बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा माओवादीभित्र गुटबन्दी, उपकेन्द्र बनाउने तयारी

बिहीबार, १९ साउन २०७९, ०६ : ५२
बिहीबार, १९ साउन २०७९

मधेस प्रदेशमा गुटबन्दीले गुजुल्टिएपछि नेकपा माओवादी केन्द्रले कमिटी नै बनाउन सकेको छैन । माओवादीका सबै प्रदेश कमिटीले पूर्णता पाए पनि मधेस प्रदेशमा एक गुटले अर्को गुटलाई स्वीकार गर्ने स्थिति नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रबाटै हेर्दै आएका छन् । गणेश शाहलाई इन्चार्ज बनाए पनि उनले गुट व्यवस्थापन गर्न सकेका छैनन् । 

गत वैशाख ३० गतेको स्थानीय चुनावमा प्रह्लाद बुढाथोकीलाई अध्यक्ष र शाहलाई इन्चार्ज बनाइएको थियो । बुढाथोकी अध्यक्ष पदबाट राजीनामा दिएर सर्लाहीको लालबन्दी नगरपालिका मेयरमा चुनाव लड्न गएपछि पदाधिकारीको नाममा  इन्चार्ज शाह मात्रै छन् । प्रदेश कमिटी नै नभएपछि उम्मेदवारहरु आ–आफ्नै ढङ्गले चुनाव लडेर निर्वाचित भए । त्यसैले २०७४ सालको चुनावमा २१ सीट जितेको माओवादी गत वैशाख ३० गतेको चुनावमा ९ सीट मात्रै जित्न सफल भयो ।

आगामी प्रदेश र संघको चुनाव अघि प्रदेश कमिटी टुङ्गो लाग्ने नदेखेपछि प्रचण्डले उपकेन्द्र बनाएर जानुपर्ने प्रस्ताव राखेका छन् । मधेस प्रदेशमा गुटबन्दी धेरै भएकाले कमिटीले पूर्णता नपाउने अवस्था भएपछि उपकेन्द्र बनाएर जाने विषयमा छलफल भइरहेको पार्टी पोलिटब्यूरो सदस्य भरत साहले बताए । ‘अध्यक्षले अब प्रदेश र प्रतिनिधि सभा चुनाव आउन लाग्यो । पदाधिकारीमा सर्वसम्मत हुने देखिँदैन, चुनाव गर्न समय छैन । सबै केन्द्रीय सदस्यलाई राखेर एउटा उपकेन्द्र बनाऔँ भन्नुभएको छ,’ साहले भने,‘केन्द्रबाट इन्चार्जले हेर्ने गरी उपकेन्द्र बनाएमा विवाद पनि हुँदैन । चुनावमा पार्टी पनि एक ढिक्का हुन्छ भन्ने छ ।’ उपकेन्द्र बनाएमा सबैलाई समेटेर चुनावमा राम्रो नतिजा ल्याउन सकिने प्रचण्डले रणनीति बनाएका छन् ।

मधेस प्रदेशमा माओवादीको एउटा गुट मातृका यादव, अर्को गुट गिरिराजमणि  पोखरेलले चलाउँछन् । यादव र पोखरेल दुबैतिर नलाग्नेहरू प्रचण्ड गुट भनेर पावर एक्सरसाइज गर्ने गरेको एक नेताले बताए । ‘तत्कालीन माओवादीमा मातृका यादवले पार्टी विभाजन नगर्दा माओवादी एक ढिक्का थियो । प्रभु साह शक्तिमा नभएकाले मातृका कमरेडले जे भन्यो सबैले मान्ने अवस्था थियो,’ ती नेताले भने, ‘तत्कालीन नेकपा एकता केन्द्रसँग एकता भएपछि गिरिराजमणि पोखरेलको प्रवेश भएपछि शक्ति संघर्ष सुरु भयो । मातृका कमरेड पनि पार्टी छोडेर जानुभयो ।’

मातृका यादव एकतामा आउनुअघि पोखरेलसँग प्रभु साहबीच गुटबन्दी चलेको थियो । प्रभु साह एमालेमा प्रवेश गरेकाले अहिले यादव र पोखरेलबीच जुहारी चलेको छ । ‘मातृका कमरेड पार्टी एकता गरेर मूल माओवादी केन्द्रमै फर्किनुभयो । तर शक्तिविहीन अवस्थामा हुनुभयो । एकतामा आएपछि सर्वमान्य नेता हुन सक्नुभएन । सबैलाई समेट्न सक्नुभएन । आफ्नै गुट चलाउन थाल्नुभयो,’ ती नेताले भने,‘पोखरेल गुट उहिलेदेखि चलेको थियो । पूर्व माओवादीलाई निषेध गरेर गुट झन् झाँगिएको छ ।’

यादव र पोखरेल गुटमा नलागेकाहरू सिधै प्रचण्डसँगै सम्पर्कमा छन् । प्रचण्डले सबैलाई समेट्न थालेपछि मधेस प्रदेश कमिटी बन्न नसकेको ती नेताले बताए । ‘प्रचण्ड कमरेडलाई कसले कसरी गुटबन्दी गरेको छ सबै थाहा छ । कसले कहाँ गल्ती गरेको छ सबै जानकारी हुनुहुन्छ ।  कसैलाई भन्न सक्नु हुन्न,’ ती नेताले भने, ‘प्रदेश कमिटी सर्वसम्मत हुन सक्दैन । प्रचण्ड कमरेड चुनाव गराउने पक्षमा हुनुहुन्न । त्यसैले मधेस प्रदेश कमिटी नबनेरै चुनावमा जाने अवस्था छ ।’

मधेस केन्द्रित दल जसपा विभाजन भई तीन टुक्रामा विभाजित भएको छ । मधेस केन्द्रित दलप्रति आमजनतामा निराशा छ । काँग्रेस आफैमा गुटबन्दीको सिकार भएको छ । एमालेमा प्रभु साह भएपछि तङ्ग्रिएको छ । यद्यपि बलियो हुने गरी जाने अवस्था छैन । मधेसमा माओवादीले कमिटी बनाएर कमिटीलाई चुस्त भए अझै राम्रो शक्ति बन्ने सम्भावना छ । तर यस्तो अवस्थामा माओवादीले प्रदेश कमिटी नबनाए स्थानीय चुनावमा जस्तै प्रदेश र संघको चुनावमा गए उस्तै नियति भोग्नु पर्ने नेता कार्यकर्ता बताउँछन् । माओवादीको मधेसमा गुजुल्टिएको गाँठो प्रचण्डले फुकाउँछन् वा फुकाउँदैनन् हेर्न बाँकी नै छ । त्यसले  माओवादीको मधेसमा प्रदेश र संघको चुनाव निर्धारण गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप