बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

महिला फुटबल टोलीमा ३५ खेलाडी छनोट

मङ्गलबार, १७ साउन २०७९, १९ : ३१
मङ्गलबार, १७ साउन २०७९

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन् । नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि मंगलबार ५८ खेलाडीबाट ३५ खेलाडीको टोली बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयमा जारी प्रशिक्षणबाट प्रशिक्षक थापाले २३ खेलाडीलाई हटाएका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल खेल्ने तालिका रहेको छ । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ ।

नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलङ्का छन् । यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ ।  समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पाँचौँ संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो ।

उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनु परेको थियो । नेपालले पाँचमध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै आएको छ । भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ । उता बंगलादेश चौथो संस्करणको उपविजेता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप