बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदामा सूचीकृत गरिन्छ : पर्यटनमन्त्री श्रेष्ठ

सोमबार, १६ साउन २०७९, २० : ४७
सोमबार, १६ साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका हुन् । 

भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्त्विक दृष्टिकोणबाट विश्वकै महत्त्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ । तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पुरा गरिने उनले बताए । तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनले बताए ।

तिलौराकोट दरबारको समुचित विकास एवम् प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए । सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताए । बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप