शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : सवारी दुर्घटनामा तीन वर्षमा एक हजार ५६१ जनाको मृत्यु

बिहीबार, १९ साउन २०७९, ०६ : ०९
बिहीबार, १९ साउन २०७९

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा ३ हजार ४९६ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा एक हजार ५६१ जनाको मृत्यु भएको छ ।

सो अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २६० जना गम्भीर घाइते र एक हजार ८३६ जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

प्रदेशमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा  महिलाको तुलनामा पुरुषको संख्या ५ गुणा बढी छ । दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २४४ छ भने पुरुष एक हजार १६८ छन् । यस्तै, १०३ बालक र ४६ बालिकाको दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु दर भने बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा १ हजार १२२ सवारी दुर्घटनामा ४८४ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कुल १ हजार २१२ सवारी दुर्घटनामा ५२७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटनाबाट ५५१ जनाको मृत्यु भएको छ । 

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति रुपन्देहीमा हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा सवारी दुर्घटनाबाट ३५९ जनाको मृत्यु भएको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा यो आँकडा बढी हो ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या सबैभन्दा कम रुकुम जिल्लामा छ । यहाँ तीन वर्षमा सवारी दुर्घटनाका कारण जम्मा १५ जनाको मृत्यु भएको छ ।

बाँकेमा विगत तीन आर्थिक वर्षमा सवारी दुर्घटनामा २१३ जनाको मृत्यु भएको छ । यस्तै पश्चिम नवलपरासीमा १३२ जना, कपिलवस्तुमा १८९, बर्दियामा १२१, पाल्पामा ६७ जनाको मृत्यु भएको छ ।

विगत तीन वर्षमा सवारी दुर्घटनाका कारण गुल्मीमा ६४ जना, अर्घाखाँचीमा ४६ जना, रोल्पामा ४१, प्युठानमा ६२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशमा तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा सवारी दुर्घटनामा कम भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी मोहन खाँणले बताए । उनका अनुसार रुपन्देही, बाँके र दाङ जिल्लामा सवारी दुर्घटना बढी देखिन्छ ।

पैदल यात्रीले जहाँ पायो त्यहीँबाट बाटो काट्ने, चालकको लापरवाही, तीव्र गति जस्ता कारणले सवारी दुर्घटना बढी हुने गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप