नेपाली फिल्म : लगानी स्वाहा, कलाकार मात्र मालामाल
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको लगानी ‘बालुवामा पानी’सरह भइरहेको छ । एक दुई चलचित्र छोडेर भन्ने हो भने अधिकांशका लगानी ‘स्वाहा’ भएका छन् तर पनि फिल्म निर्माणको क्रमले रफ्तार लिइरहेकै छ । अझ नयाँ शैलीका साथ चलचित्र निर्माण हुने क्रममा बढ्दो छ ।
कोरोना महामारीको वर्षलाई छोडेर हेर्ने हो भने नेपाली फिल्म बजारमा वार्षिक कम्तीमा ७० र बढीमा १२० फिल्म रिलिज भएको देखिन्छ । व्यावसायिक रूपमा सफल नभए पनि चलचित्र निर्माणमा बढ्दो ‘क्रेज’ ले अनेक प्रश्न उब्जाउने गरेको छ । लगानी नै असुल नहुने अवस्थामा निर्माताहरू कहाँबाट रकम ल्याउँछन् र कसरी एकपछि अर्को फिल्म बनाइरहेका छन् भन्ने प्रश्न आफैमा अहम् छ ।
फिल्ममा कसको लगानी ?
फिल्ममा भएका अधिकांश लगानी डुबे पनि यो क्षेत्रमा भिड उस्तै छ । पुराना केही लगानीकर्ता हराए पनि नयाँ भित्रिने क्रम बढ्दो छ । डुब्ने थाहा हुँदाहुँदै पनि किन लगानी छ फिल्ममा ?
निर्माता, निर्देशक तथा वितरक अशोक शर्माका अनुसार फिल्ममा विभिन्न दृष्टिकोणले लगानीकर्ता आकर्षित हुने गरेका छन् । कतिपय अवस्थामा फिल्म बुझेका व्यक्तिले नबुझेकालाई फसाएर लगानी भित्र्याउने, कतिपयले कालो धनलाई सेतो बनाउन तथा कतिपय चर्चाका लागि पनि फिल्ममा लगानी गर्न तम्सिने उनले बताए ।
‘फिल्म क्षेत्र बुझेको लगानीकर्ता थोरै छ । उनीहरूले सुझबुझका साथ फिल्मलाई निरन्तरता दिइरहेका छन्,’ शर्माले भने, ‘९५ प्रतिशतभन्दा बढी लगानीकर्ता नबुझेर, विभिन्न आशमा, तडकभडकको भ्रमका कारणले पनि लगानी गरिरहेका छन् । जसको लिड अर्काले गरिरहेको हुन्छ ।’
उनका अनुसार अर्को एक पक्षले फिल्मको ग्ल्यामर मात्र देखेको हुन्छ । ‘रातारात मानिस हिट हुन्छ भनेर जानेको हुन्छ,’ शर्माले थपे, ‘केही फिल्मको २०/२२ करोडको व्यवसाय देखेर उत्साहित भएर लगानी गर्न आउँछन् तर ९९ प्रतिशत फिल्मको लगानी डुबेको उनीहरूले ध्यान दिएका हुँदैनन् ।’
उनका अनुसार २२ करोड व्यापार गरेको फिल्मको निर्माताले कति पाउँछन् भन्ने नबुझी लगानीकर्ता यो क्षेत्रमा होमिने गरेका छन् । बुझेका व्यक्तिले नबुझेकालाई फसाउने र अर्कैको लगानीको भरमा कमाउने गरेको उनले बताए । कोही आफन्त, छोराछोरीलाई कलाकार बनाउन पनि लगानीमा होमिने गरेको उनको भनाइ छ ।
शर्माको भनाइसँग निर्माता, निर्देशक मनोज पण्डित पनि सहमत छन् । पण्डित फिल्ममा ६ कारणले लगानी भइरहेको बताउँछन् । उनका अनुसार पहिलो कारण पहिचान हो । उनले भने, ‘अन्य क्षेत्रमा पैसा छ तर नाम छैन । यो क्षेत्रमा नामका लागि लगानी गर्ने पनि छन् ।’
दोस्रो कारण, घाटाकै लागि पनि लगानी गर्नेहरू रहेको उनले बताए । उनले भने, ‘कहीँ कतै ठुलो कालो धन छ, जुन धन लगाएपछि कमाए पनि, नकमाए पनि व्यवसाय देखाउन मिल्छ ।’
कला, साहित्य सबैको रुचिको विषय भएको र फिल्म संसारकै शक्तिशाली माध्यम भएकाले अन्य पेशामा कमाएको रकम कलामा पनि लगानी गरौँ भन्ने तेस्रो कारणले पनि यस क्षेत्रमा लगानीकर्ता उत्साहित भएको उनले बताए ।
चौथो कारणका रूपमा उनले निरन्तरताका लागि लगानी गर्नेहरू देखिएको बताए । यस्तै, पाँचौँ कारणका रूपमा उनले मनोरञ्जनका लागि आउने वर्गलाई औँल्याए ।
छैटौँ कारणका रूपमा उनले बिचौलियाको लगानीलाई देखाए । बाहिरको मानिसलाई विभिन्न प्रलोभन देखाएर लगानी गर्न लगाउनेलाई आफूले बिचौलियाको संज्ञा दिएको उनको भनाइ छ ।
निर्माता तथा वितरक सुनिल मानन्धर भने फिल्ममा कालो धन नआएको बताउँछन् । ‘यहाँ मानिसले अर्कोलाई फसाएर र भ्रममा पारेर लगानी गराइरहेका छन्,’ सुनिलले भने, ‘यहाँ एक जनाले तीन जनालाई फसाउँछ । त्यो तीन जनाले नौ जनालाई फसाउँछन् ।’
पुराना निर्माता नदोहोरिनु र नयाँ नयाँ लगानीकर्ता देखिनुको कारण यही रहेको उनको भनाइ छ ।
कलाकारलाई मात्र फाइदा
यतिबेला भारतको ठूलो मध्येको एक तेलगु फिल्म उद्योगका निर्माताले अगस्ट १ देखि फिल्मको छायाङ्कन रोक्ने घोषणा गरेका छन् । कलाकारको पारिश्रमिक उच्च रहेको र धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको भन्दै उनीहरूले तत्काललाई छायाङ्कन स्थगित गर्ने निर्णय गरेका हुन् ।
नेपालमा पनि फिल्मका लगानी डुबिरहेको अवस्था छ । फिल्मको करोडौँ लगानी डुबे पनि कलाकार भने फाइदामा छन् । एकपछि अर्को फिल्ममा उनीहरूले आफ्नो पारिश्रमिक बढाउँदै लगेको देखिन्छ । अहिले कलाकारको पारिश्रमिक ५०/५५ लाखसम्म पुगिसकेको छ । निर्देशकले समेत ५० लाख लिन थालेको समाचार प्रकाशमा आइरहेको छ । नेपालमा फिल्म घाटामा गए पनि कलाकार फाइदामै हुन्छन् ।
निर्माता विनयराम श्रेष्ठ भन्छन्, ‘कलाकारको कारणले फिल्मको लगानी उठ्छ भन्ने ग्यारेन्टी केही छैन,’ श्रेष्ठले भने, ‘फिल्म थपिएसँगै कलाकारको पारिश्रमिक बढ्दो छ ।’ कलाकारको पारिश्रमिक उच्च भएका कारण पनि फिल्मको लगानी नउठेको उनको अनुमान छ । ‘फिल्मको लगानी बढ्दो छ । मार्केट सानो छ । त्यसैले त सबै फिल्म डुबेका छन्,’ श्रेष्ठले थपे ।
निर्माता तथा वितरक रोहित कट्टेल पनि अहिले कलाकारको पारिश्रमिक निर्माताले धान्न नसक्ने भएको बताउँछन् । ‘केही वर्ष अघिसम्म ५/६ लाख पारिश्रमिक थियो । अहिले ५०/५५ भन्न थाले,’ उनले थपे, ‘फिल्ममा दर्शक घट्दो छन् । लगानी बढ्दो छ ।’
अहिले फिल्म बनाउनु भनेको कलाकारलाई मात्र फाइदाको विषय भएको उनले सुनाए ।
कलाकारले किन तिर्दैनन् कर ?
हालै बलिउड अभिनेता अक्षय कुमारले सबैभन्दा बढी कर तिरेको भनेर आयकरका कर्मचारीले उनको घरमै पुगेर सम्मान गरेका छन् । अक्षय मात्र होइन, बलिउडमा अन्य कलाकारले पनि कर तिरेको समाचार बेलाबेलामा बाहिर आउने गरेका छन् । नेपालमा एउटा फिल्मको पारिश्रमिक ५०/५५ लाख भनेर दाबी गर्ने कलाकारले राज्यलाई कति कर तिर्छन् भन्ने सुन्न पाइएको छैन ।
नेपाली फिल्मको आर्थिक पाटो पारदर्शी नभएको फाइदा कलाकारले उठाइरहेको निर्माता तथा निर्देशक मनोज पण्डित बताउँछन् ।
‘फिल्मप्रति राज्यको सकारात्मक धारणा पनि छैन,’ उनले भने, ‘राज्यबाट फिल्मलाई हुने फाइदा नाम चलेका केही कलाकारले लिइरहेका छन् ।’
नेपाली कलाकारले कर तिरेको, कर तिरेका कारण राज्यले सम्मानित गरेको सुन्न नपाइएको पण्डितले बताए । ‘हाम्रा कलाकार लोभी छन् । उनीहरूले देशप्रति गद्दारी गरिरहेका छन् । यो बहसमा आउनु जरुरी छ,’ उनले भने ।
कलाकारले आफ्नो प्रसिद्धि अनुसार पारिश्रमिक माग्न पाइयो तर राज्यले पनि ऊसँग पारिश्रमिकको कर खोज्नुपर्ने उनले बताए । राज्यको कमजोरीका कारण कलाकारले करमा ठगी गरिरहेको पण्डितको भनाइ छ ।
मनोजको कुरासँग निर्माता तथा निर्देशक अशोक शर्मा पनि सहमत छन् । कलाकारले करमा राज्यलाई ठगेको शर्मा बताउँछन् ।
‘फिल्म दिँदा निर्माण कम्पनीले टीडीएस काट्छन् । कलाकारले आफूले तिर्ने कर त्यही हो भन्छन्,’ शर्माले भने, ‘त्यो कम्पनीले काटेको टीडीएस उसकै नाममा सरकारमा बुझाउनुपर्छ ।’
कुनै पनि कलाकारले वर्षभरि जति कमाउँछ, त्यसमा आफ्नो खर्च कटाएर उसले आम्दानीको २५ प्रतिशत कर तिर्नुपर्छ । त्यसमा कम्पनीले काटेको टीडीएससमेत मिलाउन पाइने शर्माले बताए । ‘कलाकारले नबुझेर हो वा जानाजान राज्यलाई ठगिरहेका छन्,’ उनले भने, ‘सरकारले वर्षभरि कमाएको स्वयम् घोषणा गर्नु र कर तिर्नु भनेको छ । त्यो पनि कलाकारले गरेको देखिएन ।’
कलाकारले कर तिरेको रेकर्ड छैन : शाक्य
कलाकारले आफ्नो आय घोषणा गरेर कर तिरेको देख्न र सुन्न नपाइएको आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्य बताउँछन् ।
‘हामीसँग दुई किसिमको प्यान नम्बर छ । एउटा व्यावसायिक प्यान र अर्को व्यक्तिगत प्यान,’ शाक्यले भने, ‘कलाकारहरुले कुनै कम्पनीबाट काम लिँदा काटिने टीडीएसलाई कर भनिरहेका छन् कि जस्तो पनि लाग्छ । उनीहरूले व्यक्तिगत रूपमा आयकर तिरेको रेकर्ड मलाईचाहिँ थाहा छैन ।’
करमा भएको यो अन्यौललाई समाधान गर्न ई–टीडीएस सिस्टम ल्याउन लागेको बताएका शाक्यले यो सिस्टमबाट जसले जहाँबाट पैसा लिए पनि जानकारी हुने र त्यसको आधारमा कर असुल गर्ने बताए ।
‘आफ्नो आय घोषणा गरेर कर ति¥यो भने ठिकै हो । नतिरेकोलाई हामीले जरिवाना गरेको धेरै रेकर्ड छ,’ उनले थपे ‘हामीले कलाकार भनेर हेर्ने अवस्था त छैन । हामीले प्यान नम्बर हेर्दा उनीहरूले गरेको आम्दानी पत्ता लाग्छ । त्यसको आधारमा कर उठाउँछौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा