शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय रत्नराज्य मावि

बुधबार, १८ साउन २०७९, ०६ : ४४
बुधबार, १८ साउन २०७९

नेपालका सामुदायिक विद्यालयहरु मध्येको रत्नराज्य माध्यमिक विद्यालयले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् भन्ने साबित गरेको हो ।

हाल शिशु कक्षादेखि कक्षा १२ सम्मको  अध्यापन गरिँदै आएको रत्नराज्यमा विद्यार्थीको चाहना बमोजिम नेपाली र अंग्रेजी दुवै भाषा माध्यममा पठन पाठन गराइन्छ । विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक रामाशिष यादवले बताए । विद्यालयले विद्यार्थीको चाहना बमोजिम व्यवस्थापन गरिरहेको उनले बताए ।

सामुदायिक विद्यालयहरुमा अब्बल हुन रत्नराज्य माविमा कार्यरत करिब १०० जना शिक्षक कर्मचारी अनवरत खटिई रहेको प्रधानाध्यापक यादवको दाबी छ । ७७ जिल्लाबाट आएका करिब २७०० विद्यार्थी पठनपाठन गराइरहेको रत्नराज्य माविको आफ्नै सुविधा सम्पन्न र आधुनिक भूकम्प प्रतिरोधी भवनमा छ ।

विद्यालय परिसरमा नै रहेको वाणेश्वर मन्दिर, रत्न पुस्तकालय लगायतका सामुदायिक संरचनाले विद्यालयमा समुदायकै अपनत्व रहेको देखिन्छ । विद्यालयले अहिले कम्प्युटर ल्याबसहित प्राविधिक शिक्षामा पनि जोड दिएको छ। 

अतिरिक्त क्रियाकलाप, खेलकूद सप्‍ताह, मनोरञ्जनात्मक तथा ज्ञानवर्धक नियमित कार्यक्रमहरुले विद्यार्थीको सर्वाङ्गीण विकास गर्न मद्दत गर्ने बताउँदै विद्यालयले विद्यार्थीको चाहना अनुरुप अतिरिक्त क्रियाकलापलाई दैनिक पठनपाठनसँग जोडेको यादव बताउछन् ।

कक्षा ११ र १२ मा विद्यार्थीले रोजेका विषयहरूबाट व्यावस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन गरिरहेको रत्नराज्य माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ का लागि सिमित सीटमा कक्षा ११ मा भर्ना समेत खोलिसकेको छ ।

विद्यालयलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा राख्न सकेमा यसले उत्कृष्ट नतिजा दिन सक्ने यादवले बताए । रत्नराज्य मावि मध्यवानेश्वरले आफ्ना मिहिनेती शिक्षक, कर्मचारीमार्फत विद्यार्थीको सुनौलो भविष्य निर्माणमा इटा थपिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप