चुनावपछि प्रधानमन्त्री पदमा प्रचण्डको दाबी
‘तपाईंहरूले आशीर्वाद दिने हो भने अर्को पटक मैले देशको नेतृत्व गर्ने मौका पाए, देशमा देखा परेका तमाम विसङ्गतिमाथि प्रहार गर्दै देशलाई अगाडि लैजानुपर्छ भन्ने मेरो मनभित्र छ । किनकि मेरो नेतृत्वमा परिवर्तन ल्याउन धेरैको बलिदान भएको छ ।’
यो भनाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । गत असार १० गते नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरे । पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै बितेको बताउँदै प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा निक्कै सुधारका काम गरेको दाबी गरे ।
गत शनिवार माओवादी केन्द्रको प्रदेश समन्वय समितिको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले अन्तिम पटक सरकारको नेतृत्व गर्ने इच्छा दोहोर्याए । ‘हामी दोस्रो हुने गरी तालमेल भएमा देशको बागडोर हाम्रै हातमा आउँछ । हामीले एक चोटि देशलाई यसरी विकास यसरी सुशासन यसरी समृद्धि भनेर देखाउनु छ,’ प्रचण्डले भनेका थिए, ‘मलाई नै भन्नुहुन्छ भने मेरो लास्ट इनिङ्स होस् । यो लास्ट इनिङ्स पछिसम्मको सन्ततीलाई सम्झिने गरी देशलाई केही चिज दिने सपना राखी राखेको छु । यसका लागि वातावरण बनाउन अपिल गर्दछु ।’ आगामी मङ्सिरमा हुने प्रदेश र संघीय चुनावपछि प्रचण्डले प्रधानमन्त्री हुने इच्छा औपचारिक तथा अनौपचारिक कार्यक्रममा व्यक्त गर्न थालेका छन् । यद्यपि सरकारले निर्वाचनको समिति भने घोषणा गरेको छैन ।
काँग्रेस सहितको पाँच दलीय गठबन्धन कायम हुने भएपछि आगामी प्रदेश र संघको चुनाव लगतै प्रचण्ड प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्न थालेका हुन् । उता काँग्रेसले भने गठबन्धनबाट एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने निर्णय गरी सकेको छ । पाँच दलीय गठबन्धनबाट काँग्रेसले बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने सपना देखेको छ । काँग्रेस एकल रूपमा प्रतिस्पर्धा गर्दा बहुमत नआउने देखेपछि माओवादी र एकीकृत समाजवादी लगायत दलको ढाँडमा टेकेर सरकारको बागडोर सम्हाल्ने रणनीतिमा जुटेको छ । त्यति बेला काँग्रेसले गठबन्धनबाट बहुमत ल्याएमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्छन् वा अरू कसैले गर्छन्, त्यो संसदीय दलको निर्वाचनले फैसला गर्ने छ ।
प्रचण्ड पनि काँग्रेससँग गठबन्धन गरेर दोस्रो दल बनाएर प्रधानमन्त्री भई सरकारको नेतृत्व गर्ने सपना देखेका छन् । उनले माओवादी दोस्रो दल बनाउने गरी काँग्रेसका नेताहरूसँग एक खालको समझदारी समेत बनाएको बताए । अहिले माओवादी त्यसै तेस्रो दल भएकाले गठबन्धनबाट दोस्रो हुनुपर्ने प्रचण्डको जिकिर गरे ।
गठबन्धनमा सहभागी काँग्रेस र माओवादीको आ–आफ्नै रणनीति भएकाले चुनावपछि ५ वर्षे प्रधानमन्त्रीको कार्यकालका कसरी समझदारी बन्छ भन्नेमा स्पष्ट भइसकेको छैन । प्रचण्ड भने अब काँग्रेसलाई एकलौटी छोड्ने पक्षमा छैनन् । पार्टीका औपचारिक अनौपचारिक कार्यक्रममा प्रचण्डले खुलेरै आधा कार्यकाल आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग राख्न थालेका छन् ।
प्रचण्डको अभिव्यक्तिका विषयमा काँग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रचण्डले चुनावपछि सरकारको नेतृत्व गर्ने इच्छा व्यक्त गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘प्रचण्डजीले प्रधानमन्त्री हुन चाहन्छु भन्ने कुरालाई अन्यथा ठान्नुभएन । कहिले कसरी हुने पछिको कुरा भयो । आगामी चुनावबाट जितेर आउनुपर्‍यो । त्यसपछि टुङ्गो लाग्छ,’ महतले भने, ‘गठबन्धनमा समझदारी गर्नुपर्यो । त्यसपछि परिणाम ल्याउनु पर्यो । त्यसपछि कसले कुन पद लिने भन्ने निर्धारण हुनेछ ।’ प्रचण्डले म प्रधानमन्त्री हुन्छु भन्दैमा काँग्रेसले ‘पाउनुहुन्न’ भन्न नमिल्ने महतको भनाई छ ।
यता माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले गठबन्धनमा समझदारी बनाएर गएमा सत्ता साझेदारी बराबर हुनुपर्ने जिकिर गरे ।
‘एउटै पार्टीलाई सर्वेसर्वा बनाउने गरी गठबन्धन हुँदैन । गठबन्धनमा सत्ता साझेदारीको विषयलाई ध्यान दिएर समझदारी बनाउनुपर्छ । संयुक्त सरकार बनाउँदा आलोपालो मान्यता हुन्छ । न्यूनतम साझा नीति तथा कार्यक्रमहरू हुन्छन्,’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘विगतमा हामीले सरकार सञ्चालनमा आलोपालो कार्यान्वयन गरेर देखाएकै छौँ । अहिले पनि एक अर्कोका लागि आवश्यक समझदारी बनाएर जानुपर्छ ।’ चुनावको मिति घोषणा भएपछि गठबन्धन अन्तिम निष्कर्षमा पुग्नुपर्ने पोखरेलको भनाइ छ । प्रदेश र संघको चुनाव अघि सत्ता सञ्चालनका विषयमा साझेदारी गरे त्यसले चुनावपछि मूर्तरुप पाउने विश्वास व्यक्त गरे ।
चितवन क्षेत्र नम्बर तीन काँग्रेस र एमालेको प्रभाव क्षेत्र हो । माओवादी त्यहाँ तेस्रो ठुलो शक्ति हो । २०७४ सालको चुनावमा प्रचण्ड एमालेसँग वाम तालमेल गरेर निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा काँग्रेस र राप्रपा गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । प्रचण्ड र पाण्डेको मत अन्तर ९ हजार ३४१ थियो । आगामी चुनावमा प्रचण्डको पुनः पाण्डेसँगै चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । प्रचण्ड काँग्रेससहितको पाँच दलीय तालमेलबाट मैदानमा उत्रिने छन् भने पाण्डे एमालेको समर्थनमा जाने सम्भावना छ । पछिल्लो समय प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारले समेत आँखा गाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै