श्रवण यन्त्र प्रयोगमा सङ्कोच
सामान्यतया आँखामा समस्या हुँदा तथा आँखाको सुरक्षाका लागि धेरै जनाले चस्मा प्रयोग गर्छन् । यस्तै, श्रवणशक्ति कमजोर हुँदा श्रवण यन्त्रको प्रयोग गरिन्छ । यद्यपि जसरी मानिसले सहज रूपमा चस्मा प्रयोग गर्छन्, त्यसरी श्रवण यन्त्र प्रयोग गर्न हिचकिचाउने गरेको विवेक सापकोटा बताउँछन् ।
कानको सुन्ने क्षमता कमजोर भए पनि मानिसहरू श्रवण यन्त्र लगाउन सङ्कोच मान्ने गरेको उनले बताए । श्रवण यन्त्र जरुरी भएका धेरैले सङ्कोचकै कारण यसको प्रयोग नगरेको उनको भनाइ छ ।
श्रवण यन्त्र भनेको कान पुरै नसुन्ने र अपाङ्गले मात्र लगाउने हो भन्ने गलत बुझाइका कारण मानिसले यसको प्रयोगमा हिचकिचाउने गरेको उनको भनाइ छ । ‘मानिसहरू आफूलाई मन पर्ने तथा फेसन अनुसारको चस्मा खोजीखोजी लगाउँछन्,’ उनी भन्छन्, ‘श्रवण शक्ति कमजोर भएर दैनिक काम गर्न असहज हुँदा पनि श्रवण यन्त्रको प्रयोग गर्न भने अप्ठ्यारो मान्छन् ।’
श्रवण क्षमतामा ह्रास आएमा सम्बन्धित विशेषज्ञको सल्लाहमा बिना हिचकिचाहट श्रवण यन्त्र लगाउन उनको सुझाव छ । दृश्यशक्ति कम भएका मानिसले चस्मा लगाउन नहिचकिचाएजसरी नै श्रवण क्षमता कम भएका व्यक्तिले प्रस्टसँग सुन्न सकिने श्रवण यन्त्र प्रयोग गर्न अप्ठ्यारो मान्न नहुने सापकोटाको भनाइ छ ।
श्रवण यन्त्र के हो ?
श्रवण यन्त्र एक इलेक्ट्रोनिक उपकरण हो जुन सुन्ने क्षमता राम्रो बनाउन डिजाइन गरिएको हुन्छ । यो मेसिनले बाहिरको आवाजलाई चर्को बनाएर कानभित्र फाल्ने काम गर्छ र सजिलो तथा प्रस्टसँग कुरा सुन्न र बुझ्न सहयोग गर्छ ।
श्रवण यन्त्र कति प्रकारका छन् ?
श्रवण यन्त्र, ब्याट्रीबाट र चार्ज सिस्टम गरी दुवै विधिबाट चल्ने हुन्छ । श्रवण यन्त्रलाई खासगरी ३ प्रकारमा विभाजन गरिएको छ ।
१. एनालग श्रवण यन्त्र
२. अर्ध डिजिटल श्रवण यन्त्र
३. डिजिटल श्रवण यन्त्र
पहिलो र दोस्रो नम्बरको श्रवण यन्त्रले बाहिरको आवाज चर्को बनाएर सुन्न सहयोग गर्ने उनले बताए । डिजिटल श्रवण यन्त्रले बिरामीको सुनाइको प्रकार र डिग्री अनुसार काम गर्छ । यसले सुन्ने क्षमतासँगै कुरा बुझ्न पनि सहज बनाउने उनको भनाइ छ ।
यस्तै, कानको पछाडि झुण्ड्याउने, कानमा राख्ने, नदेखिने गरी कानको प्वालभित्रै राख्ने श्रवण यन्त्र पनि पाइन्छ ।
श्रवण यन्त्रका फाइदा
श्रवण यन्त्रले कुरा सुन्न र बुझ्न सहयोग गर्ने उनी बताउँछन् । यस्तै, सो यन्त्रले भिडभाडमा कुरा बुझ्नसमेत सहयोग गर्छ । जन्मजात सुनाइको समस्या भएका बच्चामा श्रवण यन्त्र लगाएर ‘स्पिच थेरापी’ गर्दा भाषा विकास हुने उनले बताए । यो यन्त्र लगाएको खण्डमा बुढेसकालमा पनि मजाले सुन्न र कुराकानी गर्न सकिन्छ ।
सापकोटाका अनुसार सुन्न नसक्दा उत्पन्न हुने मानसिक तनाव यो यन्त्रबाट अन्त्य हुन सक्छ । श्रवण क्षमता कमजोर भयो भन्दैमा जहाँ पायो त्यहीँबाट श्रवण यन्त्र किन्न नहुने उनी बताउँछन् ।
श्रवण यन्त्र मेडिकल प्रयोगका लागि भएकाले विशेषज्ञ डाक्टरलाई देखाएर अडियोलोजिष्टको परामर्शमा अडियोलोजी क्लिनिकबाट मात्र किन्न उनको सुझाव छ । अनलाइन वा जथाभावी किनेको मेसिनले सुनाईमा झनै समस्या निम्त्याउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म