शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिर खुद्रा तथा साना व्यापारीको कब्जामा

मङ्गलबार, १७ साउन २०७९, १६ : २३
मङ्गलबार, १७ साउन २०७९

 हिन्दुहरुको पवित्र स्थलको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल भइरहेको छ । त्यसका लागि केही वर्ष अघि जानकी मन्दिर परिसरमा लाग्ने बजारसमेत स्थानीयहरुकै पहलमा हटाइएको थियो । आन्तरिक तथा विभिन्न मुलुकबाट आउने हिन्दु धर्मावलम्बीलाई जानकी मन्दिर दर्शनका लागि असुविधा नभएको, चोरी तथा लुटपाट समेत हुने गरेको गुनासो बढ्न थालेपछि स्थानीयकै पहलमा मन्दिरभित्र लाग्ने बजार हटाइएको थियो ।

त्यस यता, मन्दिर परिसर वरिपरि बजार लाग्दै आएको थियो । गरिब, निमुखा तथा साना व्यापारीले यसैलाई गुजाराको माध्यम बनाउँदै आएका थिए । तर जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहको अगुवाईमा जानकी मन्दिरको वरिपरि फुटपाथ पसल हटाउने निर्णय गरेपछि फेरि मन्दिर परिसरभित्रै बजार लाग्न थालेको छ ।

करिब एक सातादेखि जानकी मन्दिर परिसरभित्र बजार लाग्न थालेको हो । उपमहानगरले फुटपाथमा सञ्चालित पसललाई विकल्प नदिई हटाउँदा समस्या उत्पन्न भएको फुटपाथ पसलेहरुको भनाइ छ । खुद्रा व्यापारीले थापेको पसल तथा पूजा सामग्री बेच्ने स–साना व्यापारीको भिडभाडले मन्दिर परिसर अस्तव्यस्त बनेको छ भने जानकी माताको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरुलाई झन् सास्ती बढेको छ ।

मन्दिर परिसरमै खुद्रा पसलहरु सञ्चालन हुन थालेकोमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव समेत मौन छन् । मन्दिर वरिपरि सडक पेटिमा लाग्ने बजारबाट महन्त रामतपेश्वर दासको निर्देशनमा बट्टी लिने गरेकाले मन्दिर परिसरमै बजार लगाउन थालेको एक खुद्रा व्यवसायीले नाम नबताउने सर्तमा बताए ।

उनले मन्दिरको नाममा आफूहरूसँग दैनिक एक सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म असुल्ने गरेको बताए । जानकी मन्दिर व्यवस्थापन समितिले मन्दिर वरिपरिका फूलमाला, मिठाई, सिन्दुर–टीका तथा तरकारी पसलबाट दैनिक ७० देखि १ सय रुपैयाँसम्म बट्टी उठाउँदै आएको र यसका लागि मन्दिरले दीप साह नामका एक ठेकेदारललाई नियुक्त गरेको व्यापारीहरु बताउँछन् ।

तर महन्त दासले भने मन्दिर परिसरभित्र बजार लगाउन आफूले नभनेको बताए । उनले खुद्रा व्यापारीहरुलाई मन्दिर वरिपरि नै विक्री वितरण गर्न भनेको स्पष्ट पारे । सडक पेटी र सडक जाम हुने गरी खुद्रा पसल थाप्ने ठेलावालदेखि ई–रिक्सासमेतले सडक नै छेकेर जाम गर्न थालेपछि स्थानीयवासी, स्थानीय प्रहरी, जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा फुटपाथ खाली गराइएको थियो ।

नगरप्रमुख साहले जनकपुरधाम उपमहानगरलाई सफासुग्घर बनाउन तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नगरभित्रका व्यस्त बजारको सडक पेटी खाली गराउन आवश्यक रहेकाले सबैको सहयोगमा अतिक्रमणमुक्त गरिएको बताए । तर मन्दिर परिसरभित्र लाग्ने गरेको खुद्रा पसललाई हटाउन भने उनले चासो दिएका छैनन् ।

यता धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले सडक जाम हुने गरी फुटपाथमा पसल राख्दा दुर्घटना जाम बढेको भन्दै सडकलाई अतिक्रमण मुक्त गराइएको बताए । उनले मन्दिर परिसरभित्र लाग्ने गरेको बजारलाई व्यवस्थित गर्न जनकपुरधाम उपमहानगरपालिका र मन्दिरसमेतले व्यवस्थापन गरेमा आफूहरु सहयोग गर्न अग्रसर रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप