आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उत्तर प्रदेशमा बनेको २९६ किमी लामो बुन्देलखण्ड एक्सप्रेसको केही भाग उद्घाटनको केही दिनमै भत्कियो

मङ्गलबार, १७ साउन २०७९, १२ : १५
मङ्गलबार, १७ साउन २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकै प्रचार गरेर उद्घाटन गरेका बुन्देलखण्ड एक्सप्रेसवे अहिले पुन: चर्चामा छ । जुलाई १६ मा मोदीले उद्घाटन गरेका एक्सप्रेसवे उद्घाटनको पाँच दिनपछि नै वर्षाबाट भत्कियो । 
उत्तर प्रदेशका सात जिल्लाहरू – चित्रकूट, बान्दा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावाबाट जाने यो एक्सप्रेसवे उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण (यूपीडा) ले निर्माण गरेको हो । 

तर उद्घाटनको केही दिनमै वर्षाले केही भाग बगाएपछि झण्डै १५ हजार करोड भारुमा बनेको यो २९६ किलोमिटर लामो एक्सप्रेसवेको गुणस्तरमा प्रश्न उठ्न थालेको छ । ‘सडक बग्दा त्यति धेरै पानी परेको थिएन । खेतहरू सुक्खा छन् तर एक घण्टाको पानीमा एक्सप्रेसवेको एक भाग बग्यो । सरकारले हतारमा उद्घाटन गर्ने गल्ती गर्दाको परिणाम हो यो,’ जालौन जिल्ला नजिक बीबीसी संवादातासँग भेट भएका आफूलाई समाजिक कार्यकर्ता बताउने भगवान दास अहिरवारले भने । 

वर्षाका कारण  द्रुतमार्गमा केही भागमा पिच भत्कनुको अतिरिक्त केही पुलसमेत भत्किएका छन् । बीबीसी हिन्दीका रिपोर्टरले स्थलगत अवलोकन गर्दा कतिपय स्थानमा द्रुतमार्गको एउटा लेन मात्रै सञ्चालनमा रहेको र अर्को लेन निर्माण भइरहेको पायो । जबकि सरकारले यस परियोजना पूर्णरुपमा पुरा भएको बताएको छ ।

कुदरैलमा टोल प्लाजा निर्माणको काम धमाधम भइरहेको छ र त्यस भेगमा दोस्रो लेन बनिरहेकाले यातायात केही दूरीका लागि एक लेनमा सिमित गरिएको छ । यहाँ पुल पनि पुरा भएका छैनन् । 

विपक्ष दलको विरोध 
निर्माणको केही दिनमै द्रुतमार्गके केही भागमा समस्या देखिएपछि विपक्षी दलहरुले परियोजनामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । उत्तर प्रदेशका प्रभावशाली दलहरु समाजवादी पार्टी र कांग्रेसले यसबारे छानबिन गर्न माग गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्वीट गर्दै भनेका छन्,‘ यो भाजपाको तथाकथित नवीनतम विकासको पछिल्लो भग्नावशेष हो ! बुन्देलखण्ड एक्सप्रेसवेमा जुन दरार आएको त्यो वास्तवमा भाजपाको भ्रष्टाचार हो । जनतालाई घृणाको राजनीतिमा फ्याँकेर विकासको नाममा पीठोमा समेत भ्रष्टाचार भईरहेको छ । के यस्तै विकास हुन्छ ? ’ भारतीय राष्ट्रिय कांग्रेसको उत्तर प्रदेश इकाईले एक्सप्रेसवेमा खाल्डाखुल्डी र उद्घाटनमा भएको हतारमा प्रश्न उठाएको छ ।

कांग्रेसको उत्तर प्रदेश विभागले एक ट्वीटमा भनेको छ ,‘ भ्रष्टाचारको मोडेल नै हो, बुन्देलखण्ड एक्सप्रेसवे ! उद्घाटनको ४ दिन मै डिभाइडरमा चिरा परेको छ, ठाउँ–ठाउँमा सडकको पिच उप्किएको छ । कांग्रेस प्रतिनिधि मण्डलले आफ्नो अनुसन्धानमा गुणस्तरहिन सामाग्रीले बनाइएको बुन्देलखण्ड द्रुतमार्गले भविष्यमा ठूला दुर्घटना निम्त्याउन सक्ने देखाएको छ ।’
विपक्षी मात्र होइन केही भाजपाका नेताले समेत सडकको गुणस्तरमा प्रश्न उठाएका छन् । 

उत्तर प्रदेशको पिलीभीतका भाजपा सांसद वरुण गान्धीले ट्वीट गर्दै भनेका छन् ,‘ यदि १५ हजार करोड (भारु)मा बनेको एक्सप्रेसवेले ५ दिनपछि आउने वर्षा पनि सहन सक्दैन भने यसको गुणस्तरमा गम्भीर प्रश्न खडा हुन्छ । यस आयोजनाका प्रमुख, सम्बन्धित इन्जिनियर र जिम्मेवार कम्पनीलाई तत्काल बोलाएर कडा कारबाही गर्नुपर्छ ।’

सडक सुरक्षामा बेवास्ता
द्रुतमार्गको धेरै ठाउँमा सडक सुरक्षाका संयन्त्रको काम काम पूरा भएको छैन । धेरै ठाँउमा ट्राफिक वत्ती, रंगरोगन भएका छैनन् । यी सबै सुविधा छिट्टै उपलब्ध गराउने प्रदेश सरकारले जनाएको छ ।
द्रुतमार्गमा पशुपन्छी आउन नदिन पहिलो दिनदेखि नै कडा व्यवस्था गरिएको सरकारको दाबी गरे पनि बीबीसी संवादाताले स्थलगत भ्रमणमा एक्सप्रेसवेको ठाँउ ठाँउमा गाईको र आवारा कुकुरहरू बसिरहेको भेट्यो ।
द्रुतमार्गको अपूर्णता र विभिन्न समस्याबारे सोध्दा यूपीडाका मिडिया सल्लाहकार दुर्गेश उपाध्यायले बीबीसी सबै आरोप गलत भएको बताए । 

‘निर्माण कार्य पूर्ण रुपमा सकिएको छ । कतिपय ठाउँमा थोरै काम बाँकी रहेकाले पूरा हुँदैछ । खाल्डाखुल्डी भएको भनिएको जलौन जिल्लाको हिस्सामा सकडमा पानी जम्दा सडक अलिकति पुरिएको थियो । यो समस्या समाधान भईसेकेको छ ,’ उपाध्यायले भने  

सडक सुरक्षासम्बन्धी सुविधाका कम छिट्टै सम्पन्न हुने उनको भनाइ छ । त्यसका लागि निरन्तर प्रक्रिया चलिरहेको छ । यो काम पनि तोकिएको समयावधिभित्र सम्पन्न हुनेछ । त्यसैगरी द्रुतमार्गमा छाडा गाईवस्तु र कुकुरको बारेमा सोध्दा उपाध्याले ‘द्रुतमार्गलाई सुरक्षित बनाउन र दुर्घटना हुन नदिन पहिलो दिनदेखि नै पशु क्याचर राखेको’ बताए ।

तर उपाध्यायले भनेजस्तो देखिएन । समय अगावै द्रुतमार्गको काम सम्पन्न गरी जनतालाई हस्तान्तरण गर्ने हतारोमा केही काम अपुरो भएको देखिन्छ । खासमा सरकराले तीन वर्ष(३६ महिना)मा आयोजना गर्ने भनेकोमा २८ महिनामा तयार पारेर दिएको थियो । 
बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप