शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुरु द्रोणाचार्यको व्यक्तित्व र कृतित्व

बुधबार, १८ साउन २०७९, १६ : १७
बुधबार, १८ साउन २०७९

महारथी द्रोणाचार्यको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी कौरव र पाण्डवका गुरु हुन् भन्ने पनि धेरैले सुनेको हुनुपर्छ र महाभारत युद्धमा भीष्मको अवसानपछि उनैले कौरवपक्षको नेतृत्व गरेका थिए भन्ने कुरा पनि थाहा हुनुपर्छ । तथापि उनी को थिए र कसरी कौरव र पाण्डवहरूको गुरु बन्न पुगे भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ उनैका बारेमा केही जानकारी प्रस्तुत गरिएको छ । 

द्रोणाचार्य भरद्वाज ऋषिका  छोरा हुन् । आमाको स्थानमा भने परिवन्दले घृताची अप्सरा हुन पुगेकी थिइन् । एक दिन आश्रममा बसेर सांसारिक विषयवस्तु चिन्तन गरिरहेका बेला आश्रम नजिक घृताची अप्सरालाई देखे । तत्कालै भइदियो के भने उनलाई देख्नासाथ महर्षि भरद्वाजको वीर्य खस्यो, जसलाई उनले के अनर्थ हुन लाग्यो भन्दै द्रोण नामक वृक्षको पातको खोचामा राखिदिए । पछि गएर सोही खोचाबाट द्रोणाचार्यको जन्म हुन पुग्यो । यस प्रसङ्गमा केकति सत्यता छ व्यासजी नै जानून् तर यसबाट हालको जस्तो टेष्टट्युव बेबी प्रविधिको विकास त्यतिबेलै भएको रहेछ भन्ने कुराको अनुमान भने लगाउन सकिन्छ ।

द्रोण वृक्षको पातबाट उत्पन्न भएकाले भरद्वाजले उनको नाम द्रोण राखिदिए । उनले प्रारम्भिक विद्याको ज्ञान बाबुकै आश्रममा पाएका थिए । त्यतिबेला पाञ्चाल राजकुमार द्रुपद उनका सहपाटी थिए । आफूसँग ज्यादै मिल्ने साथी पनि भएका र पढाइमा अब्बल पनि भएकाले दु्रपद उनीप्रति निकै आकर्षित भए । त्यतिबेला आफू राजा भएपछि चाहिएको सहयोग गर्ने आश्वासन दिन पनि भ्याएका थिए । बाबुको मृत्युपछि दु्रपद पाञ्चाल देशका राजा भए भने द्रोणाचार्य कठिन साधना गरी वेदवेदाङ्गमा पारङ्गत हुन पुगे । 

त्यतिबेला महर्षि प्रशुराम महेन्द्र पर्वतको गुफामा बस्थे । द्रोणाचार्य पनि प्रशुरामले जस्तै अस्त्रविद्यामा पनि सिद्धि प्राप्त गर्न चाहन्थे । त्यसैले प्रशुराम समक्ष गई प्रयोग, रहश्य र संहारविधिका साथ सम्पूर्ण शस्त्रविद्या सिकेर फर्के । त्यसपछि आश्रममा फर्केर शरद्वान् ऋषिका छोरी कृपीसित विवाह गरी एउटा पुत्र जन्माए, जो पछि गएर अश्वत्थामाको नामले प्रसिद्ध भए ।

द्रोणाचार्य विद्या र बुद्धिका जति धनी थिए सम्पत्तिका दृष्टिले त्यति नै गरीव । उनलाई माता सरस्वतीको कृपा त राम्रै थियो तर माता लक्ष्मीले भने हेरेकी थिइनन् । छोरा जन्मेपछि उनले आफ्ना बालसाथी दु्रपदलाई सम्झेर केही सहयोग माग्न गए । यसो त उनको माग्ने बानी थिएन । जे मिलेको छ त्यसैमा सन्तुष्ट हुनुपर्छ, थप पाउने इच्छा भए आफैँले कमाउनुपर्छ भन्ने उनको मान्यता थियो तर बाल्यकालमा परेको बेला सम्झनु पनि भनेका र छोराले दूध खाने इच्छा पनि गरेको हुनाले मात्र केही माग्न गएका थिए तर त्यतिबेला द्रुपदमा राज्यसत्ताका उन्माद यति चडेको थियो कि साथीको कुरा सुन्नु त कता हो कता उल्टै नानाभाँतीका अपशब्दद्वारा अपमानित गरेर फिर्ता गरे ।  

राजा द्रुपदको व्यवहारले उनी साह्रै खिन्न भए तर मुखले भने केही पनि भनेनन् । त्यसपछि उनी जीवनमा कहिल्यै कसैसित केही माग्न गएनन् ।  बरू छोरा अश्वत्थामाले दूध खान माग्दा चामलको पीठो घोलेर दिए तैपनि कसैसित कुनै चीजको आशा गरेनन् ।

समय बित्दै गयो । एक दिन उनी कतै जाँदै थिए । कौरव र पाण्डवहरू खेल्दै गरेको चौरमा पुगेछन् । चौर नजिकै गहिरो कुवा थियो । खेल्दै जाँदा भकुन्डो कुवामा झरेकाले राजकुमारहरू खिन्न भइरहेका रहेछन् । यद्यपि उनीहरूले भकुन्डो निकाल्ने प्रयास नगरेका होइनन् तर कुवा यति गहिरो थियो कि कसै गरे सकेनन् । त्यत्तिकैमा द्रोणाचार्यलाई देखेर सहयोग मागे । तत्कालै उनले पनि केही छेस्का बटुली त्यसैको आधारमा बाँणद्वारा यति सजिकै निकाली दिए कि राजकुमारहरू हेरेकाहे¥यै भए ।

आफूहरूले घण्टौँ प्रयास गर्दा पनि निकाल्न नसकेको भकुन्डो द्रोणाचार्यले सजिलै निकालिदिएको देखेर राजकुमारहरूले आश्चर्य मान्दैै सोधे–

‘महात्मन् ! थाहा छैन तपाईँ को हुनुहुन्छ तर तपार्ईँको अस्त्रकौशल देखेर अचम्मित भएका छौँ । कृपया आफ्नो परिचय दिनुभए आभारी हुने थियौँ ।’

उनीहरूको कुरा सुनेर द्रोणाचार्यले मुस्कुराउँदै भने–

‘राजकुमारहरू ! तिमीहरूका पितामह भीष्मसँग गएर मेरो रूप र अस्त्रकौशल बताउनु उनैले परिचय दिने छन् ।’

यति भनेर उनी हिँडे । राजकुमारहरूले पितामह भीष्म समक्ष गएर सबै कुरा बताए । भीष्म महान ज्ञानी, मानी र विद्वान् त छदै थिए विद्वता र अस्त्रविद्याका पारखी पनि थिए । उनलाई द्रोणाचार्य बाहेक यस्तो चमत्कार देखाउन सक्ने व्यक्ति अर्को हुन सक्दैन भन्ने बुझ्न बेर लागेन । त्यसैले तत्कालै उनलाई बोलाएर दरबारमा ल्याउनु भनेर सेवकहरूलाई आदेश दिए ।  

द्रोणाचार्यको आगमनपछि भीष्मले हस्तिानापुर दरवारमा भव्य स्वागत गर्दै राजकुमारहरूको शिक्षाको जिम्मा लगाए । खन, बस्नका लागि सम्पूर्ण राजसिक व्यवस्था मिलाइदिए । त्यस दिनदेखि उनी राजकुमारको गुरु बनी राजसिक ढाँडबाँठले रहन लागे ।

राजकुमारको शिक्षा पूरा भयो । उनका शिष्यहरूमा अर्जुन बढी प्रिय थिए । कारण अर्जुन पनि उनी जस्तै धनुर्विद्यामा कुशल थिए । पढाइसकेपछि उनीसमक्ष राजकुमारहरूले गुरुदक्षिणा लिन आग्रह गरे । उनले अरूसित त केही मागेनन् तर अर्जुनलाई भने गुरु दक्षिणा दिने भए पाञ्चाल नरेर द्रुपदलाई पक्रेर ल्याउनु भन्ने आदेश दिए । आदेश पाउन बेर थियो अर्जुनलाई द्रुपदलाई पक्राउ गर्न कत्ति बेर लागेन । तत्कालै राज्यसहित जितेर उनलाई गुरुसमक्ष पेश गरे ।

दु्रपद बैगुनी र अहङ्कारी भए पनि उनी त्यस्ता थिएनन् । उनको राज्य उनैलाई फिर्ता गरी उनलाई समेत मुक्त गरिदिए । त्यसदिनदेखि द्रुपदले त्यस्तो घमन्ड कहिल्यै गरेनन् । पूरा जीवन द्रोणाचार्यको हितैषी बनेर बिताए । हाल द्रोणाचार्यको भौतिक शरीर त छैन तर उनको यश र कीर्ति भने अहिले पनि उज्वल नक्षेत्र बनेर ऐतिहासिक आकाशमा चम्किरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप