शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रावणमा शिवको महिमा

मङ्गलबार, १७ साउन २०७९, १२ : ०३
मङ्गलबार, १७ साउन २०७९

श्रावण महिना लागेसँगै अहिले बजारमा हरियो चुरा, पोते, पहेँलो वस्त्र र मेहेन्दीको रौनक देखिन थालेको छ । यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पनि विशेष रूपमा लिइन्छ । सनातन वैदिक धर्ममा श्रावणलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्नाले धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।

शिव

‘शिव’ संस्कृत भाषा शब्दबाट आएको शब्द हो । यसको अर्थ कल्याणकारी वा शुभकारी हुन्छ । ‘शि’ को अर्थ पापको नाश गर्ने र ‘व’को अर्थ दिनेवाला अर्थात् दाता भन्ने हुन्छ । तसर्थ भगवान् शिवलाई पापको नाश गरी सबैको कल्याण गर्ने दाताको रूपमा लिइन्छ । त्यस्तै उनलाई अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत, ब्रह्माण्डका स्वामी, निरञ्जन, निराकार करुणामूर्ति, त्रिदेवका एक देव, संहार, प्रलय, कल्याणका देव, नन्दी, भृङ्गी, रिटी, टण्डी, भूत, पिशाचका अधिपति तथा असुर, दानव, राक्षस गन्धर्व, यक्ष सबैका आरध्यदेव मानिन्छ । भगवान् शिवलाई महादेव, शङ्कर, भोलेनाथ, कालभैरव महाकाल, महेश, रुद्र, विश्वनाथ, चन्द्रशेखर, भूतनाथ आदि १०८ भन्दा बढी नामले चिनिन्छ । शनि, कश्यप ऋषि, रावण आदि उनका अति नै ठूला भक्त थिए भन्ने कथन पाइन्छ । शिव पुराणका अनुसार सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । भगवान् शिव सौम्य आकृति एवं रौद्ररूप दुवैका लागि विख्यात छन् । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसँग चाडै प्रसन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

श्रावण महिना र शिव
शिव पुराणअनुसार श्रावण महिना भगवान् शिवको अत्यन्त प्रिय महिना हो । यो महिना पूर्णिमामा श्रवण नक्षत्र हुनाले तथा यो महिनाको महिमा श्रवण गर्न अति योग्य र श्रवण गरेमा मात्र पनि सिद्धि प्राप्त हुनाले यसलाई श्रावण भनिएको हो । भगवान् शिव स्वयंले सनतकुमारलाई श्रावण महिनाको महिमा वर्णन गर्दै उनका तीन नेत्रमा सूर्य दाहिने, चन्द्रमा देब्रे र मध्य नेत्र अग्नि रहेको कथा पुराणहरूमा रहेको छ । शिव पुराणअनुसार श्रावण मासमा शिवजीको पुजा–आरधना तथा व्रत बसेमा हरेक प्रकारको शुभफल तथा मोक्ष प्राप्त हुन्छ ।

अकाल मृत्युको दोषलाई हटाई सधैँ स्वस्थ, दीर्घायु प्राप्त गर्न तथा सबै बाधा–व्यवधानहरू हटाउन सकिन्छ । पुराणका अनुसार मृकण्डु ऋषिका पुत्र मार्कण्डेय ऋषिको आयु अत्यन्त कम थियो । मृकण्डु ऋषिले उनका पुत्र मार्कण्डेय ऋषिलाई अकाल मृत्युको दोष हटाई लामो आयु प्राप्त गर्न शिवजीको विशेष पूजा आरधना तथा तपस्या गर्न सल्लाह दिन्छन् । आफ्ना पिताको सल्लाहबमोजिम मार्कण्डेय ऋषि श्रावण मासमा घरबाट टाढा जङ्गलमा गए । त्यहाँ शिवलिङ्ग स्थापना गरेर विधिपूर्वक पूजा आरधना तथा निराहार कठिन तपस्या गर्न थाले । मार्कण्डेय ऋषिको आस्था र भक्ति देखेर प्रसन्न भई भगवान् शङ्करले उनलाई धेरै कल्पसम्म बाँच्ने वरदान दिए । अमरत्वको वरदान पाएपछि महर्षि आफ्ना मातापिताको आश्रममा फर्किए र केही दिन उनीहरूसँग बसेर पृथ्वीमा विचरण गर्न थाले र भगवान्को महिमा मानिसहरूमा फैलाउन थाले । पछि यिनै ऋषि बालक शास्त्रको महान् ज्ञानी बने र श्री मार्कण्डेय पुराणको रचना गरे ।

समुद्र मन्थन
पौराणिक कथाअनुसार अमृत प्राप्त गर्नका लागि श्रावण मासमा देवता र दानवहरू मिलेर समुद्र मन्थन गरेका थिए । समुद्र मन्थन गर्दा सर्वप्रथम कालकूट विष प्रकट भयो । कालकूट विष प्रकट हुनेबित्तिकै पृथ्वीमा ठूलो प्रलय आई सारा वातावरण दूषित बनी सम्पूर्ण प्राणीहरू त्राही–त्राही भई मर्न लागे । त्यो विष कति ज्यादा खतरनाक थियो भने त्यसले पृथ्वीका सम्पूर्ण जीवन नै समाप्त पार्न लाग्यो । त्यो देखेर भगवान् शिवले कालकूट विषलाई आफ्नो कण्ठमा ग्रहण गरे । अनि उनको कण्ठ नीलो भई शरीर रातो, तातो एवं अत्यधिक गर्मी पैदा भई अधैर्य हुन लाग्यो । त्यो देखेर अरू देवताहरूले उनको शरीर शान्त बनाउन जलले अभिषेक गर्न थाले । जसको कारण भगवान शिव शान्त र ज्यादै प्रशन्न भए । त्यसकारण पनि शिवलिङ्गमा जल अभिषेक गर्दा उनी ज्यादै प्रशन्न भई चिताएको पूरा गरी दिन्छन् भन्ने मान्यता छ ।

विष्णु र श्रावण
एक अर्को पौराणिक कथाअनुसार भगवान् विष्णु श्रावण महिनामा योग तन्द्रामा जान्छन् । तत्पश्चात सृष्टि सञ्चालन गर्न भगवान् शिवले सम्पूर्ण उत्तरदायित्व आफैँले वहन गर्छन् । त्यसकारण यो महिना भगवान् शिवको पूजाआराधना गरे उनी प्रफुल्लित भई सम्पूर्ण फल प्राप्त गर्न सकिन्छ । यस महिनालाई शिवको मास पनि भन्ने गरिन्छ ।

देवी पार्वती र श्रावण
हिमालयकी पुत्री देवी पार्वतीले श्रावण महिनामा निराहार, कठिन उपासना र घोर तपस्या गरेर भगवान् शिवलाई प्रसन्न बनाई स्वामीको रूपमा प्राप्त गरी शुभविवाह सु–सम्पन्न भएको थियो । शिव श्रावण महिनामै पृथ्वीमा अवस्थित आफ्नो ससुराली प्रस्थान गरेका थिए । त्यसैले हरेक वर्ष श्रावण महिनामा आशुतोष भगवान् शिव आफ्नो ससुराली आउँछन् भन्ने विश्वास रहँदै आएको छ ।

श्रावण महिनाको फल
श्रावण महिनामा भगवान् शिवको पूजा–आराधना तथा शिवलिङ्गको अभिषेक महाफलदायी मानिन्छ । जसको कारण चिर स्थायु तथा मनोरथ प्राप्त हुने, बाधा व्यवधान हटेर जाने, योग्य सन्तान प्राप्त हुने, धनधान्य लक्ष्मीको वास हुने, उन्नति प्रगति, विद्याबुद्धि, रोजगारी प्राप्त हुने, मनले इच्छाएको वर वा कन्या प्राप्त हुने तथा गृहस्थी जीवनमा सुख, शान्ति एवं समृद्धि प्राप्त हुने गर्दछ । यो महिनाको विशेष सोमबार शिवालयमा गई बेलपत्र, दूध, जल, दही, उखुको रस, मह आदिले शिवलिङ्गको अभिषेक गर्ने गरिन्छ ।

काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, रसुवाको गोसाईंकुण्ड, नुवाकोटको दुप्चेश्वर, खोटाङको हलेसी, महोत्तरीको जलेश्वर, सुनसरीको बराहक्षेत्र, पिण्डेश्वरी, झापाको अर्जुनधारा, तेह्रथुमको पातालेश्वर लगायत देशैभरिका शिवालयमा श्रावण महिनाभरी श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । नेपाल तथा भारतका विभिन्न तीर्थालयहरूमा यो महिनाभरि नै बोलबम जाने परम्परा रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप