शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा सडक ‘वान वे’ गर्ने विषयमा प्रहरी र महानगरबीच विवाद

मङ्गलबार, १७ साउन २०७९, १८ : १०
मङ्गलबार, १७ साउन २०७९

ललितपुर महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी  र महानगरबीच विवाद उत्पन्न भएको छ । ललितपुरको नख्खु सडक र बखुन्डोलमा महानगरपालिकाले थालेको एकतर्फी सडक आवत जावतको पद्धतिलाई प्रहरीले हटाइदिएपछि महानगरपालिकाले फेरि नगर प्रहरी राखेर एकतर्फी बनाएको छ । सवारी ‘वान वे’ बनाउन राखिएका ट्राफिक संकेतका सामग्री तथा अन्य सामग्रीहरु प्रहरीले उठाएपछि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीदेखि आईजीपी धिरजप्रताप सिंहसँग समेत कुराकानी गरेका थिए । 

तर प्रहरीले सहमति नजनाएपछि उनी आफै नगर प्रहरी लिएर प्रहरीले हटाएको ‘वान वे’ कायम गरेर फर्किएका छन् । धेरै सडक जान हुने ठाउँमा ‘वान वे’ कायम गरेपछि स्थानीयबासीदेखि कतारका राजदूतले समेत आफूलाई धन्यवाद दिएको नगरप्रमुख महर्जनले रातोपाटीलाई जानकारी दिए । 

तर, स्थानीयले   सवारी चाप नहुँदा नहुँदै घुमेर आफ्नो घर जानुपर्ने गरी वान वे सिस्टम लागु गरेको भन्दै आईजीपी सिंहलाई नै गुनासो गरेको प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
महर्जनचाहिँ बखुन्डोलको ब्रिटिस स्कुल नजिकको सडक क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुने गरेकोमा ‘वान वे’ कायम गरेको र त्यसयता यातायात सञ्चालनमा सहज भएको दाबी गर्छन् । नख्खु पुलबाट चक्रपथतर्फ आउँदा दायाँतर्फ मोड्न नपाइने नियम बसालेपछि ट्राफिक जाम हटेको उनको जिकिर छ । उनले आईजिपी सिंहलाई फोनमा फेरि त्यो स्थानलाई नचलाउन भनेका छन् । साउनको पहिलो सातादेखि ललितपुर महानगरका सवारी जाम धेरै हुने स्थानमा ‘वान वे’ बनाउन थालिएको थियो ।  

के भएको हो घटना ? मेयर चिरिबाबुकै शब्दमा : 
महानगरभित्र पर्ने नख्खु जाने ओरालोमा हामीले ‘वान वे’ गरेको नयाँ हैन, यो नवौं स्थान हो । आज बिहान एक्कासी आईजीपीको आदेश भनेर  ‘वान वे’ गर्न हामीले राखेको साइनबोर्ड र अरु सामानहरु सबै प्रहरीले झिकेर लगिदिएछन् ।  एकान्तकुना नख्खु जाने बाटोको ‘वान वे’ गरेका थियौँ । यो निकै राम्रो भइरहेको थियो ।​

त्यो बिषयमा मंगलबार बिहान ट्राफिकको डीआईजीसाब मीरा चौधरीसँग कुरा भएको थियो । उहाँलाई मैले ‘वान वे’ राम्रो भइरहेको छ झिक्नुपर्ने कारण छैन भनेर बुझाएर पठाएको थिएँ । उहाँले एआईजी रवीन्द्र धानुक सरलाई खबर गर्नुभएछ । धानुक सरले पनि मसँग फोनमा कुरा गर्नुभयो । उहाँलाई पनि मैले यस्तो यस्तो हो ‘वान वे’ एकदम राम्रो भइरहेको छ भनेँ । सर्वसाधारणदेखि कतारको राजदूतले समेत राम्रो भएको छ भनेर धन्यवाद दिनुभएको छ । हामीले कुनै नराम्रो काम गरेका छैनौँ । उहाँहरुको एउटा भनाइ ट्राफिक प्रहरीसँग समन्वय गर्नु भन्ने थियो । हामीले ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन चिठी पठाएका थियौँ । 

डीआईजीसाबसँग बिहान छलफल भयो, त्यसपछि धानुक सरसँग छलफल भयो । धानुक सरले तपाईले आइजिपीसाब सँग कुरा गर्नुस् भन्नुभयो । हुन्छ म कुरा गर्छु भनेँ । बिहान एउटा कार्यक्रममा सहभागी भएर घरमा खाना खान गएँ । त्यहीबेला मलाई नेपाल प्रहरीले ‘वान वे’ गर्न राखेको सबै सामान झिकेर लग्यो भनेर फोन आयो । 

त्यसपछि अफिस आएर आईजीपी धिरज प्रताप सिंहसँग कुराकानी गर्न खोजेँ । तर उहाँले मेरो फोन रिसिभ गर्नुभएन । धेरै कल गरेँ उठाउनु भएन । मेसेज पठाएँ त्यसको पनि रिप्लाई गर्नुभएन । अर्को एउटा सुत्र लगाएर फोन गरेपछि उहाँले मलाई फोन गर्नुभयो र मैले भने–‘तपाईंहरुले यस्तो छापामार शैलीमा हाम्रो सामान किन उठाउनुभयो ? हामीले यो विधिसम्मत तरिकाले ‘वान वे’ राखेको हो । महानगरभित्र ट्राफिक व्यवस्थापन सुधार गर्नका लागि जे जे गर्न मिल्छ, जे जे गर्न सकिन्छ हामीले गरेका हौँ ।’ । उहाँको एउटै मात्र भनाइ उहाँको ट्राफिक अफिससँग छलफल भएन भन्नुभयो । मैले उहाँलाई यो पहिलो वा दोश्रो ‘वान वे’ हैन आठ नौ स्थानमा गरेको काम हो । त्यसका लागि हामीले एक हप्ता अघि नै प्रहरीलाई पत्र पठाएका थियौँ । तर पत्रको जवाफ केही नआएपछि मौन स्वीकृति हो भनेर हामीले काम गर्‍यौँ । हामीले धेरै ठाउँमा ट्राफिक ‘वान वे’ गर्नुपर्ने अवस्था छ त्यसबारे उहाँहरूसँग छलफल गरेर गरौँला । तर अहिले हामीले गरिसकेको यो काममा अन्यथा लिन भएन । राम्रो प्रगति भइरहेको छ भनेर मैले कुरा गरेँ तर उहाँले चाँही अलि बढी नै नकारात्मक कुरा गर्नुभयो । उहाँभन्दा पनि बढी मैले कराएँ । 

स्थानीय सरकारले गरेको कामलाई तपाईंले छापामार शैलीमा हटाउन पाइँदैन भनेँ । अहिले म आफै ती ठाउँहरुमा गएर ‘वान वे’ को साइनबोर्ड राख्न लगाएर नगर प्रहरीलाई स्टान्डबाई गराएर आउँछु कृपया तपाईले नचलाउनु होला भनेर मैले उहाँलाई भनेँ । ल ल तपाईको राज्य हो जे जे मन लाग्छ त्यही गर्नुस् भनेर फोन राखिदिनुभयो । कुरा यत्ति हो । 
त्यसपछि ललितपुरको बखुन्डोल र नख्खु जाने बाटोमा गएर ‘वान वे’को व्यवस्थापन गर्‍यौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप