सरकार, हामीले नागरिकता कहिले पाउने ?

person explore access_timeसाउन १९, २०७९ chat_bubble_outline0

गरिबीले थलिएको मेरो परिवार, दूरदराजमा हुर्केकी म भूइँमान्छे । बाबुले रक्सी पिएर रातदिन आमालाई  पिट्ने, दुर्व्यवहार गर्ने, पटक पटक घरबाट निकाल्ने गर्दथे ।  आमालाई ज्यानै जोगाउन गाह्रो थियो । एकातिर बाउको पिटाई, घरेलु हिंसा, दुर्व्यवहार र मानसिक पीडाले मेरी आमालाई सधैँ पिरोलिरहन्थ्यो भने अर्कोतिर वर्षौटे जन्मिएका दाइ र मलाई के खुवाएर हुर्काउने भन्ने धेरै चिन्ता थियो ।


अन्ततः आमाले सधैँको हिंसा सहेर बस्नुभन्दा घरै छोडी हिँड्ने निधो गरिन् । आमाले एकदिन भालेको डाँकोसँगै झिसमिसेमा मलाई र दाइलाई लिएर घर सदाका लागि छोडिन् । तीन पेट पाल्नकै लागि हजारौँ सपना बुनेर सहर पसेकी मेरी आमा एकदिन भिख माग्दै जाँदा ठूलो घरका मालिकले उमेर त निकै बाँकी छ त, किन माग्न हिँडेकी ? केही काम पाएमा काम गर्ने हो ? भन्दै प्रश्न गरे ।



‘काम पाए त गर्ने थिए नि । बरु काम के होला ?’ आमाले मधुर स्वरमा कुरा राखिन् ।  ‘मेरो घरमा भाडा माझ्ने, पोछा लगाउने, लुगा धुने काम हो । महिनाको दश हजार दिन्छु ।’ आमालाई प्रस्ताव आयो ।



खुशी हुँदै ‘धन्य प्रभु’ भन्दै आँखाबाट अश्रु खसाली सहस्र स्वीकारिन् आमाले काम  । त्यस दिन मेरी आमालाई जीवनमा सबैभन्दा ठूलो खुशी मिलेको थियो । महिना भरी काम गरी थापेको पैसाले हामीहरुको पेटपूजालाई ठिक्क हुन्थ्यो । एउटा सानो टहरामा हाम्रो बसाइँ थियो । केही समयपछि आमाले अरु पनि दुई चार घरमा भाँडा माझ्ने, पोछा लगाउने लुगा धुने काम गर्न थालिन् । केही पैसा बचत हुन थाल्यो । मेरी आमालाई आफ्ना सन्तानलाई स्कूल पठाउने ठूलो रहर जाग्न थाल्यो ।

दाइ र मेरो विद्यालय जाने समय ढल्दै गइरहेको थियो । आमाले नजिकैको सरकारी विद्यालयमा हामीलाई भर्ना गर्ने  निधो गरिन् । भर्ना हुनका लागि जन्म दर्ता चाहिने भयो । तर, आमासँग जन्म दर्ता थिएन । मैले आमासँग साँझमा खाना खाँदै गर्दा मेरो बाबा र घरबारे जान्न धेरै प्रश्न तेर्स्याए । बाबा कहाँ हुनुहुन्छ ? हाम्रो घर आफन्त कोही छैन ? किन हाम्रो जन्म दर्ता नभएको ? आमाले अँध्यारो मुख लगाएर मतिर हेरी मात्र रहिन्, जवाफ नै दिइनन् । केही बेरमा ठूलो स्वरमा ‘तिम्रो बाबा, घरपरिवार, आफन्त भन्ने कोही पनि छैन । सबै मरिसके’ भन्दै जवाफ दिइन् ।

मेलापात गर्दा जन्मेका हामी, जन्म दर्ता गर्नु पर्दछ भन्ने आमालाई थाहा भएन । फेरी नपढेकी, गरीब परिवारमा जन्मिएकी, हजुरआमाको मृत्यु भएपछि मेरी आमालाई सौतेनी आमाले धेरै हेला गरेर, पिटेर दश वर्षको उमेरमा घरबाट निकाले । सडकमा पुगेकी मेरी आमा भौतारिदै जाँदा एक बाटो बनाउने कामदारसँग प्रेममा परिन् । सँगै बाँच्ने सँगै मर्ने सपना देखाएर आमालाई श्रीमती बनाएर राखे । समयसँगै म र मेरो दाइको जन्म भयो  ।

जब आमाको रुप र यौवन घट्दै गयो, बाले अर्कै केटीसँग प्रेम गरी आमालाई हेला गर्न थाले । यति भन्दै आमा सुँक्कसुँक्क गरी पछ्यौराको सप्कोले आँसु पुछिरहिन् । आमाको बोली बन्द भयो । घर छोड्दा खेरीको समय मलाई पनि धमिलो याद छ । बाले आमालाई विना कारण रक्सी खाएर निकै गाली गर्ने, पिट्ने गर्थे । न त आमाको बिहे दर्ता नै भयो, न त नागरिकता नै बन्यो । आमालाई बाको घर ठेगाना पनि थाहा भएन । आमा एकाएक पहिचानविहीन हुन पुगिन् । 

दुःखको भुमरीबाट रोडमा बेवारिसे भएकी मेरी आमाको कोही आफन्त थिएनन् । भाग्यले ठगिएकी आमाको पहिचान नै भएन । ए सरकार, मेरी आमा तिम्रो देशको नागरिक होइन ? उनलाई पहिचान दिलाउने के तिम्रो धर्म होइन ?  हामी जस्ता बेसहारा, पहिचान, आवाजविहीनलाई आवाज भर्ने तिम्रो कर्तव्य होइन ? तिमी हाम्रो अभिभावक होइनौ ? हामीले के नै बिगारेका थियौ र ? दाइ र म पनि पहिचानविहीन बन्न पुग्यौ ।

सडकमा भेटिएका सहाराविहीनहरुको कथा हो यो । त्यस्तै पीडा यो कथा सुनाउने उनको साथीको पनि छ । गरिबी, पछौटेपन, दूरदराजमा हुर्किएकी उनकी आमा जुनेली । उनलाई नागरिकता बनाउनु पर्छ भन्ने सम्मको ज्ञान छैन । बा, आमाको समेत नागरिकता नभएको । बा र आमाको मृत्युपश्चात गाउँमा आफन्त भन्ने कोही नभएको । गरी खाने खेतबारी नभएको, मात्र झुपडीमा बस्ने अनि दिनभरी काम गरी कमाएको पैसाले साँझ विहानको छाक टार्ने काम । सधैँ भोलि के खाने भन्ने चिन्ता हुन्छ ।

एक दिनको कुरा हो, उनको गाउँमा एक अपरिचित व्यक्तिको आगमन हुन्छ । उसकी आमा जुनेलीको जवानीमा आँखा गाड्दै सहरमा जागिर लगाइदिने आश्वासन दिन्छ । प्रशस्त पैसा कमाउन सकिने सपना देखाउँछ अनि गाउँबाट भगाएर लैजान्छ । काठमाडौं जस्तो ठूलो सहरमा गर्भवती बनाएर उल्टै अलपत्र पारेर भाग्छ । उ कहिल्यै फर्केर आउँदैन ।

समय बित्दै गयो । जुनेलीले बच्चा जन्माइन् । उनलाई पतिको घर ठेगाना कहाँ हो, के गर्छ ? केही थाहा हुँदैन । आफ्नो भन्ने सबै गुमाएकी उसकी आमाको जाने ठाउँ पनि कहीँ हुँदैन । बेरोजगार कहीँ कतै काम पाइँदैन । पछिल्लो पटक उनी जुन होटेलमा थिइन्, श्रीमान्ले त्यही होटेलमा केही पैसामा बेचेर हिँडेको रहेछ । समयसगँै होटेल मालिकले यौन व्यवसायमा काम गर्न बाध्य बनाएछ । नर्कबाट निस्केर जानका लागि सहारा कोही हुँदैन । आफ्नो र बच्चाको पहिचानका लागि सरकारसँग भीख मागी रहेकी छिन् ।

सरकार, यी त प्रतिनिधि पात्र मात्र हुन् । आज हजारौ नागरिक पहिचानविहीन भएर बाँच्न बाध्य छन् । यसतर्फ कसको ध्यान जाने ? तिनका लागि बनेका राष्ट्रिय कानूनहरु नेपालको संविधान भाग २ को धारा १० ले कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित नगरिने लगायतका व्यवस्था गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ मा भएको नागरिकता प्राप्ति सम्बन्धि व्यवस्था, अन्तर्राष्ट्रिय कानून मानव अधिकारको विश्वव्यापी घोषणा १९४८ को धारा १५, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा २४, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ को धारा ९, बालअधिकारको विश्वव्यापी घोषणा १९८९ को धारा ७, मानव अधिकार सम्बन्धि अमेरिकी अभिसन्धि १९६९ को धारा २०  लगायतका दर्जनौ कानूनहरु र संघसंस्थाहरू क्रियाशील रहेता पनि हजारौ आमाको पहिचान, राष्ट्रियतालाई सम्बोधन गर्न सहयोगी बन्न सकेन ।

माथिको कथा सुनाउने बहिनी भन्छिन्, म र मेरो दाई, मेरो साथी पनि पहिचानविहीन भएकै कारण  शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाको हक, बालबालिकाको हकबाट बन्चित हुन पुगेका छौँ । सरकार, हामी तिम्रा सन्तान होइनौ ? के हामीलाई  नेपाली भनी गर्वका साथ छाती खोलेर बाँच्न पाउने अधिकार छैन ? कहाँ छ सरकार, अधिकार सहितको लोकतन्त्र ? हामीजस्ता पहिचानविहीनहरुले सरकारको अनुभूति गर्नै पाएनौ । भर्खरै मात्र नागरिकता विधेयक पास भएको छ । यसले  चहराइरहेको पहिचानविहीन घाउमा मलम लगाउँछ कि भन्ने झिनो आशा छ ।

आवाजविहीनका लागि बनेका कानून, संयन्त्र, संघ, संस्था, भूइँतहका व्यक्तिहरुले सरकारको अनुभूति कहिले गर्न पाउने ? आज हजारौ नेपालीहरु आफ्नो राष्ट्रियताबाट वन्चित भएको देख्दा पंक्तिकारलाई पनि निकै पीडाबोध भइरहेको छ । तीन तहको सरकारले छिट्टै आवाजविहीनहरुको खण्डीकृत तथ्याङ्क अद्यावधि गरी पहिचानविहीनहरुको गुनासो, पीडाको सम्बोधन गरेको देख्ने रहर छ ।

जसले पुर्खौदेखि यही माटोमा पसिना बगाए, हरेक माटोको कण कणमा उसको मायाको स्पर्श, देशभक्तिको प्रेमसहितको रगत लतपतिएको छ । मुटु माझ देशकै नक्सा नमेटिने गरी कोरिएको छ । सरकार ती भुइँतहका पहिचान, पहुँच र आवाजविहीन भएका हरेक व्यक्तिहरुले गर्वका साथ म नेपाली, मेरो देश नेपाल भनी बाँच्न पाउने वातावरण सुनिश्चित गरी राज्यको दायित्व पुरा गर्नु गराउनु आजको आवश्यकता  हो ।                          

लेखक राष्ट्रिय मानव अधिकार आयोगमा अधिकृत छन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।