प्रचण्डसँग भेटेको छैन : कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताएका छन् । सोमबार रातोपाटीसँग छोटो कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रचण्डसँग भेट गरेको भनी आएका समाचार कपोलकल्पित रहेको बताएका हुन् ।
यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको घरमा नै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुईघण्टा भेटघाट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए । संवैधानिक नियुक्ति लिएका ५२ जना माननीयको मुद्दा संवैधानिक इजलासमा राखिएकै दिन गत बुधबार प्रचण्डले कामु प्रधानन्यायाधीशसँग दुई घण्टा भेट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए ।
प्रचण्डसँग भेट गरेको समाचारको सम्बन्धमा गत शुक्रबार सर्वोच्चका न्यायाधीशहरुले समेत कामु प्रधानन्यायाधीशसँग जवाफ मागेका थिए । जवाफमा कामु प्रधानन्यायाधीश कार्कीले आफूले प्रचण्डसँग भेट नगरेको र भेट गर्नुपर्ने कुनै कारण पनि नभएको बताएका थिए ।
सोही सम्बन्धमा सोमबार रातोपाटीसँग छोटो कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले उक्त समाचारमा कुनै सत्यता नरहेको र आफूले प्रचण्डसँग भेट्नुपर्ने कारण पनि नभएको बताए । कार्कीले भने, ‘जब संवैधानिक नियुक्ति र माधव नेपालहरूको मुद्दा पेसीमा चढ्छ, अनि यस्ता समाचार तयार पारिन्छ र प्रकाशन गरिन्छ । समाचार लेख्ने र प्रकाशन गर्नेहरूले समाचारको पुष्टि पनि त गर्नुपर्ला नि । कि जे मन लाग्यो त्यही समाचार बनाएर प्रकाशन गर्न पाइन्छ ? मैले प्रचण्डसँग र प्रचण्डले मसँग भेट्नुपर्ने कारण के छन् र भेट्ने ? मैले उहाँसँग भेट गरेको छैन र भेट गर्नुपर्ने कारण पनि छैन । हुँदै नभएको समाचार बनाएर मिडियाले के पुष्टि गर्न खोजेका हुन् ?’
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले पनि कामु प्रधानन्यायाधीशसँग भेट भएको कुराको खण्डन गरेको छ । मंगलबार बिहान रातोपाटीसँग कुराकानी गर्दै प्रचण्डका स्वकीय सचिव सूर्यकिरणले कामु प्रधानन्यायाधीशसँग भेटको समाचार झूटो र कपोलकल्पित भएको दाबी गरे । उनले भने, ‘कामु प्रधानन्यायाधीशसँग भेटघाट भएको छैन । गत बुधबार (साउन ११ गते) बिहान उहाँ खुमलटारस्थित निवासमै हुनुहुन्थ्यो । पार्टीका नेताहरू भेटघाट गर्न आउनुभएको थियो । अन्य समयमा पनि उहाँले कामु प्रधानन्यायाधीशलाई भेटघाट गर्नुभएको छैन ।’
संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ गत बुधबार संवैधानिक इजलासमा तोकिएको थियो । कामु प्रधानन्यायाधीश कार्कीले नै संवैधानिक इजलासको नेतृत्व गर्ने भएकाले उक्त मुद्दालाई प्रभावित पार्न प्रचण्ड पुगेको भन्दै केही अनलाइनमा समाचार प्रकाशन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित