सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व ‘आणविक विनास’बाट एक कदममात्र टाढा छ : संयुक्त राष्ट्र संघीय प्रमुख

मङ्गलबार, १७ साउन २०७९, ०९ : ४९
मङ्गलबार, १७ साउन २०७९

युक्रेन युद्ध र मध्यपूर्व तथा एशियामा बढ्दो तनावबीच विश्वमा आणविक आक्रमणको जोखिम बढेको संयुक्त राष्ट्र संघका महासचिवले बताएका छन् ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले सोमबार एक बैठकमा ‘विश्व आणविक विनाशबाट एक गलत निर्णय टाढा रहेको’ चेतावनी दिएका छन् । 

५० वर्षअघि भएको आणविक अस्त्र प्रसार रोक्ने सम्बन्धी ऐतिहासिक नन–प्रोलिफेरेसन ट्रिटी वा अप्रसार सन्धि (एनपीटी)को बैठक सोमबारबाट सुरु भएको छ । सोही बैठकमा गुटेरसले यस्तो गम्भीर चेतावनी दिएका हुन् । 

एनपीटीले अल्पकालमा आणविक अस्त्रको प्रसार रोक्ने र दीर्घकालमा विश्वलाई आणविक अस्त्र मुक्त बनाउने लक्ष लिएको थियो । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघीय महासभाको हलमा भेला भएका मन्त्री तथा कुटनीतिज्ञहरुलाई सम्बोधन गर्दै गुटेरसले ‘विश्व अहिले शीतयुद्धको समय उत्तिक्कै आणविक युद्धको जोखिममा’ रहेको चेतावनी दिए । 

विश्वभर अहिले १३ हजार आणविक शस्त्र छन् । र मुलुकहरु यस्तो बिनासकारी अस्त्र निर्माणमा सयौं अर्ब डलर खर्च गरिरहेका छन् । ‘अहिलेसम्म हामी अत्यन्त भाग्यमानी ठहरिएका छौं । तर भाग्य त रणनीति हुनसक्दैन र भाग्यले भूराजनीतिक द्वन्द आणविक द्वन्द रोक्न सक्दैन ’ संयुक्त राष्ट्र संघका महासचिवले भने ।  

भेलामा अमेरिका, रुस तथा विभिन्न देशका नेताहरुले सम्बोधन गरेका छन् । अमेरिकाका विदेश मन्त्रीले विश्वमा हाल कायम आणविक जोखिमको चर्चा गरे । उनले उत्तर कोरियाले सातौं आणविक परिक्षणको तयारी गरिरहेको, इरानसँगको आणविक सम्झौता अनिश्चित रहेको र रुसले आवश्यक परे युक्रेनमा आणविक अस्त्र प्रयोग गर्ने धम्की दिएको जस्ता दृष्टान्त दिए । 

बैठकलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सम्बोधन गरेका थिए । उनले आणविक युद्ध कसैले पनि नजित्ने भएकाले कसैले पनि यो सुरु गर्न नहुने बताए । 

विश्वमा पहिलो पटक आणविक आक्रमण भोगेको देश जापानका प्रधानमन्त्री फुमियो किशिदाले सन् २०१५ को मुल्यांकन सम्मेलनपछि विश्वमा विभाजन बढेको औंल्याए । 

सन् १९७० मा कार्यन्वयन आएको अप्रसार सन्धिमा झण्डै १९१ मुलुकले सहमती जनाएका छन् । यो सन्धि विश्वमा कुनै पनि अस्त्र नियन्त्रणसम्बन्धी सबैभन्दा व्यापक सहभागिता भएको सम्झौता हो । 
यस सम्झौता लागु भएको समयमा विश्वमा पाँच मुलुकहरु अमेरिका, रुस(सोभियत संघ), बेलायत, फ्रान्स र चीनसँग आणविक अस्त्र थियो । 

सम्झौताका बुदा अन्तरगत, आणविक अस्त्र भएका पाँच मुलुकले कालान्तरमा आफूसँग भएको आणविक अस्त्र नष्ट गर्ने र अस्त्र नभएका मुलुकले उर्जाको लागि बाहेक आणविक अस्त्र विकास नगर्ने सहमती जनाएका थिए । अप्रसार सन्धिमा हस्ताक्षर नगरेका भारत र पाकिस्तानले पछि आणविक हतियार निर्माण गरे भने पहिले सम्झौतामा सहमती जनाएको उत्तर कोरियाले त्यसबाट बाहिरिएर आणविक अस्त्र निर्माण गरेको थियो । 

इजरायलले अप्रसार सन्धि अनुमोदन गरेको भए पनि गोप्य रुपमा आणविक हतियार बनाएको विश्वास गरिन्छ । तर उसले यसको पुष्टि वा खण्डन केही गरेको छैन । 

पछिल्लो समय इरान पनि आणविक अस्त्र निर्माणको निक्कै नजिक पुगेको विश्वास गरिन्छ । अप्रसार सन्धिको प्रत्येक पाँच वर्षमा मुल्यांकन गर्नुपर्ने व्यवस्था भए पनि सन् २०२० मा हुनुपर्ने मुल्यांकन बैठक दुई वर्ष ढिलो भएका छ । संयुक्त राष्ट्र संघको बैठक अगस्ट २६ सम्म चल्नेछ र यसले आगामी कदमबारे निर्णय गर्ने अपेक्षा गरिन्छ तर ठूलो ब्रेकथ्रुको अपेक्षा कम नै छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप