ad
x

एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छ : पुन

person explore access_timeसाउन १९, २०७९ chat_bubble_outline0

 नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुनसक्ने बताएका छन् । 


विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए । सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे । ‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’ 



पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे । दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।

 ‘हिजो हामीले एउटै पार्टी बनायौं । पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो । संघमा दुई तिहाइको सरकार थियो । विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरु करेक्सन भयो भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ । कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरु मिल्नुपर्छ भन्नेमा हो ।’ 

पुनले संविधान र व्यवस्था बचाउन काँग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे । आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रुपमा रहेको र संसद विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे ।  मन्त्री पद नै छाडेर काँग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धनसँग आफ्नो लगाव रहेको उल्लेख गरे । यद्यपि काँग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए । 

अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोश्रो दल बनेको कुरालाई काँग्रेसले हेक्का राख्नुपर्ने उल्लेख गरे । माओवादीसँग नमिले २३ सिटबाट तल झर्ने यथार्थलाई बुझ्न काँग्रेस नेतृत्वलाई चेतावनी दिए । ‘हाम्रो ३७ सिट थियो । अहिले केही बढ्छ, काँग्रेस २३ सिटमा थियो अहिले बढ्छ’, उनले भने, ‘फेरि वाम शक्ति मिल्दा काँग्रेस ५ वा ७ सिटमा जान्छ । काँग्रेस र वाम–लोकतान्त्रिक शक्ति मिल्दा एमाले ९ सिटमा झर्छ, यो सबैले भनिराखेको कुरा हो ।’ 

नेपालमा परम्परागत शक्तिको नेतृत्व काँग्रेसले र  प्रगतिशिल वामपन्थी शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्दै उनले तत्काल एमालेसँग सम्भावना नभए माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवसम्म एउटै मोर्चामा सहभागी भएर निर्वाचनमा जाने सम्भावना रहेको औंल्याए । वाम–लोकतान्त्रिक गठबन्धन काँग्रेस–एमाले हाराहारीको शक्ति बन्ने र मुलुकको राजनीतिमा त्रिपक्षीय शक्ति सन्तुलन देखा पर्ने  दाबी उनको थियो । 

देशमा काँग्रेसले परम्परावादी शक्ति र आफूहरुले प्रगतिशील वामपन्थी शक्तिको अगुवाई गरिरहेको भन्दै पुनले एमाले कहिले वामजस्तो र कहिले परम्परावादी शक्ति जस्तो देखिँदै आएको टिप्पणी गरे । ‘एमाले संक्रमणमा छ, उसले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्छ । पोजिसन स्पष्ट गर्दै जाँदा वाम–समाजवादी गठबन्धनमा पनि आउन सक्छ’, उनले भने ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।