आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

मङ्गलबार, १७ साउन २०७९, १७ : १७
मङ्गलबार, १७ साउन २०७९

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक पक्षमा भएको  छलफलमा सांसद डा भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताए । छलफलमा सांसदहरुले विधेयक चाँडो पारित गर्न र विधेयकलाई समृद्ध बनाउन दिएका सुझावप्रति उनले आभार प्रकट गरे ।

उद्योगमन्त्री बडूले  शपथको भाषा र व्यहोरा आदिबारे विधेयकले स्पष्ट व्यवस्था गरेकाले यसलाई छिटो पारित गर्ने प्रक्रियामा सहयोग गर्न अनुरोध गरे । राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश संसद्का सदस्य, प्रदेश प्रमुखलगायतले आफ्नो जिम्मेवारी सम्हाल्नुअघि संविधानअनुरुप पद तथा गोपनीयताको शपथ लिनुपर्ने विधेयकमा व्यवस्था छ ।

त्यसैगरी बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ मा विचार गरियोस्” भन्ने प्रस्ताव  पनि प्रस्तुत गरिएको छ । उद्योगमन्त्री बडूले प्रस्तुत गरेको उक्त प्रस्ताव उपर बैठकमा सैद्धान्तिक छलफल भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप