सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश १ : बहुवर्षे आयोजनाका लागि १६ अर्ब भुक्तानी हुँदा प्रगति कस्तो ?

चालु आर्थिक वर्षका लागि ४ अर्ब ५८ करोड विनियोजन
मङ्गलबार, १७ साउन २०७९, २१ : ४९
मङ्गलबार, १७ साउन २०७९

प्रदेश १ सरकारले सञ्चालन गरेको बहुवर्षे सडक तथा पुलको भौतिक प्रगति ६० प्रतिशत रहेको जनाएको छ । प्रदेशसभामा बहुवर्षे आयोजनाको विस्तृत विवरण पेस गर्दै सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश सरकारले सञ्चालन गरेको बहुवर्षे १०९ वटा पुलमध्ये हालसम्म ६७ वटा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा २५ वटामात्रै पुल सम्पन्न भएको थियो । यस्तै ६६ वटा सडकमध्ये हालसम्म ३ वटा सडक (२६ किलोमिटर) निर्माण सम्पन्न भएको छ । भोजपुरमा एक, झापामा एक र मोरङमा एक सडक योजना सम्पन्न भएका हुन् ।

मन्त्री कार्कीले दिएको जानकारी अनुसार प्रदेशका बहुवर्षीय सडक (६६ वटा) तथा १०९ वटा पुलको जम्मा सम्झौता रकम ३० अर्ब ५० करोड रहेकोमा हालसम्म प्रदेश सरकारले १६ अर्ब ८० करोड भुक्तानी गरिसकेको छ । चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्काहरुका लागि ४ अर्ब ५८ करोड विनियोजन गरिएको छ । उक्त रकम भुक्तानी गरिसक्दा पनि प्रदेश सरकारलाई बाँकी दायित्व ८ अर्ब ७२ करोड रहने मन्त्री कार्कीले संसदमा जानकारी दिए ।

बहुवर्षीय सडक र पुलको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सो मन्त्रालयले जनाएको छ । सबै सडकको कुल लम्बाई ८ सय ८२ दशमलव २१ किलोमिटर छ । सबैभन्दा बढी दायित्व भने पूर्वाधार विकास कार्यालय झापामा छ । झापामा २ अर्ब २५ करोड रुपैयाँ दायित्व छ । सबैभन्दा कम दायित्व बाँकी रहने कार्यालय भनेको पूर्वाधार विकास कार्यालय उदयपुर हो । उक्त कार्यालयलाई १२ करोड ९१ लाखमात्रै बाँकी दायित्व छ ।

मन्त्री कार्कीले प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका विभिन्न ७ वटा पूर्वाधार विकास कार्यालयको विस्तृत विवरणसमेत प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको विवरण अनुसार सबैभन्दा लामो बहुवर्षीय सडक ओखलढुङ्गा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ रिङरोड (३२.३० किलोमिटर) हो भने सबैभन्दा छोटो बहुवर्षीय सडक सुनसरी जिल्लाको भोझाहा गाउँपालिकाको ढोप जाने बाटोमा पर्ने झोक्राहा बजार सडक (१.८१ किलोमिटर) हो ।

पूर्वाधार विकास कार्यालय पाँचथर अन्तर्गत दुई जिल्ला छन् । जसमध्ये पाँचथरमा ३ वटा बहुवर्षे सडक (३५.३७ किलोमिटर लम्बाई) र २ वटा बहुवर्षीय पुल छन् । सोही कार्यालयले हेर्ने ताप्लेजुङ जिल्लामा २ वटा बहुवर्षीय सडक (१४.७३५ किलोमिटर) र एउटा बहुवर्षीय पुल छ । पूर्वाधार विकास कार्यालय झापाको दायित्व मात्रै १ अर्ब १५ करोड छ ।

यस्तै, झापा र इलाम हेर्ने जिम्मेवारी पाएको पूर्वाधार विकास कार्यालय झापा अन्तर्गत १६ वटा बहुवर्षीय सडक र २५ वटा पुल निर्माणाधीन छन् । जसमध्ये झापामा ११ वटा सडक (१७०.१२ किलोमिटर) र १६ वटा पुल छन् । इलाममा भने ५ वटा बहुवर्षीय सडक (११९.९३ किलोमिटर) र ९ वटा बहुवर्षीय पुल निर्माण योजना सञ्चालनमा छन् । पूर्वाधार विकास कार्यालय झापाको बाँकी दायित्व २ अर्ब २५ करोड छ ।

यस्तै पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत भोजपुर र धनकुटा जिल्ला पर्दछ । भोजपुरमा ३ वटा बहुवर्षीय सडक (४० किलोमिटर) र ८ वटा पुल निर्माण योजना सञ्चालनमा छन् । धनकुटामा भने २ वटा बहुवर्षीय सडक (३५.३६ किलोमिटर) र २ वटा बहुवर्षीय पुल निर्माण योजना सञ्चालनमा छ । सो कार्यालयको बाँकी दायित्व ९५ करोड ८३ लाख रुपैयाँ छ ।

यस्तै पूर्वाधार विकास कार्यालय संखुवासभा अन्तर्गत संखुवासभामा २ वटा बहुवर्षीय सडक (३३.६५ किलोमिटर) र २ वटा पुल छन् भने सोही कार्यालय अन्तर्गत रहेको तेह्रथुम जिल्लामा २ वटा बहुवर्षीय सडक (३३.६३ किलोमिटर) र एउटा बहुवर्षीय पुल निर्माण योजना सञ्चालनमा छ । जसको बाँकी दायित्व १ अर्ब १४ करोड रुपैयाँ छ । पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत २१ वटा बहुवर्षीय सडक र २१ वटा पुल छन् । पूर्वाधार विकास कार्यालय मोरङले सुनसरी जिल्ला पनि हेरिरहेको छ । सो कार्यालय अन्तर्गत मोरङमा मात्रै १३ वटा सडक (१७० किलोमिटर) र १५ वटा पुल छन् । सुनसरीमा भने ८ वटा बहुवर्षीय सडक (७९.७८ किलोमिटर) र ६ वटा पुल निर्माण योजना सञ्चालनमा छन् । पूर्वाधार विकास कार्यालय मोरङको जम्मा बाँकी दायित्व १ अर्ब ९९ करोड रुपैयाँ छ ।

यस्तै पूर्वाधार विकास कार्यालय उदयपुर अन्तर्गत ६ वटा सडक र ७ वटा पुल निर्माणको काम भइरहेको छ । सो कार्यालयले उदयपुर र खोटाङ हेरिरहेको छ । उदयपुर जिल्लामा ४ वटा बहुवर्षे सडक (८४.३४ किलोमिटर) र तीन वटा पुल निर्माणको योजना सञ्चालनमा छ । यस्तै खोटाङमा २ वटा बहुवर्षे सडक (४० किलोमिटर) र ४ वटा पुल निर्माण योजना सञ्चालनमा छ । पूर्वाधार विकास कार्यालय उदयपुरलाई यी योजनाका लागि बाँकी दायित्व १२ करोड ९१ लाख रुपैयाँ छ ।

यस्तै पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा अन्तर्गत ४ वटा बहुवर्षे सडक र ५ वटा पुल छन् । जसमध्ये ओखलढुङ्गामा २ वटा बहुवर्षे सडक (४३.१९ किलोमिटर) र सोही कार्यालय अन्तर्गत रहेको सोलुखुम्बुमा २ वटा बहुवर्षे सडक (२२.५३ किलोमिटर) निर्माण योजना सञ्चालनमा छन् । यस्तै ओखलढुङ्गामा २ वटा पुल र सोलुखुम्बुमा ३ वटा बहुवर्षे पुल निर्माणाधीन छन् । पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाको बाँकी बहुवर्षे दायित्व ७३ करोड ५८ लाख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप