बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

४ हजार नमुना परीक्षण गर्दा ५ प्रतिशतमा अखाद्य वस्तु भेटियो

मङ्गलबार, १७ साउन २०७९, १६ : ३८
मङ्गलबार, १७ साउन २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ४ हजार १२७ वटा नमूना परीक्षण गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८÷७९ मा संकलन गरेको ४ हजार ६६० वटा नमुनामध्ये उक्त परीक्षण गरेको हो ।
परीक्षणबाट बजारमा उपलब्ध ५.४२ प्रतिशत खाद्यवस्तु स्वास्थ्यका लागि प्रतिकुल भएको पाइएको विभागले जनाएको छ । अर्थात ४ हजार १२७ वटा नमूना परीक्षण गर्दा २२४ वटा नमूना अखाद्य वस्तु भेटिएको विभागको भनाइ छ ।
गतवर्ष विभागले खाद्यान्न र दलहनजन्यका १३१४ वटा नमूना खानयोग्य वा अयोग्य रहेको परीक्षण गरेको थियो । यस्तै, तेल तथा घ्यूजन्यका ५४६ वटा, फल तथा सागपातजन्य पदार्थका ५१९ वटा, मसलाका ३७९ वटा, दाना पदार्थका ३०७ वटा र चिया कफिका २१३ वटा नमूना परीक्षण गरिएको विभागको भनाइ छ ।

यसका साथै, प्रशोधित पिउने पानीका १८९ वटा, गुलियो पदार्थका १४२ वटा, दुध तथा दुग्ध पदार्थका ११० वटा, कन्फेक्सनरीका १०२ वटा, नुनका ५३ वटा, मासु तथा मासुजन्यका २७ वटा र अन्य २२६ वटा नमूना परीक्षण गरिएको थियो ।​ परीक्षण गरिएकामध्ये फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना खान अयोग्य देखिएका थिए । यस्तै, खाद्यान्न र दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया कफिका १३ वटा नमूना स्वास्थ्यका लागि प्रतिकूल भेटिएको जनाइएको छ । 

यसका साथै, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ वटा र अन्य ११ वटा गरि जम्मा २२४ वटा अर्थात  ५.४२ नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएको विभागको भनाइ छ । यस अवधिमा खाद्य ऐन तथा नियम विपरित एवं न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा ११५ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो ।

दायर गरिएका मुद्दा मध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ३० वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चियार कफीका ८ वटा, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्यूजन्यको २ वटा, सोयाससको १ वटा, र अन्य ८ वटा गरि जम्मा ११५ वटा खाद्य पदार्थका रहेका थिए । आर्थिक वर्ष २०७८÷७९ मा विभाग तथा मातहतका कार्यालयबाट खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत १७०७ वटा नमुनाहरू संकलन गरिएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजूरी उपर तत्काल सम्बोधन टोलीमार्फत कारबाही लगायत जम्मा ८ हजार ८६६ पटक निरीक्षण अनुगमन गरिएको थियो । यस आर्थिक वर्षमा उत्पादन दर्ता र नवीकरण समेत १ हजार ६९० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप