बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजीनामा दिएर के गर्दैछिन् रेणु यादव ?

​जसपाभित्र मधेसी अल्पमतमा पर्न थालेको गुनासो
बुधबार, १८ साउन २०७९, १४ : ३५
बुधबार, १८ साउन २०७९

‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको ब्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

यो जनता समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादव वीरगञ्जमा असार २९ गते बसेको केन्द्रीय समितिको बैठकमा बुझाएको राजीनामा पत्रमा उल्लेख भएको कुरा हो । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै राजीनामा दिएको आज २२ दिन भइसक्यो, उनले दिएको राजीनामा स्वीकृत पनि भएको छैन । 

नेतृ यादव अहिले पार्टीको सम्पर्कमा छैनन् । उनी संसद्को बैठकबाहेक अन्य कुनै पनि राजनीतिक गतिविधिमा संलग्न छैनन् । पार्टीकै असन्तुष्ट नेताहरूको सम्पर्कमा रहेकी यादव जसपामा रहने वा अर्को कुनै नयाँ पार्टीमा जाने बारेमा अझै निश्चित भएको छैन । यद्यपि, जसपा अध्यक्ष उपेन्द्र यादव भने रेणुलाई पार्टीमै फर्काउन चाहन्छन् । स्रोतका अनुसार उपेन्द्र यादवले आफ्ना निकट नेताहरूमार्फत रेणु यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरिरहेका छन् । तर यसको विषयमा हालसम्म पार्टीले औपचारिकरुपमा केही बोलेको छैन ।

रातोपाटीले सम्पर्क गर्दा नेतृ रेणु यादवले भनिन्, ‘म पार्टीको जवाफको प्रतीक्षामा छु, मैले वीरगञ्जमा राजीनामा दिँदा पार्टी नेतृत्वसँग केही प्रश्न गरेका थिए तर अहिलेसम्म न मलाई मेरो प्रश्नको जवाफ आएको छ न राजीनामाको बारेमा पार्टीले केही भनेको छ ।’ पार्टीमा बढ्दै गएको वेथितिको विरुद्धमा आफूले राजीनामा दिएको बताउँदै उनले ती वेथितिमा अझैसम्म केही सुधार नभएको गुनासो गरिन् ।

वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूले थुप्रै वेथितिका कुराहरू उठेका थिए । स्थानीय तहमा पार्टीकै नेताहरूबाट अन्तर्घात भएको भन्दै कारबाही गर्ने कुरा पनि उठेको थियो । यी सबै समस्यालाई सम्बोधन गर्नुपर्ने थियो तर ती सबै जस्ताको त्यस्तै रहेको नेतृ यादवको गुनासो छ । स्थानीय तहको चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको उनको आरोप छ । 

अशोक राईको प्रतिवेदनमा नै स्थानीय तहमा केही नेताहरूबाट अन्तर्घात भएको उल्लेख भए पनि त्यसमा पार्टीले कुनै एक्सन नलिएको उनको गुनासो छ । विचार र सिद्धान्तले मात्र पार्टी नचल्ने बताउँदै उनले कहिलेकाहीँ व्यवहारिक कुरा पनि गर्नुपर्ने नेतृ यादव जिकिर गरिन् । पार्टीमा नियम सबैका लागि हुने तर जसपामा त्यस्तो अवस्था नरहेको उनले बताइन् । अब आगामी कदम कस्तो चाल्ने भन्ने बारेमा पार्टीका नेता, साथी भाइ तथा आफन्तसँग छलफल गरिरहेको बताउँदै उनले जसपामा फर्किने वा अरू नयाँ निर्णय लिने बारे केही दिनमै एउटा निष्कर्षमा पुग्ने पनि उनले जानकारी दिइन् । 

जसपाले तीनजना मन्त्रीलाई मात्र फिर्ता बोलाएको विषयमा उनको सबैभन्दा बढी असन्तुष्टि रहेको छ । मन्त्रीबाट चारैजनालाई फिर्ता बोलाउने पार्टीमा सहमति भए पनि राजेन्द्र श्रेष्ठलाई छाडेर बाँकी तीनजनालाई मात्र फिर्ता बोलाउनु पार्टीको नीति र निर्णय विपरीत रहेको नेतृ यादवको बुझाई छ । ‘पार्टी एउटा सिस्टममा चल्नुपर्छ, अंशबन्डाले मात्र पार्टी चल्दैन,’ भन्दै उनले पार्टीमा असन्तुष्टि जनाउँदै आएकी छिन् । 

यता जसपाबाट महन्थ ठाकुर पार्टी छाडेर गएपछि उनीसँगै अध्यक्ष पद पनि गएको तर्क अध्यक्ष उपेन्द्र यादवको रहेको छ । सोही तर्कको आधारमा उनले अर्को अध्यक्ष नियुक्त उनले गरेनन् । अहिले जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पनि पार्टी छाडेर गएका छन् । तर त्यो पदमा उनले तत्कालै अशोक राईलाई नियुक्त गरेका छन् । संघीय परिषद्को अवधारणा बाबुराम भट्टराईको नै थियो । उनी परिषद्कै अध्यक्षमा बस्न चाहन्थे । उनी गइसकेपछि महन्थ ठाकुरको अध्यक्ष पदजस्तै खारेज हुनुपर्ने थियो तर त्यस्तो नभएकोमा पनि नेतृ यादवको गुनासो रहेको छ । 

जसपाभित्र मधेसी नै अल्पमत अवस्थामा रहेको कुरा पनि उनले पार्टीमा राख्दै आएकी छिन् । उनले पार्टीमा भनेकी छन्, ‘आन्दोलन गरेर जनताका लागि बलिदान दिने मधेसी जनता, भाग पाउने अशोक राई ? यो भागबन्डाका कारण जसपाभित्रै मधेसी नेताहरू अल्पमतमा पर्न थालेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप