शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको एकदिवसीयमा डेब्यूको चार वर्ष, मान्यता जोगाउनै मुस्किल

सोमबार, १६ साउन २०७९, २१ : २४
सोमबार, १६ साउन २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटमा डेब्यू गरेको चार वर्ष पूरा भएको छ । सन् २०१८ अगस्ट १ मा नेपालले एकदिवसीय क्रिकेटमा आफ्नो पाइला चालेको थियो । 

एकदिवसीय क्रिकेटमा हर्षका साथ पाइला चालेको नेपाली क्रिकेटले चार वर्ष पूरा गर्दा उल्लेख्य प्रगति भने हुन सकेको छैन । नेपालले ४ वर्ष अघि नेदरल्यान्ड्सविरुद्ध आजकै दिन पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । 

चार वर्ष पहिला एकदिवसीयमा डेब्यू गर्दा हारको नतिजा बेहोरेको नेपालले चार वर्ष पूरा गर्दै गर्दा खेलेको अन्तिम खेलमा पनि नेपालका हारको नतिजा नै निकालेको छ ।  नेपालले खेलेको पहिलो खेलमा नेदरल्यान्ड्सको एमेस्टेलभिलमा भएको खेलमा नेपाल ५५ रनले पराजित भएको थियो ।

यसबीचमा नेपाली क्रिकेट टोलीले ठूला राष्ट्रहरूसँगको प्रतियोगिता सहज जित निकालेको छ भने धेरै प्रतियोगितामा आफूलाई अब्बल साबित पनि गरेको छ । 

यस्तो छ, नेपालको एकदिवसीयमा चार वर्षको नतिजा 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो एकदिवसीय क्रिकेटको यात्रामा थुप्रै खेलहरू खेल्यो । हालसम्म नेपालले कुल ३०  अन्तर्राष्ट्रिय एकदिवसीय खेलेको छ । जसमा नेपालको प्रदर्शन कमजोर छ । नेपालले खेलेका १३ खेलमा जित निकालेको छ भने १६ खेलमा पराजित भएको छ । नेपालले एकमा बराबरीको नतिजा हात पारेको छ । 

नेपालले दुई देश सम्मिलित सिरिज चार वटा खेल्यो । जसमा नेपालले १० खेल खेल्यो । नेपालले खेलेका १० खेलमा ५ खेलमा जितको नतिजा निकालेको छ भने ५ खेलमा पराजित भएको छ । 

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले २० खेल खेलेको छ । नेपालले त्यसमा ८ खेल जितेको छ भने ११ खेलमा पराजित भएको छ । नेपालले एक खेल बराबरी खेलेको छ ।

नेपालले अब एकदिवसीय क्रिकेटको मान्यता जोगाउन आईसीसी विश्वकप लिग टू को शीर्ष चारमा पुग्नु पर्ने भएको छ । नेपालको एकदिवसी विश्वकप खेल्ने सम्भावना भने लगभग अन्त्य भइसकेको छ । 

एकदिवसीयको चार वर्ष तीन कप्तान 

नेपालले एकदिवसीय मान्यता पाएको चार वर्ष भयो । पारस खड्का कप्तान भएको समयमा नेपालले एकदिवसीय मान्यता पाएको थियो । अहिले नेपाली टोलीको कप्तान सन्दीप लामिछाने छन् । पारसले क्यानको नयाँ नेतृत्व आउने समय लगत्तै कप्तानको जिम्मेवारी छोडेका थिए । 

त्यसको एक महिना पछि क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दियो । ज्ञानेन्द्रले कप्तानको जिम्मेवारी पाएको समयमा नेपालले धेरै सफलता हात पार्‍यो । नेपालको हालसम्मको नतिजा हेर्दा मल्ला एकदिवसीयमा सफल कप्तान हुन् ।

उनले १० खेलमा कप्तानी गर्दै ६ खेलमा जित दिलाएका छन् । दोस्रो स्थानमा रहेका पारस खड्काले ६ खेलमा कप्तानी गरेका छन् । उनले ३ जित र ३ मा हार दिलाएका छन् । तेस्रो स्थानमा रहेका सन्दीपले १४ खेलमा कप्तानी गरेका छन् । ४ जित, ९ हार र १ खेलमा बराबरी गराएका छन् ।

खेलाडी वर्गीकरणको विषयमा विवाद हुँदा मल्ललाई क्यानले कप्तानको जिम्मेवारीबाट हटाएको थियो। क्यान खेलाडीलाई गरेको ६ महिनाको कारबाहीबाट पछि हट्यो । त्यसपछि मल्ल पुनः टिममा आए । उनी टिममा आए पनि क्यानले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दियो । 

नेपालको लागि हालसम्म एकदिवसीय क्रिकेटमा सफल कप्तान ज्ञानेन्द्र हुन् भने सन्दीपको नतिजा खराब छ । 

सर्वाधिक रन रोहितको, सर्वाधिक विकेटमा सन्दीपको 

एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी रोहित कुरामा पौड्यल हुन् । उनले हालसम्म नेपालका लागि एकदिवसीय क्रिकेटमा ८०८ रन बनाएका छन् । 

उनले आफ्नो २५ खेलमा यो रन बनाएका हुन् । नेपालका लागि सर्वाधिक रन बनाउने दोस्रो सूचिमा आसिफ शेख र तेस्रोमा आरिफ शेख छन् । 

जसमा आसिफले ५१४ बनाउँदा आरिफको नाममा ४९२ रन छ । चार वर्षमा नेपालका ३ खेलाडीले ३ शतक बनाएका छन् ।  १२ खेलाडीले २८ अर्धशतक बनाएका छन् ।

एक इनिङमा सर्वाधिक रन रोहितबनाउने रोहितल १२६ रन बनाएका छन् । 

त्यस्तै नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी सन्दीप हुन् । सन्दीपले एकदिवसीय क्रिकेटमा ६९ विकेट लिएका छन् । उनले २९ इनिङ्समा सर्वाधिक ६९ रन बनाएका हुन् । 

त्यस्तै नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका सोमपालले ४३ विकेट लिँदा करण केसीले ४२ विकेट लिएका छन् । 

चार वर्षमा सर्वाधिक धेरै ओभर बलिङ गर्ने खेलाडी पनि सन्दीप हुन् । उनले २६७ ओभर बलिङ गरेका छन् ।

पपुवा न्यु गिनीविरुद्ध कीर्तिपुरमा बनाएको २८६ रन नेपालले एक इनिङमा बनाएको सर्वाधिक रन हो । नेपालले युएईविरुद्ध बनाएको १ सय ३ रन सर्वाधिक कम हो । 

३४ खेलाडीको एकदिवसीयमा डेब्यू

नेपालका लागि एकदिवसीय क्रिकेटमा ३४ खेलाडीले डेब्यू गरेका छन् । पारस खड्का देखि लिएर अहिलेका बसिर अहमदले नेपालका लागि डेब्यू गरे । समग्रमा नेपालले एकदिवसीय क्रिकेटमा गरेको प्रगति धेरै राम्रो छ । तर, एकदिवसीय मान्यतालाई जोगाउन सकेमा नेपाली क्रिकेटले अझै प्रगति गर्ने कुरामा दुई मत छैन । त्यसको लागि क्यान, खेलाडी र प्रशिक्षकको तालमेल मिल्न जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप