शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परिसंघद्वारा बारा–पर्सा उद्योग संघ गठन

मङ्गलबार, १७ साउन २०७९, १८ : ३९
मङ्गलबार, १७ साउन २०७९

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो । संघको अध्यक्ष विरेन्द्र संघाई रहेका छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार भएको बताए । उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए ।

उद्योगहरुको स्थापनादेखि संचालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उनले वीरगन्जमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराए । उनले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गरे । ‘सबै भन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ । यहाँका युवाहरुलाई उचित तालिमको ब्यवस्था गरी स्वदेश मै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरुलाई आग्रह गर्छ’ उनले भने ।

सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए । त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने उनले बताए । उनले अन्य प्रदेशका विद्युत उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन उनको आग्रह थियो ।

यस्तै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजीकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानून र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए ।

यस्तै परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगत लगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको बताए । उनले आगामी भदौ २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी गराउँदै उक्त सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप