सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बैंकहरुले मनलाग्दी ब्याजदर अफर गरेपछि राष्ट्र बैंकले आफै राख्यो ट्रेजरी बिल

मङ्गलबार, १७ साउन २०७९, १४ : ४६
मङ्गलबार, १७ साउन २०७९

नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरूले मनलाग्दी ब्याजदर अफर गरेपछि राष्ट्र बैंकले आफैले बिलको खरिद गरेको छ । राष्ट्र बैंकले पछिल्लो पटक साउन १७ गते बिक्री गर्न लागेको ९१ दिने र १८२ दिने गरी कुल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी मध्ये ९ अर्ब ६० करोड आफैले खरिद गरेको हो । 

बाँकी ५० करोड रुपैयाँ भने अघिल्लो पटकको ट्रेजरीमा नवीकरण गरिदिएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि कुल ५ अर्ब १० करोडको ट्रेजरी आह्वान गरिएकोमा २७ वटा बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब ३ करोड रुपैयाँ बराबरको बोलकबोल प्रस्ताव गरेको तर राष्ट्र बैंकले अघिल्लो पटकको १२ करोड रुपैयाँ ट्रेजरी बिल मात्र नवीकरण गरेर बाँकी ४ अर्ब ९० करोड आफैले राखेको जनाएको छ । 

यस्तै, १८२ दिने ट्रेजरी बिलका लागि १८ वटा बैंक तथा वित्तीय संस्थाहरूले ६ अर्ब ३१ करोड रुपैयाँका लागि बोलकबोल प्रस्ताव गरेको तर बैंकले सोमा समेत १० करोड रुपैयाँ मात्र नवीकरण गरेर बाँकी रहेको ४ अर्ब ९० करोड रुपैयाँ आफैले राखेको जनाएको छ । १८२ दिने ट्रेजरीका लागि बैंकले ५ अर्ब रुपैयाँ अफर गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो पटक साउन १० गते १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले बैंकहरुले मनलाग्दी तरिकाले १४ प्रतिशतसम्म ब्याजदर मागेपछि यसपटक आफैले राखेको हो । ९१ दिने र १८२ दिने दुई थरीको ट्रेजरी बिल बिक्री गरेको बैंकले क्रमशः १२.००३३ प्रतिशत र १०.९९८८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । यद्यपि, यसपटक बैंकहरुले अघिल्लो पटकको तुलनामा केही कम ब्याजदर अफर गरे पनि राष्ट्र बैंकले आफैले ट्रेजरी बिल खरिद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप