सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न स्थानको बाढी पहिरो र घटनाबारे गृहमन्त्री खाणको चासो

सोमबार, १६ साउन २०७९, १४ : ५५
सोमबार, १६ साउन २०७९

गृहमन्त्री बालकृष्ण खाणले कास्की, प्युठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्‍याएको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन भइरहेका पहलबारे जानकारी लिएका छन् । 

त्यस्तै काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएर घटनाबारे अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिए । गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन गरिएको पहलबारे जानकारी लिए । उनले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग काभ्रेस्थलीमा एकै परिवारमा चार जना मृत फेला परेको अवस्थाबारे जानकारी लिए । प्युठानको जुम्रीमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुचारु गर्ने विषयमा उनले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी लिए । प्रहरी, सशस्त्र र स्थानीयको पहलमा अहिले पहिरो हटाएर सडक सुचारु गराउने काम भइरहेको डिआइजी उपाध्यायले बताए । 

यता कास्कीको  पोखरा महानगरापालिका–१६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाणले जानकारी लिए । घर पुरिएका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएका छन् । घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रजिअ आचार्यले बताए । 

कास्कीमा परेको निरन्तरको वर्षाका कारण पोखरा– १३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घरहरू डुबानमा परे पनि मानवीय क्षति भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप