के रुसले युक्रेनका ‘खाद्यान्न टाईकुन’ भाडातुर्स्कीलाई योजनाबद्ध मारेको हो ?
ओलेस्की भाडातुर्स्की युक्रेनीहरुमाझ देशलाई प्रमुख गहुँ निर्यातक बनाउने ‘खाद्यान्न टाईकुन’ का रुपमा परिचित थिए । उनै भाडातुर्स्कीको आईतबार मृत्यु भयो । मिकोलाईभस्थित भाडातुर्स्कीको घरमा एक रुसी मिसाइल खस्दा ओलस्की र उनी श्रीमती रेईसा दुवैको ज्यान गएको छ ।
आक्रमणको प्रकृति हेरेर युक्रेनी राजनीतिज्ञ तथा विज्ञहरुले भाडातुर्स्कीलाई रुसले योजनाबद्ध रुपमा मारेको आशंका गरेका छन् । रुसले युक्रेनी खाद्यान्न निर्यातलाई रोक्न वा बिलम्ब गराउने बाहना खोजिरहेको र यसै उदेश्यले भाडातुर्स्की को हत्या भएको युक्रेनीहरु बताइरहेका छन् ।
ओलिगार्क भनिने युक्रेनका अधिकांश धनाढ्यहरु सोभियत संघको अन्त्यपछि निजीकरणमा गएका ठूला उद्योगलाई हत्याएर धनी भएका हुन् । ठूलो उद्योग हात पार्न तिनले आफ्नो राजनीतिक प्रभावलाई उपयोग गरेका थिए । उनीहरु आम युक्रेनीहरुमाझ अत्यन्त अलोकप्रिय छन् । तर भाडातुर्स्की भने आफ्नै मेहनतले उठेको धनाढ्यको रुपमा सम्मानित थिए ।
‘उनले सोभियतकालिन औद्योगिक विरासतलाई दोहन गरेनन् । र आफ्नै मेहनतले खेतीको साम्राज्य निर्माण गरे र यस क्रममा युक्रेनलाई अन्न निर्यातको पावरहाउस बनाए,’ कियभस्थित राजनीतिक विश्लेषक भदिम कारासेभले भने ।
योजनावद्ध हत्या ?
फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पनि भाडातुर्स्कीले देश छाडेर गएनन् । पूर्वी र दक्षिणी भेगमा रुसले उनका कैयौं घरजग्गा कब्जामा लिँदा पनि उनले हार खाएको देखिँदैनथ्यो । रुसी आक्रमणपछि रोकिएको युक्रेनी खाद्यान्न निर्यात सुचारु गर्न उनी दिनरात लागिरहेका थिए । र खाद्यान्न निर्यात सुचारु हुने एक दिन अघि उनी मारिएका छन् ।
एक रुसी मिसाइल उनको आलिसान भवनको बेडरुममा खसेको थियो । र युक्रेनका राजनीतिज्ञले भाडातुर्स्कीको हत्या दुर्घटना मान्न अस्वीकार गरेका छन् । ‘मिसाइल भाडातुर्स्कीको घरमा मात्र नभएर उनी सुत्ने गरेको स्थानमै प्रहार हुनुले आक्रमण योजनाबद्ध भएकोमा कुनै शंका हुदैन,’ युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सहयोगी मिखाईलो पादोलीयाकले टेलिग्राममा लेखेका छन् ।
‘भाडातुर्स्कीको निधनले उनको व्यवसाय रोकिने छैन तर निर्णय प्रक्रिया यथावत स्थानमा आइपुग्न समय लाग्छ । युक्रेनी खाद्यान्न निर्यातमा हुने ढिलाईले रुसलाई फाइदा हुन्छ ,’ कियभस्थित राजनीतिक विश्लेषक इगार टीस्केभिचले भने ।
अल–जजिराबाट