शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावपछि प्रधानमन्त्री पदमा प्रचण्डको दाबी

काँग्रेसले देला साथ ?
मङ्गलबार, १७ साउन २०७९, १० : ३७
मङ्गलबार, १७ साउन २०७९

‘तपाईंहरूले आशीर्वाद दिने हो भने अर्को पटक मैले देशको नेतृत्व गर्ने मौका पाए, देशमा देखा परेका तमाम विसङ्गतिमाथि प्रहार गर्दै देशलाई अगाडि लैजानुपर्छ भन्ने मेरो मनभित्र छ । किनकि मेरो नेतृत्वमा परिवर्तन ल्याउन धेरैको बलिदान भएको छ ।’ 

यो भनाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । गत असार १० गते नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरे । पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै बितेको बताउँदै प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा निक्कै सुधारका काम गरेको दाबी गरे ।

गत शनिवार माओवादी केन्द्रको प्रदेश समन्वय समितिको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले अन्तिम पटक सरकारको नेतृत्व गर्ने इच्छा दोहोर्‍याए । ‘हामी दोस्रो हुने गरी तालमेल भएमा देशको बागडोर हाम्रै हातमा आउँछ । हामीले एक चोटि देशलाई यसरी विकास यसरी सुशासन यसरी समृद्धि भनेर देखाउनु छ,’ प्रचण्डले भनेका थिए, ‘मलाई नै भन्नुहुन्छ भने मेरो लास्ट इनिङ्स होस् । यो लास्ट इनिङ्स पछिसम्मको सन्ततीलाई सम्झिने गरी देशलाई केही चिज दिने सपना राखी राखेको छु । यसका लागि वातावरण बनाउन अपिल गर्दछु ।’ आगामी मङ्सिरमा हुने प्रदेश र संघीय चुनावपछि प्रचण्डले प्रधानमन्त्री हुने इच्छा औपचारिक तथा अनौपचारिक कार्यक्रममा व्यक्त गर्न थालेका छन् । यद्यपि सरकारले निर्वाचनको समिति भने घोषणा गरेको छैन ।

काँग्रेस सहितको पाँच दलीय गठबन्धन कायम हुने भएपछि आगामी प्रदेश र संघको चुनाव लगतै प्रचण्ड प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्न थालेका हुन् । उता काँग्रेसले भने गठबन्धनबाट एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने निर्णय गरी सकेको छ । पाँच दलीय गठबन्धनबाट काँग्रेसले बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने सपना देखेको छ । काँग्रेस एकल रूपमा प्रतिस्पर्धा गर्दा बहुमत नआउने देखेपछि माओवादी र एकीकृत समाजवादी लगायत दलको ढाँडमा टेकेर सरकारको बागडोर सम्हाल्ने रणनीतिमा जुटेको छ । त्यति बेला काँग्रेसले गठबन्धनबाट बहुमत ल्याएमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्छन् वा अरू कसैले गर्छन्, त्यो संसदीय दलको निर्वाचनले फैसला गर्ने छ ।​

​प्रचण्ड पनि काँग्रेससँग गठबन्धन गरेर दोस्रो दल बनाएर प्रधानमन्त्री भई सरकारको नेतृत्व गर्ने सपना देखेका छन् । उनले माओवादी दोस्रो दल बनाउने गरी काँग्रेसका नेताहरूसँग एक खालको समझदारी समेत बनाएको बताए । अहिले माओवादी त्यसै तेस्रो दल भएकाले गठबन्धनबाट दोस्रो हुनुपर्ने प्रचण्डको जिकिर गरे । 

गठबन्धनमा सहभागी काँग्रेस र माओवादीको आ–आफ्नै रणनीति भएकाले चुनावपछि  ५ वर्षे प्रधानमन्त्रीको कार्यकालका कसरी समझदारी बन्छ भन्नेमा स्पष्ट भइसकेको छैन । प्रचण्ड भने अब काँग्रेसलाई एकलौटी छोड्ने पक्षमा छैनन् । पार्टीका औपचारिक अनौपचारिक कार्यक्रममा प्रचण्डले खुलेरै आधा कार्यकाल आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग राख्न थालेका छन् ।

प्रचण्डको अभिव्यक्तिका विषयमा काँग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रचण्डले चुनावपछि सरकारको नेतृत्व गर्ने इच्छा व्यक्त गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘प्रचण्डजीले प्रधानमन्त्री हुन चाहन्छु भन्ने कुरालाई अन्यथा ठान्नुभएन । कहिले कसरी हुने पछिको कुरा भयो । आगामी चुनावबाट जितेर आउनुपर्‍यो । त्यसपछि टुङ्गो लाग्छ,’ महतले भने, ‘गठबन्धनमा समझदारी गर्नुपर्‍यो । त्यसपछि परिणाम ल्याउनु पर्‍यो । त्यसपछि कसले कुन पद लिने भन्ने निर्धारण हुनेछ ।’ प्रचण्डले म प्रधानमन्त्री हुन्छु भन्दैमा काँग्रेसले ‘पाउनुहुन्न’ भन्न नमिल्ने महतको भनाई छ । 

यता माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले  गठबन्धनमा समझदारी बनाएर गएमा सत्ता साझेदारी बराबर हुनुपर्ने जिकिर गरे ।

‘एउटै पार्टीलाई सर्वेसर्वा बनाउने गरी गठबन्धन हुँदैन । गठबन्धनमा सत्ता साझेदारीको विषयलाई ध्यान दिएर समझदारी बनाउनुपर्छ । संयुक्त सरकार बनाउँदा आलोपालो मान्यता हुन्छ । न्यूनतम साझा नीति तथा कार्यक्रमहरू हुन्छन्,’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘विगतमा हामीले सरकार सञ्चालनमा आलोपालो कार्यान्वयन गरेर देखाएकै छौँ । अहिले पनि एक अर्कोका लागि आवश्यक समझदारी बनाएर जानुपर्छ ।’ चुनावको मिति घोषणा भएपछि गठबन्धन अन्तिम निष्कर्षमा पुग्नुपर्ने पोखरेलको भनाइ छ । प्रदेश र संघको चुनाव अघि सत्ता सञ्चालनका विषयमा साझेदारी गरे त्यसले चुनावपछि मूर्तरुप पाउने विश्वास व्यक्त गरे ।

चितवन क्षेत्र नम्बर तीन काँग्रेस र एमालेको प्रभाव क्षेत्र हो । माओवादी त्यहाँ तेस्रो ठुलो शक्ति हो ।  २०७४ सालको चुनावमा प्रचण्ड एमालेसँग वाम तालमेल गरेर निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा काँग्रेस र राप्रपा गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । प्रचण्ड र पाण्डेको मत अन्तर ९ हजार ३४१ थियो । आगामी चुनावमा प्रचण्डको पुनः पाण्डेसँगै चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । प्रचण्ड काँग्रेससहितको पाँच दलीय तालमेलबाट मैदानमा उत्रिने छन् भने पाण्डे एमालेको समर्थनमा जाने सम्भावना छ । पछिल्लो समय प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारले समेत आँखा गाडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप