मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

‘ट्रान्जेक्सनल पोलिटिक्स’ : थारू आन्दोलनको अर्थराजनीति

बिहीबार, १९ साउन २०७९, ०९ : ४२
बिहीबार, १९ साउन २०७९

अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । यो पार्टीले एकै पटक दुई गाउँपालिका तथा दुई नगरपालिकामा विजयको झण्डा गाडेको छ । रेशमको पार्टीले आगामी प्रदेश र संघीय चुनावमा पनि राम्रो परिणाम ल्याउने आँकलन गरिएको छ । यो पार्टी स्थापित हुनु थारू आन्दोलनको देन हो । यहाँनेर एक ज्वलन्त प्रश्न खडा हुन्छ, थारू आन्दोलनको उतारचढावबीच यो टीकापुर विद्रोहसम्म पुगेकोले मुभमेन्ट टु पार्टीको अवधारणा जीवित बनेको मान्न सकिन्छ ? 

थारू आन्दोलनको जगमा टेकेर पहिलो पटक राजनीतिक दलको रुपमा थरुहट तराई पार्टी नेपाल गठन भएको थियो । हुन त त्यो भन्दा अगाडि केही प्रयत्न २०६६ साल जेठ ३० गते वीरगञ्जमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको सम्पन्न राष्ट्रिय भेलामार्फत भएको थियो । तर मूर्त रूप लिन सकेको थिएन । प्रारम्भमा लक्ष्मण थारू अध्यक्ष भएर २०६८ सालमा थरुहट तराई पार्टी नेपाल गठन भयो ।  उता सभासद रुकमिणी चौधरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) गठन गरी २०७० को दोश्रो संविधान सभा निर्वाचनमा रुकमिणी चौधरी समानुपातिक सभासद भइन् । उता थरुहट तराई पार्टी नेपालबाट गोपाल दहित र गंगा सत्गौवा थारू गरी दुई सभासद एक सभासद समानुपातिक तर्फबाट चुनिए ।

यी दुइ पार्टीका सभासदहरु मन्त्रीमा भाग खोजी गर्न प्रतिस्पर्धारत थिए । त्यसैले, थरुहट आन्दोलन सशक्त र एकीकृत बन्नुको सट्टा शिथिल र छरपस्ट हुँदै गएको थियो । थरुहट थारुवान संयुक्त संघर्ष समिति आन्दोलनको अगुवाई गर्न सकी नसकी विरोधका कार्यक्रम तयारी गरेजस्तो गरे । संविधान सभाका तीन मुख्य दलका शीर्ष नेतृत्वबीच सम्पन्न सोह्र बुँदे षड्यन्त्रमार्फत जब फाष्ट ट्रयाकमार्फत संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो, थारू आन्दोलन टीकापुर (कैलाली) मा राज्यको चक्रव्यूहमा फँस्न पुग्यो । यसरी शान्तिपूर्ण राजनीतिक आन्दोलन एक आतंककारी टीकापुर काण्ड भएर जनमानसमा प्रचारित भयो । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी गरियो, तर थारू जातिले उक्त संविधान अस्वीकार गर्दै सो दिन कालो दिनको रुपमा प्रदर्शन गरे । आज पनि थारू जातिले संविधान प्रदत्त अधिकार किटानीपूर्वक भन्न सकिने स्थितिमा छैनन् ।

थारूहरू आन्तरिक उपनिवेशको शिकार भएका छन् । नेपाल राज्यको आन्तरिक औपनिवेशीकरण नीतिले गर्दा थारू जातिको सर्वहाराकरण भयो भने सामाजिक प्रतिरोधी क्षमता कमजोर भई दिनानुदिन संकटग्रस्त बन्दै गएको देखिन्छ । अझ नेपाली नागरिकतालाई राष्ट्रियतासँग जोडेर आधुनिक नागरिक बनाउँदै नेपाली भाषा अनिवार्य बोल्न लगाउने प्रपञ्च खतरनाक सावित भएको पाउँदछौँ । कथित नेपाल एकीकरणको समयमा जमिन र सेना सम्बन्ध स्थापित गर्दै सेना कमाण्डर नजराना, बक्सिस, जागिर प्राप्त गर्नु नै थारूहरूले जमिनबाट स्वामित्व गुमाउनु थियो  । 

यसरी थारू जाति प्राकृतिक श्रोत तथा साधनबाट विमुख बन्नु केवल नियति थिएन, उनीहरुलाई आधुनिक शिक्षाको नाममा देशभक्तिप्रति प्रतिवद्ध मात्र होइन, सांस्कृतिकरण तथा सहवरणको अवधारणामा आफ्नो पहिचान विलीन गर्न प्रोत्साहित गर्ने काम गरियो । यस अर्थमा थारू आर्थिक तथा सामाजिक–साँस्कृतिक ज्ञानसँग विच्छेद हुन पुगी औपनिवेशिकता स्वीकार गर्न बाध्य भए । औपनिवेशिकतामा बाँच्ने जुन कुनै जातिका सदस्य स्वयंमा कि निराश हुने गर्दछ कि अवसरवादी । यही कारण हो कि जहिले पनि आन्दोलन एक ‘आउट विडिङ्ग इफेक्ट’मा सीमित बन्न पुग्छ र ‘क्रिमी लेयर’का केही अगुवाहरुले लाभ हासिल गर्ने गरेका हुन्छन् ।

आजसम्म थारू आन्दोलन माग तथा मुद्दामा उठान भएको पाउँदछौं । वहिष्करण र सिमान्तीकरण विरुद्धको संघर्ष भनेर यसलाई बुझाउन सकिन्छ । समावेशीकरण, आरक्षणलगायत राज्यको मूलधारमा समाहित हुने चाहना केन्द्रमा राखेर आन्दोलनको मोडेल तयार गरिएको हुन्छ । विगतमा यसले ‘सिभिक डिस्अवडिएन्स’को चुनौती त खडा गरेकै हो तर परिणाम निकाल्न सकेन । परिणाम सचेत धक्काले मात्र ल्याउन सकिने तर्क विशेष गरी माक्र्सवादी खेमाका अगुवाहरुले गरिआएका हुन्छन् । सचेत धक्का दिन ‘इपिस्टिमिक डिस्अवडिएन्स’ अनिवार्य शर्त बन्छ । थारू आन्दोलनमा विकल्प सहितको विद्रोह कहिल्यै मन्थनको विषय बनेन । त्यसले आन्दोलनलाई भावत्तेजित त बनायो तर आन्दोलनको अगुवाहरुसमेत त्यही भावले उद्वेलित हुन पुग्दा प्रत्येक थारू आन्दोलन गोलचक्करमा फँसिरह्यो । आज पर्यन्त थारू आन्दोलन संगठन र संघर्षको एकाङ्गी पक्षमा उभिनुलाई नै आफ्नो कार्यभार ठान्दै आएको पाउँदछौं । कतिपय अवस्थामा अल्पज्ञानको प्रभाव पनि यसलाई बुझ्न सकिन्छ ।

औपनिवेशिकता विरुद्धको संघर्ष राष्ट्रिय मुक्ति क्रान्तिसँग सम्बन्धित छ । त्यसैले राष्ट्रिय उत्पीडनको सवाल हल गर्न राष्ट्रिय मुक्ति क्रान्ति एक अनिवार्य शर्त बन्छ । राज्यको चरित्र बदल्ने कुरो चुनौतीपूर्ण हुने हुँदा राज्यविहीन राष्ट्रहरुले दिने चुनौती यथार्थमा टीकापुर विद्रोह ताका थारूले अनुभूत गरेकै हुनुपर्दछ । सप्तरीका भोलानाथ सुब्बा थारू तात्कालीन प्रधानमन्त्री वीर शमसेर विरुद्ध चुनौती खडा गर्दा वि.स.१९४५ तिर फाँसीमा झुण्डिनु परेको थियो । त्यसबखत पनि सप्तरीका वहुसंख्यक थारू भोलानाथ सुब्बा थारूलाई विद्रोहमा साथ दिएका थिएनन् । त्यस्तै दृष्य टीकापुर विद्रोह भएको वेला पुरै सन्नाटा छाएको प्रतीत भयो । त्यो यसकारणले कि राज्य संयन्त्रहरु सबै निश्चित प्रणाली मार्फत सञ्चालिन हुने गर्दछन् । मिडिया राज्य नियन्त्रित हुँदा थारू आन्दोलनबारे गलत सूचना लगातार सम्प्रेषण गरियो । 

हुन त माक्र्सवादीले समेत राष्ट्रिय मुक्ति क्रान्तिको विषय उठान गर्दै तर्क गर्दछन् कि जबसम्म एक जातिले अर्को जाति उपर गर्ने शोषणको अन्त्य हुँदैन, तबसम्म एक व्यक्तिले अर्को व्यक्ति उपर गर्ने शोषणको पनि अन्त्य हुनेछैन । साथै एक वर्गले अर्को वर्ग उपर गर्ने शोषणको समेत अन्त्य हुनेछैन । तर उनीहरुले वर्ग संघर्षलाई प्रधान र बाँकी संघर्षलाई गौण करार गर्छन् । यसबाट जातीय मुक्ति सम्भव नभएर नै लेनिनले जातिको आत्मनिर्णयको अधिकार सम्बन्धि दृष्टिकोण प्रतिवादन गरे । त्यसको विरोधमा थुप्रै माक्र्सवादीहरु यो माक्र्सवादको भ्रष्ट रुप भएको बताए । रोजा यसमा विल्कुल असहमत नै रहे भने ट्रटस्की वोल्सेभिक पार्टीभित्र दुई लाइनको संघर्ष जारी राखे । राष्ट्रिय मुक्ति क्रान्तिबारे आदिवासी जनजातिहरुको दृष्टिकोण फरक पाइन्छ । विकल्प सहितको विद्रोह भनेर यसलाई बुझाउन सकिन्छ । त्यसैले अभियान, संघर्ष र विद्रोहको तीनै मार्ग अबलम्बन गरी यसलाई पुरा गर्न सकिनेछ ।

म थारू आन्दोलनको निकटमै रही काम गर्दा अनुभव गरेको विषय थुप्रै रहे । ती मध्ये २०७२ भाद्र ७ गते टीकापुर विद्रोह भएको दिन तात्कालीन गृहमन्त्रीको हैसियतले वामदेव गौतम संसदमा वोलेको विषय कुनै पनि थारू सभासदले नोटिस गरेको देखिएन । र, उनीहरुको आन्दोलन प्रतिको जवाफदेहिता केही पाइएन । संविधान जारी गर्नुपर्ने विषय बरु प्रधान भएर गयो । उनीहरु सरकारमा साझेदारी खोज्नतिर लागे । 

उता गाउँमा नेतृत्व प्रदान गरिरहेका भलमन्सा, बरघरहरु प्रशासनको आँखाको तारो बने । संघर्ष समितिका नेतृत्वकर्ता सबै आफ्नो आफ्नो सुरक्षित स्थानतिर गए । शुन्यताको अवस्थामा कफ्र्युको समयमा थारूहरुको घर, पसल छानी छानी भाद्र ८ गते आगजनी हुन पुग्यो । यी घटनाले भलमन्सा÷बरघरहरु नै वास्तविक नेतृत्व रहेको अनुभूति दिलायो । हजारौं प्रदर्शनकारीको नेतृत्व परोक्ष रुपमा तिनै भलमन्सा÷बरघरहरु रहेको बुझ्न कठिन भएन । यही कारण हो बरघर प्रणालीलाई कानुनी मान्यता दिलाउने नाममा  स्थानीय तहबाट राजपत्र प्रकाशन गरेर बरघर सञ्चालन ऐन बनाउन थालेको । राजनीतिक दलको विभिन्न तहमा रही काम गर्ने व्यक्तिहरु अहिले धमाधम बरघर चुनिनुको पछाडि यिनै मनोविज्ञानले काम गर्न खोजेको देखिन्छ । स्थानीय तहबाट प्राप्त हुने आर्थिक सहायता बरघर प्रणालीको लागि वरदान हो कि अभिशाप ? त्यो त आउने दिनमा पुष्टि हुँदै जाला । तर, राजनीतिक दलका स्थानीय कार्यकर्ताहरु यसरी बरघर÷भलमन्सा भई काम गरेसमाजमा अन्तरविरोध पुनरोत्पादन भैआउने पक्का छ ।

बरघर प्रणालीबारे ज्ञानसत्ता के हो ? भौतिक सत्ताको रुपमा यसलाई सुरुमा कसरी प्रयोगमा ल्याइयो र हाल कसरी प्रयोग गर्न खोजिदै छ ? के साँचिक्कै यसले थारूको राज्यसत्ता अभ्यासबारे स्थान बनाएको छ ? सरसर्ती हेर्दा यो एउटा प्रथाको रुपमा सञ्चालित भएको छ ।  यो प्रथा धान्न थारूहरु वर्षेनी बरघर चुन्ने गरेका छन् र सोही निर्णय बमोजिम समाजव्यवस्था कायम गरेको हुन्छ । तर बरघर प्रणालीको सामाजिक कार्यभार तथा कार्यकारिणी अधिकार हेर्दा यसलाई कार्यपालिका र अदालती दुई कोणबाट विश्लेषण गर्न सकिने ठोस आधार पाउँदछौं । त्यस्तै भौतिक तथा आध्यात्मिक सम्बन्धहरु बरघर प्रणालीभित्र मौजुद रहेको बुझ्न सकिन्छ । त्यसैले उपरोक्त सवालहरुको जवाफ खोजी गर्दा अंशबाट समग्र तथा समग्रबाट अंशको बुझाई बन्न जरुरी छ । यो नै थारू पहिचानको समग्रताको खोजीको ज्ञानसत्ता निर्माण गर्न सघाउने काम गर्छ । यिनै प्रक्रियामा थारूहरु हालसम्म अल्छी बनेर राजनीति मिलान गर्न असक्षम देखिए । 

राजनीतिमा माहिर खेलाडी मानिएका विजय गच्छदारसँग बरघर प्रणालीका विषयमा पटक पटक छलफल भएकै हो । यो पंक्तिकार समावेश रहेको टीम वैकल्पिक राजनीतिको वहसमा विजय गच्छदारलाई साँचिक्कै सहयोग गर्न तयार थियो । तर, उनले चुनाव जितेर आउँदा मात्र नेता हुने तात्कालीन परिवेशलाई आत्माग्रहको रुपमा अपनाए । गच्छदारको स्थिति राजनीतिमा चुनाव जितेर आए पनि कहाँ छ भन्ने सबैले बुझेको हुनुपर्छ । रेशमलाल चौधरी समेत सोही मनोदशाले ग्रस्त भएको पाइन्छ । नागरिक उन्मुक्ति पार्टी आफ्नो भविष्य वर्तमान चुनावी प्रतिस्पर्धाबाट नै सुनिश्चित गर्न खोजेको छ । नागरिक उन्मुक्ति पार्टी कुनै दिन दुई सभासद भएको थरुहट तराई पार्टीको हैसियत प्राप्त गर्ला तर थारूले उन्मुक्ति प्राप्त गर्ने विषय फगत आत्मरति नहोला भन्न सकिन्न । 

थारू आन्दोलन जुन दिन राष्ट्रिय मुक्ति क्रान्तिको धारमा लामबन्द भएर उठने छ, शायद बरघर प्रणाली स्थानीय राज्यसत्ताको स्वरुपमा विकसित बन्दै आधुनिक राज्य व्यवस्थाको खेलको नियम परिवर्तन गर्न सक्षम देखिनेछ । कम्तिमा नेपाल एक वहुलराष्ट्रिय राज्य पक्कै बनेर राज्यको पुनर्संरचना गर्न बाध्य हुने देखिन्छ । त्यसबखत थरुहट प्रदेश गौण र थारूको जातीय स्वशासन तथा आत्मनिर्णयको अधिकार प्रमुख हिस्सा बन्न पुग्छ । यसको आधारमा नै थारूको पहिचान तथा आत्मगौरवलाई संस्थागत गर्न बल पुग्नेछ । 

मलाई फेरि पनि भन्न मन लाग्छ– राणा जहाँनियाँ शासनकालमा थारू मासिने मतवाली बनाइए । लामो समयसम्म थारूको जीवन जगतको बुझाईमा त्यसले प्रभाव पार्यो । रैतीको रुपमा जीवन बाँच्नु थारूको नियति थियो । २००७ सालपछि थारू मतवाला भएर आफ्नो सरकार आफैं छान्ने सिद्धान्तको पछि लागेकै हुन् । त्यसबखत थारूको जीवन जगतको बुझाईमा आधुनिकीकरणले प्रभाव पार्यो र थारू कल्याणकारिणी सभा (थाकस) गठन गरेर सामाजिक कुरीति, अन्धविश्वास, वेथिति हटाउन आधुनिक शिक्षाको लागि बाटो देखाए । यी सबै हुँदै गर्दा औपनिवेशिकता प्रतिको थारूको बुझाई कमजोर बन्यो । साथै औपनिवेशिकतामा बाँच्नु पर्दा थारू जातिको न समृद्धिमा टेवा पुग्यो ,न सुखी बने । फेरि पनि स्थिति ज्युँका त्युँ छ । 

जारी थारू आन्दोलनले आज थारूहरुलाई हिम्मतवाला बनाएको हुनुपर्छ । यस अर्थमा सचेत धक्काको लागि तयारी गर्न सक्नुपर्छ, जुन विकल्प तयार गर्न केन्द्रीत हुनु जरुरी छ । यतिखेर वैचारिक÷सैद्धान्तिक तयारी, राजनीतिक÷कुटनैतिक तयारी, आर्थिक÷भौतिक तयारी, संगठन तथा संघर्षको तयारी अनिवार्य शर्त बन्छ । यिनै तयारीको जगमा थारूको राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाइनु पर्छ । समग्रमा यसले नेतृत्वको तयारी पुरा गर्ने भएको छ । थारू जाति यदि हिम्मतवाला वर्गमा रुपान्तरण भएकै हो भने अब राष्ट्रिय मुक्ति क्रान्तिमा लामबद्ध हुनेबाहेक अर्को विकल्प छैन । यो धरतीमा अस्तित्वको लडाई लड्ने थारूहरुको अन्तिम धक्का हुनेछ, जसले आत्मगौरव प्रदान गर्नेछ । र, गर्वका साथ हामी थारू हौं भन्ने भावनात्मक एकता विकास गर्न मद्दत गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीएन थारू
सीएन थारू
लेखकबाट थप