बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

बुधबार, १८ साउन २०७९, ११ : १३
बुधबार, १८ साउन २०७९

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप लगाए । मन्त्री साहले भने, ‘हामीले प्रधानमन्त्री शेरबहादुर देउवा ,गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझायौँ, तर प्रहरी समायोजनको सवालमा भने कोही पनि गम्भिर देखिएनन् ।’

प्रहरी बिना शान्ति सुरक्षा कायम गर्न सम्भव नरहेको बताउँदै उनले समायोजनका लागि संघर्ष एक मात्र विकल्प रहेको बताए । उनले साउन २२ गते मधेश प्रदेशमा रहेका विभिन्न दलका प्रदेशसभा सदस्यसहित मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको बताए ।

उनले सात दिने अल्टिमेटमसहित दिइने ज्ञापनपत्र पछि पनि संघीय सरकारले प्रहरी समायाेजन नगरे संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरिने बताए । उनले प्रदेशका सबै राजनितिक दलहरूको बैठकबाट नै यस्तो निर्णय गरिएको भन्दै मन्त्री साहले आफुहरुको आन्दोलनमा प्रदेशका हरेक राजनितिक दलको समर्थन र सहयोग समेत रहेको बताए ।

उनले संघीयताको जननी मधेस प्रदेश रहेकाले आफुहरुले प्रहरी समायोजनका लागि पनि संघर्षका लागि नेतृत्व गर्ने बताए । मधेस प्रदेश सरकारले असार २३ गते सात वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीहरूको भेलाबाट प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार बनाएर संघीय सरकारले आगामी साउन भित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न दवाव दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप