आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नाम लिम्बुवान–किरात राख्न जसपाको माग

मङ्गलबार, १७ साउन २०७९, १८ : ४५
मङ्गलबार, १७ साउन २०७९

जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताए । 

‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प्रदेश पनि मागेको हो । दक्षिणमा थरुहट प्रदेश पनि मागेको हो । तर, १ नम्बर प्रदेशभित्र मधेश, किरात, लिम्बुवान, शेपालुङ, कोच पनि यही पर्यो । सबैभन्दा धेरै लिम्बुवान र किरात प्रदेशको भूमि १ नम्बर प्रदेशमै पर्छ । त्यसो भएको कारण सबैभन्दा उपर्युक्त नाम लिम्बुवान–किरात हुन्छ भन्ने हामीलाई लागेको छ,’ उनले भने । 

उनले हिजो जनताको बीचमा भोट माग्न जाँदा लिम्बूसँग लिम्बुवान भन्ने, किरातमा जाँदा किरात दिन्छु र कोचमा जाँदा कोचिला प्रदेश दिने भन्ने अनि दिने बेलामा चुप लाग्ने भन्दै प्रश्न पनि गरेका छन् । ‘त्यसकै आधारमा भोट जित्ने अनि लिम्बुवानको नाम लिन कञ्जुस्याइँ गर्ने ? त्यस्तो हुन कदापि दिनेछैन,’ उनले भने, ‘यहाँ कोशी प्रदेशको कुरा आएको छ । कोशी नदिको वारिपारि कुनै सभ्यताको विकास भएको छैन । कोशी त भारतमा पुगेपछि मात्रै भन्छ । के भारतलाई दिन कोशी राख्ने हो ? मानव समुदायलाई चाहिने हो प्रदेश । नदीनालालाई चाहिएको होइन ।’ उनले दुई तिहाइको सरकार हुँदा नामाकरणको विषयमा केही कुरा नगरेर एमालेले ४ वर्षसम्म हलो अड्काएको आरोप लगाए । 
यता, नेपाली काँग्रेसका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद लीला सुब्बाले प्रदेश १ को नाम राख्दा भइरहेको आन्दोलनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । ‘प्रदेश १ को नामाकरणको विषयमा अप्ठेरो परिरहेको छ । पहिचान त छँदैछ तर, सबैले स्वीकार्य हुने खालको नाम हुनुपर्छ भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन्, ‘नेपाली काँग्रेसको पहिचान पनि भेटिने, जातीय द्वन्द्व पनि मेटिने भन्ने कुरा छ । बाहिर आन्दोलन भइरहेको कारण हामीले सोच्न बाध्य हुनुपर्छ । छलफल गरेर निचोडमा पुगौं ।’

उनले ओरालो लागेको मृगलाई हरिणले पनि खेद्छ भनेजस्तै धनकुटालाई हेपिएको गुनासो पनि गरिन् । धनकुटा जिल्ला अस्पतालमा दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा आइसियु चल्न नसकेको उनको गुनासो थियो । उनले धनकुटा प्रदेश १ को १४ जिल्लाकै केन्द्र हुँदाहुँदै पनि शक्ति र पहुँचको आधारमा राजधानी हुन नदिइएको गुनासो गरिन् । 

प्रदेशसभाको शून्य समयमा बोल्दै माओवादीका सांसद पूर्ण प्रसाद राजवंशीले ६ वटा प्रदेशको नाम राखिसक्दा प्रदेश १ ले नाम नपाउनुमा दुःख लागेको बताए । उनले झापा, मोरङ र सुनसरीमा आदिम कालदेखि नै आदिवासी कोच समुदायहरु रहेको दाबी गर्दै कोचिला राज्य हुनुपर्नेमा जोड दिए । ‘३ लाखको संख्यामा रहेका कोच समुदायको भावनालाई सम्बोधन गरेर कोचिला नामाकरण नगरे विद्रोहको संखघोष गर्न आएको छु,’ उनले भने, ‘झापा, मोरङ र सुनसरीलाई कोचिला राज्य पनि समेटियोस् ।’ माओवादी केन्द्रकै सांसद उमिता विश्वकर्माले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुनुपर्नेमा जोड दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप