बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतको कोलकाताबाट एक युवतीको उद्धार

मङ्गलबार, १७ साउन २०७९, १५ : ०९
मङ्गलबार, १७ साउन २०७९

मानव बेचविखनमा परेकी एक युवतीको उद्दार गरिएको छ । माइती नेपालले मकवानपुरकी १७ वर्षीया युवतीको भारतबाट उद्दार गरेको हो ।

काम लगाइदिने भन्दै दलालमार्फत दिल्लीमा बेचिएकी ती युवतीको कोलकाताको सोनागाछीबाट उद्दार गरिएको माइती नेपालका निर्देशक विनोद खड्काले जानकारी दिए । कोलकाताको सोनागाछी प्रहरीको सहयोगमा उनको उद्दार गरिएको निर्देशक खड्काले बताए । उद्दार गरिएकी ती युवतीलाई नेपाल ल्याउन केही दिन समय लाग्ने उनको भनाइ छ । ‘आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याउन कम्तिमा २ हप्ता लाग्छ । अहिले माइती नेपालको टीमले आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्’ निर्देशक खड्काले भने । केही महिना अगाडि दिल्लीमा काम लगाइदिने भनेर दलालले दिदी बहिनीलाई लगेका थिए । तर, उनीहरूलाई दलालले काम लगाउनको साटो दिल्लीको कोठीमा बेचिदिएको खुलेको छ। 

पाँच महिना दिल्लीको कोठीमा राखिएको थियो । जहाँ उनीहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइयो । त्यहाँबाट दुवै जनालाई आशामको सिल्चरमा सिफ्ट गरिएको थियो । चार महिनाजति त्यहाँ राखेपछि उनीहरूलाई अर्को ठाउँ पश्चिम बंगालको कोच बिहारमा सारिएको खुलेको छ । कोच विहारबाट बहिनी भने भाग्न सफल भइन् । एक जना पोखराकी साथीसँगै उनी भाग्न सफल भएकी थिइन् । दिदीलाई पनि भाग्न भनिन् तर, उनले आनाकानी गरिन् । त्यसपछि बहिनी साथीसँगै भागिन् । बहिनी केही समय अगाडि नै नेपाल आउन सफल भएकी थिइन् । 

एउटा मिटिङका लागि कोलकत्ता पुगेका निर्देशक खड्काले त्यो क्षेत्रमा अनुसन्धान गर्ने योजना बनाए । दिल्लीबाट टोली बोलाएर ती युवतीबारे अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा माइती नेपालका प्रतिनिधि ग्राहक बनेर उनीसम्म पुगे । ‘त्यो बहिनीलाई खोज्दै जाँदा सबैभन्दा माथिल्लो तलामा राखिएको थियो । फोन पनि दिइएको थिएन । कुरा गर्दै जाँदा इच्छा विपरित राखिएको भनेपछि हामी उद्दारका लागि पहल गर्नतिर लाग्यौं’ उनले भने । 

उनले विस्तारै आफ्नो घर परिवारको बारेमा भन्न थालिन् । माइती नेपालले उनको उद्दारका लागि आवश्यक पर्ने सम्पुर्ण कागजात नेपालबाट झिकाए । त्यसपछि आवश्यक कागजात देखाएर उद्दारका लागि प्रहरीसँग भनियो । तर, प्रहरी आनाकानी गर्न थाल्यो । युवतीको आमा बोलेको भिडियो नै देखाएपछि प्रहरी कन्भिन्स भयो र प्रहरीसँगै युवती पनि कन्भिन्स भइन् । ‘३÷४ ठाउँमा हण्डर खाइसकेकाले यो मान्छेहरू अब कता लैजान खोजेका हुन भन्ने डरमा उनमा थियो । आमाले बोलेको भिडियो देखाएपछि उनी बल्ल तयार भइन् ।’ खड्काले भने । 

त्यसपछि प्रहरीको सहयोगमा उनको उद्दार गर्न सफल भएको निर्देशक खड्काको भनाइ छ । त्यो क्षेत्रमा अझै थुप्रै नेपाली युवतीहरू यौन व्यवसायमा लगाइएको भन्दै विस्तारै सबैको उद्दार गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप