बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रातृ संस्थामा पदाधिकारीसहितको कमिटी ल्याउन देउवामाथि दबाब, कोइराला समूहका दुई सर्त

मङ्गलबार, १७ साउन २०७९, १८ : ३४
मङ्गलबार, १७ साउन २०७९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पदाधिकारीसहित भ्रातृ संस्था गठन गर्न दबाब बढेको छ । साउन मसान्तभित्र भ्रातृ संस्थाको गठन र पूर्णता दिने तयारीमा रहेका देउवालाई पदाधिकारीसहितको कमिटी ल्याउन दबाब परेको हो । पार्टीका संस्थापन र इतर पक्षका नेताहरुले पदाधिकारीसहितको कमिटी ल्याउनुपर्नेमा जोड दिन थालेका छन् । तर सभापति देउवा भने सबै भ्रातृ संस्थामा महाधिवेशन प्रयोजनका लागि प्लेन कमिटी नै ल्याउने तयारीमा छन् ।

देउवाले नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्र मनोनित गरेर सबै भ्रातृ संस्थामा प्लेन कमिटी मात्र ल्याउने संकेत देखाएको नेताहरु बताउँछन् । तर देउवा पक्षकै तरुण र विद्यार्थी नेताहरु भने प्लेन कमिटीको विपक्षमा छन् । यता शेखर कोइराला पक्षले पनि पदाधिकारीसहितको कमिटी ल्याउनुपर्नेमा जोड दिएको छ ।

असार २७ गतेदेखि साउन २ सम्म चलेको केन्द्रीय समिति बैठकमा पनि अधिकांश नेताहरुले विधानत: भ्रातृ संस्था पूर्णता र गठन गर्न सभापतिको ध्यानाकर्षण गराएका थिए । तर देउवाले केन्द्रीय कमिटीमा नेताहरुले राखेको धारणा विपरीत भ्रातृ संस्थाको पूर्णता र गठनको तयारीमा जुटेको संस्थापन पक्षकै एक नेताले रातोपाटीलाई बताए ।

सभापति देउवाले पदाधिकारीसहितको कमिटी ल्याउँदा भागबण्डाको लफडा सुरु हुने भन्दै प्लेन कमिटी ल्याउने नीति लिएको बुझिएको छ । सभापति देउवाले पदाधिकारीसहितको कमिटी ल्याउन नमानेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेमा संस्थापन इतरभित्र छलफल भइरहेको छ । संस्थापन इतर निकट एक पदाधिकारीले भ्रातृ संस्थाको नेतृत्वमा भागबण्डा भए प्लेन कमिटी मानेर जाने सकिने बताए ।

उनले भने, ‘सभापतिले पदाधिकारी सहितको कमिटी मान्दै नमानेपछि नेतृत्वमा भागबण्डा हुन्छ । अहिले ११ वटा भ्रातृ संस्था मध्ये केही भ्रातृ संस्थाको नेतृत्व इतर समूहलाई दिन सभापति तयार हुनुपर्छ ।’

ती नेताका अनुसार भ्रातृ संस्थामा पदाधिकारी नराखेपनि केही भ्रातृ संस्थाको नेतृत्व इतर पक्षले पाउँदा सहमतिको वातावरण बन्छ । तर संस्थापन पक्षले सबै भ्रातृ संस्थामा आफू पक्षीय नेतृत्व ल्याउने गरी अगाडि बढेको देखिन्छ ।

संस्थापन पक्षकै एक नेताले भने, ‘सभापतिमा सबै आफू पक्षलाई मात्र नेतृत्व दिने र नेतृत्वलाई नाम खोज भन्ने । उनीहरुले नेता भेट्ने । नेताहरुले दिएका नाम राखेर जाने भन्ने खालको देखिन्छ ।’

​यसरी अगाडि बढ्दा कुनै पनि कमिटी बन्न नसक्ने इतर पक्षका एक पदाधिकारीको दाबी छ । उनले भने, ‘पदाधिकारी पनि नबनाउने र इतर पक्षलाई कुनै नेतृत्व पनि नदिने अवस्थामा कसैले पनि नाम दिँदैन । कोही बस्छ भने आफै गएर बस्छ । बाँकी साथीहरुले समानान्तर गतिविधि गर्नुपर्ने अवस्था आउछ ।’

काँग्रेसमा १० वटा भ्रातृ संस्था विघटन गरेर सभापतिले नयाँ कार्यसमिति बनाउँदै छन् । अहिलेसम्म नेविसंघ, तरुण दल, किसान संघ,जनजाति संघमा देउवा पक्षका मात्र जिम्मेवारी पाएका छन् । अब दुई–तीन वटा भ्रातृ संस्था आफूले पाउनुपर्ने इतर समूहको माग छ ।

‘उहाँ त्यति उदार हुँदै गर्दा हामीलाई पनि पदाधिकारी, पदाधिकारी भनिरहेका साथीहरुलाई सम्झाउन सजिलो हुन्छ,’ ती पदाधिकारीले भने, ‘यो त सभापतिको कलमले न्याय गर्ने कुरा हो । सभापतिले लेखेर दिने ठाउँमा उहाँसँग नजिक रहेको बाहेकले पनि जिम्मेवारी पाउछन् भन्ने सहकार्य गरेर अगाडि बढ्न सजिलो हुन्छ ।’

सभापतिले उदार भएर निर्णय गर्दा पदाधिकारीको अडान छोड्न इतर पक्ष तयार देखिन्छ । तर महिला संघ, दलित संघ लगायतको नेतृत्व नपाए इतर पक्ष प्लेन कमिटीमा सहभागी नहुने ती नेताको भनाइ छ ।

‘महिला संघ, दलित संघ लगायतको सभापतिले इतर पक्षलाई दिन तयार हुनुभयो भने पदाधिकारी नै चाहिन्छ भनेर अनावश्यक बखेडा झिकिराख्ने कुरा छैन,’ उनी भन्छन्, ‘एउटा समझदारीको कुरा हुन्छ । तर नेतृत्व नदिएर नाम मात्र देऊ भन्नु भयो भने पहिला पदाधिकारीको टुंगो लगाउ भन्नुपर्ने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप