शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीमा अविरल वर्षापछि ठाउँ-ठाउँमा सडक अवरुद्ध

मङ्गलबार, १७ साउन २०७९, ०७ : ५६
मङ्गलबार, १७ साउन २०७९

केही दिनयताको अविरल वर्षाका कारण कास्कीका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा सडक भासिँदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ६:०० बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ  । कास्कीको रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिरेका कारण अवरुद्ध भएको छ । बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमबार साँझ पहिरो आई बाटो बन्द भएको बताइन्छ । पर्यटकीय गन्तव्य घान्द्रुक जाने एकमात्र सडक पहिराले अवरुद्ध भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् ।

यसैगरी सोमबार राति १०:०० बजेको समयमा पोखरा–२९ घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ओभर फ्लो हुँदा राजमार्ग केही समय अवरुद्ध भएको बताइन्छ । पानी सडकमा जाँदा सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक तिवारीले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध भएको बाटो खुलाउने पहल भइरहेको जानकारी दिए। कास्कीमा गत शनिबार रातिदेखि निरन्तर ठूलो वर्षा भइरहेको छ । अविरल वर्षाका कारण आइतबार बिहान पोखरा–६ मा पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने अर्का एक घाइते भए । यसैगरी पोखरा–१३ स्थित कमलपोखरी क्षेत्रका दर्जनौँ घर अविरल वर्षाका कारण डुबानमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप