शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

तरकारी खेतीले बदलिएका गाउँ

रोजगारीका लागि भारत तथा खाडी मुलुक जाने क्रम घट्यो
सोमबार, १६ साउन २०७९, १२ : १५
सोमबार, १६ साउन २०७९

सुर्खेत । भेरीगंगा नगरपालिका–४ ठुलो हर्रेका दलबहादुर खड्का ०६२ साल यता तरकारी खेतीमा संलग्न छन् । सुरुका केही वर्ष आफ्नो गर्जो टार्नमात्रै तरकारी खेती गरेका उनले बिस्तारै लगानी बढाउँदै गए । ५ वर्ष अघिदेखि उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

४ रोपनी जग्गामा विभिन्न तरकारी खेती गरेका उनी अहिले यसबाटै प्रशस्त कमाउन थालेका छन् । उनी भन्छन्, ‘बर्खे सिजनमा मात्रै तरकारीबाट झण्डै चार लाख जति आम्दानी हुन्छ । ५ जना परिवार यसैबाट पालिरहेको छु, धेरथोर बचत पनि भइरहेको छ ।’

सोही ठाउँकी सुशीला ओली झण्डै १६ रोपनी जग्गामा खेती गर्छिन् । त्यसमध्ये ८ रोपनीमा उनी बमौसमी तरकारी फलाउँछिन् । तरकारीबाटै उनले तीन छोरी र एक छोरालाई पढाइरहेकी छन् । चार छोराछोरीमध्ये माइली छोरीबाहेक तीन जना काठमाडौँमै बस्छन् । उनीहरूलाई मासिक ५० हजार जति खर्च पठाउनुपर्ने उनले बताइन् । ‘त्यो खर्च यहीँ फलाएको तरकारीबाट टारिएको छ,’ उनले भनिन् ।

उनका श्रीमान् मानबहादुर ओली कुनै समय वैदेशिक रोजगारीमा गएका थिए । तर उता राम्रो कमाई नभएपछि दुई वर्षमै उनी फर्किए । घर आएपछि दुवै जना मिलेर व्यावसायिक तरकारी खेती गर्न थाले । मानबहादुर भन्छन्, ‘म अहिले तरकारी उत्पादन पनि गर्छु र बजारीकरण पनि आफै गर्छु ।’

उनी आफूसहित केही अन्य कृषकको तरकारी सङ्कलन गरेर वीरेन्द्रनगरको मण्डीमा पुर्‍याउँछन् । मानबहादुरका अनुसार तरकारीबाट मात्रै वार्षिक ८–९ लाखसम्म आम्दानी हुन्छ । तरकारी खेतीका अलावा उनले बाख्रा पालनबाट पनि प्रशस्त आम्दानी गरिरहेका छन् । वार्षिक ३–४ लाख रुपैयाँ त उनको बाख्रापालनबाटै हुन्छ । उनी त्यो गाउँका अगुवा कृषक पनि हुन् । उनले आफ्नै पवित्र कृषि पशुपन्छी फर्मसमेत चलाएका छन् ।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन्, २०० घरधुरी रहेको हर्रे गाउँका १८२ जना कृषक व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनिरहेका छन् । सानो हर्रे, ठुलो हर्रे, फुलबारी टोल, अम्लिसे, बाइसकाटे लगायतका सात वटा कृषि समूह छन् । उसो त यहाँका कृषक विगत १५ वर्ष यता व्यावसायिक कृषि खेतीमा संलग्न थिए । यद्यपि, अहिले पकेट क्षेत्र कार्यक्रममा आबद्ध भएका छन् । हर्रेलाई कृषि विकास निर्देशनालयले ०७७–०७८ देखि तरकरी बाली पकेट क्षेत्र घोषणा गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत निर्देशनालयले गत वर्ष ७ वटा समूहलाई ७ वटै मिनीट्रेलर, सात वटा स्प्रे ट्याङ्की, सातवटा प्लास्टिक घर र बिउ वितरणमा सहयोगसमेत गरेको छ । हर्रेका अगुवा कृषक एवं तरकारी ब्लक सञ्चालन समितिका अध्यक्ष हेमन्त प्रकाश ओली हर्रे तरकारी खेतीका लागि हब बनेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘आजभन्दा पाँच वर्ष अघिसम्म कमै मान्छेले तरकारी खेती गर्थे ।  कसैले आफ्नो आवश्यकता धान्नका लागि मात्रै तरकारी लगाउँथे । तर अहिले अधिकांशले व्यावसायिक तरकारी खेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन् ।’

उनका अनुसार व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका बासिन्दा रोजगारीका लागि भारत तथा खाडी मुलुक जाने क्रम घट्न थालेको छ । समूहमा आबद्ध बाहेक अन्य किसानले पनि तरकारी खेती गर्छन् । यहाँ कसैले पनि तरकारी किनेर खानुपर्ने अवस्था नरहेको ओलीको भनाइ छ ।

‘हर्रेको २ सय रोपनी जमिनमा तरकारी खेती हुन्छ,’ उनले भने, ‘यद्यपि यहाँ हिउँदमा पानीको समस्या हुन्छ । हिउँदमा पनि सिँचाइ भएको खण्डमा आर्थिक वृद्धिदर अझ बढ्ने थियो ।’

हर्रेमा कृषि सहजकर्ताका रूपमा काम गरिरहेकी अनिता ओली तरकारी खेतीले महिलाको दैनिकीमा परिवर्तन आएको बताउँछिन् । उनी कृषक मानबहादुरकी माइली छोरी हुन् । तरकारी खेतीतर्फ बुबाआमाको आकर्षणले कृषि पढेकी उनी सहजकर्ता भएर आफ्नै गाउँमा कार्यरत छिन् ।

उनी भन्छिन्, ‘पहिला त यहाँका महिलाले घरभान्साका लागि चाहिने खर्चका लागि पनि श्रीमानको भर पर्नुपर्थ्यो, अहिले हरेक महिला आत्मनिर्भर छन् । घरखर्चका लागि श्रीमानको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’

हर्रे गाउँमा वार्षिक १० देखि १२ करोड रुपैयाँको तरकारी र अदुवा खेती हुने गरेको छ । अहिले यहाँको जग्गाको मूल्यसमेत ह्वात्तै बढिरहेको अनिता बताउँछिन् ।

कृषि विकास निर्देशनालयका निर्देशक एवं कृषि विज्ञ चित्रबहादुर रोकाया तरकारी खेतीले उत्पादन मात्र नभई स्वरोजगार सिर्जना गर्ने काम भइरहेको बताउँछन् । 

बजारीकरणका लागि छैन चिन्ता

हर्रे कर्णाली प्रदेशको प्रवेशद्वार हो । यहाँ उत्पादन भएको तरकारी बजारीकरणको लागि कुनै समस्या छैन । रत्न राजमार्गमा आवत–जावत गर्नेहरू हर्रेको तरकारी, अदुवा नलिई जाने सायद कमै होलान् । सानो बजार भए पनि त्यहाँका अधिकांश व्यापारीले तरकारी खरिदबिक्री गर्दछन् ।

प्रत्येक व्यापारीसँग आ–आफ्नै कृषक हुन्छन् । हर्रे बजारका तरकारी (होलसेल) व्यापारी टीकाराम बुढामगरसँग ८० जना कृषक छन् । विगत १२ वर्षदेखि व्यापार गर्दै आएका उनले तरकारी खरिद गरेर वार्षिक ४० देखि ५० लाखको कारोबार गर्ने गरेको सुनाए ।

हर्रेका व्यापारीले किसानबाट खरिद गरेको तरकारीमा प्रतिकेजी १० रुपैयाँ नाफा राखेर बिक्री गर्छन् । कृषकसमेत रहेका व्यापारी नैनसिंह खत्री वार्षिक ४० लाख भन्दा बढीको कारोबार गर्ने गरेको बताउँछन् । उनको पसलमा तरकारी ल्याउने कृषकको सङ्ख्या ४० जना छ । व्यापारीहरूका अनुसार हर्रेमा उत्पादन भएको तरकारी छिन्चु बजार, वीरेन्द्रनगर र लुम्बिनी प्रदेशको कोहलपुर–नेपालगन्जका मण्डीमा जाने गरेको छ ।

नुन, तेलबाहेक कुनै खाद्यान्न किन्दैनन् तोलीखोला गाउँवासी

भेरीगंगा नगरपालिका–५ मा विउरेनी तोलीखोला भन्ने एउटा सानो गाउँ छ । उक्त बस्तीमा ३० घरधुरी छन् । उनीहरू खेतीबाटै आत्मनिर्भर छन् । यहाँका कृषकले नुन र तेलबाहेक दाल, चामल, तरकारी जस्ता कुनै पनि खाद्यान्न किनेर खाँदैनन् । अहिलेको समयमा विशुद्ध अर्ग्यानिक खाद्यान्नमा निर्भर यो गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गर्ने तयारी पनि भइरहेको छ । त्यसका लागि कृषि विकास निर्देशनालयले ०७८–७९ मा ३३ लाख रकम दिएको थियो । जसबाट १३ लाखको फलामे टनेल, अर्ग्यानिक सम्बन्धी विभिन्न तालिम सञ्चालन भएको अगुवा कृषक गोपालजङ्ग भण्डारीले बताए ।

‘हामी परम्परागत गोठे मलमात्र प्रयोग गर्छौँ,’ उनले भने, ‘धान, गहुँ, मकै र तरकारी सबैको खेती गर्छौँ र यी सबैमा आत्मनिर्भर छौँ ।’

यो बस्तीमा सिँचाइको समस्या नभएकाले वर्षमा तीन बाली खेती हुन्छ । स्थानीय अमृता खड्का भन्छिन्, ‘अहिलेसम्म बजारको चामल खानुपरेको छैन । आफ्नै लोकल धान उत्पादन गरेर खान्छौँ ।’

कुनै बेला तरकारी किन्ने बिजौरा गाउँ अहिले बेच्छ

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित बिजौरा गाउँ पनि तरकारी खेतीको हब बन्दै गएको छ । कुनै बेला यो गाउँवासी तरकारी किनेर खाने गर्दथे । अहिले तरकारीमा आत्मनिर्भर मात्रै होइन, महिलाको दैनिकी बदलिनुका साथै आम्दानी समेत गर्न थालेका छन् ।

कृषि विकास निर्देशनालयले ‘एक स्थानीय तह एक बाली कार्यक्रम’ सञ्चालनमा ल्याएसँगै महिलाहरू आत्मनिर्भर बनेका छन् भने रोजगारीका लागि कालापहाड जाने पुरुषहरू पनि तरकारी खेतीतर्फ उन्मुख भएका छन् । 

स्थानीय चम्फा बिसी अचेल प्रायः तरकारी खेतीमै व्यस्त हुन्छिन् । कुनै समय तरकारी किन्न बजार धाउने उनले अहिले एक सिजनमा ३०–४० हजारको तरकारी बेच्ने गरेको बताइन् ।

बिजौरा गाउँमा ३३ जना किसान छन् । पहिले यहाँका किसानले परम्परागत विधिबाट खेती गर्दै आएका थिए । निर्देशनालय र पालिकाले प्लास्टिक घर, बिउविजन, औषधि लगायत प्राविधिक सहयोग गरेपछि आधुनिक खेतीमार्फत उनीहरू आत्मनिर्भर बनेका हुन् । यहाँका ८० प्रतिशत महिला कृषिबाट आत्मनिर्भर छन् ।  

१ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक २५ करोड बढीको आम्दानी

कृषि विज्ञ एवं कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाका अनुसार सुर्खेत जिल्लाभर एक हजार हेक्टर क्षेत्रफल जमिनमा तरकारी खेती हुने गरेको छ । जसबाट वार्षिक २५ करोडभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।

आर्थिक वर्ष ०७८–७९ मा निर्देशनालयबाट तरकारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत तरकारी ब्लक विकास कार्यक्रम, एक स्थानीय तह, एक पकेट बाली कार्यक्रम र अन्य मागमा आधारित कार्यक्रम सञ्चालन भइरहेका छन् ।

उनले भने, ‘झण्डै एक सयभन्दा बढी सिँचाइ आयोजना सञ्चालन भइरहेका छन् । जसले गर्दा सिँचाइ क्षेत्र बढेर उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।’ उनले सुर्खेतको तरकारी दैलेख हुँदै कर्णालीका अन्य जिल्लामा पनि निर्यात हुने गरेको बताए ।

उनी भन्छन्, ‘करिब ६० प्रतिशत कृषियोग्य जमिन बाँझै छ । अहिले यहाँको उत्पादन बढाउन सिँचाइको विस्तार गर्ने, प्राङ्गारिक खेतीतर्फ पहल गर्ने, कृषकको क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउने उद्देश्य छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप