नेबारे चर्चा सुरु भएको छ । उक्त चर्चा अनुसार दलहरु आ–आफ्नो मतको लेखाजोखा गर्न जुटेका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट नेता विरोध खतिवडा निर्वाचित भएका थिए । उनले काँग्रेसकी डिनालाई १२ हजार ३९१ मतले पराजित गरेका थिए । खतिवडाले ४६ हजार ४८१ मत पाउँदा काँग्रेसकी डिनाले ३४ हजार ९० मत पाइन् ।

सो क्षेत्रमा तत्कालीन समयमा काँग्रेसको कमजोर क्षेत्रको रुपमा रहेको थियो भने एमालेले पनि राम्रै प्रभाव बनाएको थियो । सो क्षेत्रमा मकवानपुरको थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिको पश्चिम तर्फको वडाहरु १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तर तर्फको ५, ६, ७, ८ नम्बर वडा पर्दछन् ।

२०७४ मा सो क्षेत्रमा पर्ने मकवानपुरको राक्सिराङ गाउँपालिका बाहेक अन्य सबैमा एमाले र माओवादी केन्द्रको दबदबा थियो । राक्सिराङमा काँग्रेसले नेतृत्व लिँदा, थाहामा माओवादी केन्द्र र अन्य सबैमा एमाले हाबी भएको थियो ।

२०७९ को निर्वाचनमा भने अधिकांश गाउँपालिकामा गठबन्धनले जितेको छ । सो क्षेत्रको २ गाउँपालिकामा मात्र एमालेले जितेको छ । एमालेले भीमफेदी गाउँपालिकाको अध्यक्षमा जित्दा उपाध्यक्षमा भने काँग्रेसले जित निकालेको छ । इन्द्रसरोवर गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले नै जितेको छ ।

थाहा नगरपालिकामा माओवादी केन्द्रको प्रमुख, काँग्रेसको उपप्रमुख छन् । मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकामा काँग्रेसको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष छन् । हेटौंडामा भने एकीकृत समाजवादीको प्रमुख र काँग्रेसको उपप्रमुख छ भने १९ वटा वडामध्ये ८ वटा वडामा काँग्रेस, माओवादी केन्द्र एउटा, एकीकृत समाजवादी एउटा र बाँकी ९ वटा वडामा एमालेका अध्यक्ष छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप