संसदीय निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्न कति सम्भव ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कम्युुनिस्ट शक्तिहरुमा पहिलो बनाउने उद्घोष गर्दै आएका छन् । पार्टीका औपचारिक र अनौपचारिक बैठकहरुमा प्रचण्डले नेपाली काँग्रेससहितको गठबन्धनमा माओवादी केन्द्र संसदको दोस्रो शक्ति हुने र कम्युनिस्ट शक्तिमा पहिलो हुने योजना सार्वजनिक गरेका छन् ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा माओवादी तेस्रो शक्ति भएको थियो । कसैसँग गठबन्धन नगर्दा पनि माओवादी संसदको तेस्रो शक्ति त्यसै हुने भएकाले काँग्रेससहित पाँच दलीय गठबन्धन बनाउँदा दोस्रो शक्ति हुनैपर्ने प्रचण्डको जिकिर छ ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा पार्टीभित्रको अन्तरघात र तालमेलमा काँग्रेस लगायत शक्तिले राम्रोसँग नसघाउँदा तेस्रो भएको माओवादीको निष्कर्ष छ । कुल ७५३ स्थानीय तहमा १२२ पालिकामात्रै जितेको माओवादीले अब हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा दोस्रो शक्ति हुने दाबी गरेको हो ।
२०७४ सालको निर्वाचनमा माओवादीसँगको गठबन्धनमा एमाले पहिलो शक्ति भएको थियो भने वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध एमाले दोस्रो शक्तिका रूपमा स्थापित भएको छ । यस्तो अवस्थामा माओवादी केन्द्रलाई दोस्रो शक्तिका रूपमा स्थापित हुन त्यति सहज देखिँदैन । तर, माओवादीका प्रदेश अध्यक्ष सहित पदाधिकारीहरु दोस्रो शक्ति बन्न गाह्रो नहुने दाबी गरेका छन् ।
आगामी निर्वाचनको तयारीका सम्बन्धमा रातोपाटीले माओवादीका सातै प्रदेशका नेतृत्वसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरुको भनाइको सम्पादित अंश–
निर्वाचन क्षेत्रको अध्ययनपछि यथार्थ विवरण ल्याउँछौँ
–हर्कबहादुर नेम्वाङ ‘मिम्सो’, प्रदेश १ अध्यक्ष
स्थानीय तह चुनावमा प्रदेश १ मा १३७ सीटमध्ये १२ प्रमुख र २१ उपप्रमुख जितेका छौँ । यो यसअघिको चुनावभन्दा राम्रो नतिजा हो । चुनावी तालमेलमा काँग्रेससहित अरू दलले राम्रोसँग नसघाउँदा धेरै सीट जित्न सकेनौँ । पार्टीभित्र पनि अन्तरघात र उम्मेदवार छनोटमा राम्रो हुन नसकेपछि धेरै सीट आएन ।
२०७४ सालको चुनावमा प्रतिनिधिसभामा प्रदेशका कुल २८ सीटमध्ये ६ सीट जितेका थियौँ । प्रदेशसभातर्फ ५६ सीटमध्ये ११ सीट प्रत्यक्ष जितेका थियौँ । त्यतिबेला हामी तेस्रो शक्ति भएका थियौँ । अब काँग्रेससहित पाँच दलीय गठबन्धन हुँदा अवस्था के हुन्छ भन्ने विषयमा अध्ययन गर्न निर्वाचन क्षेत्रमा टोली खटाएका छौँ । उहाँहरूले स्थलगत रूपमा अवलोकन गरेर रिपोर्ट ल्याउनु हुनेछ । त्यसपछि यथार्थ रूपमा भन्न सकिन्छ ।
पार्टीलाई बलियो बनाउन चुनावी कार्यक्रम र गतिविधि नियमित जारी राखेका छौँ । पार्टीलाई चलायमान गरेका छौँ । एकल रूपमै यस प्रदेशमा ७÷८ क्षेत्रमा माओवादी कडा प्रतिस्पर्धी हुने देखिन्छ । गठबन्धन बनाउँदा अझ राम्रो नतिजा ल्याउन सकिन्छ । त्यसो हुँदा संसदको दोस्रो शक्ति हुन कुनै समस्या हुँदैन ।
मधेस प्रदेशबाटमात्रै माओवादीलाई दोस्रो बनाउन कठिन
–विश्वनाथ साह, मधेस प्रदेश सहइन्चार्ज
मधेस प्रदेशबाट मात्रै माओवादीलाई दोस्रो बनाउन कठिन छ । यहाँ काँग्रेस, एमाले, जसपा र लोसपा लगायत दलहरू भएकाले माओवादीलाई प्रतिस्पर्धामा उत्रिन गाह्रो छ । माओवादीले प्रत्यक्षमा राम्रो नतिजा ल्याए पनि समानुपातिक मतबाट एमालेले उछिन्न सक्छ भन्ने छ । समग्र रूपमा देशैभर गठबन्धन भयो भने माओवादी दोस्रो हुन सक्छ ।
मधेस प्रदेशमा हाम्रो पार्टीको कमिटी बन्न नसकेकाले कति सीट जित्न सकिन्छ भन्ने विवरण आइसकेको छैन । चुनावको मिति घोषणा भएपछि सीट स्पष्ट हुँदै जान्छ । अहिले केन्द्रबाटै अध्यक्ष प्रचण्ड कमरेडले हेरिराख्नु भएको छ । अब पोलिटब्यूरो र स्थायी समितिले पूर्णता पाएपछि प्रदेशले गति लिने छ । यस प्रदेशमा २०७४ सालको चुनावमा एमालेसँग गठबन्धन हुँदा कुल ३२ सीटमध्ये ५ सीटमात्रै माओवादीले प्रत्यक्षमा जितेको थियो । प्रदेशसभामा ११ सीट जिते पनि घटेर ८ सीटमा झरेको छ । गत वैशाख ३० गतेको चुनावमा माओवादी यस प्रदेशमा पाँचौँ दलमा पुगेको छ । स्थानीय तहको कुल १३६ सीटमा ९ सीटमात्रै जितेको थियो । यसअघिको स्थानीय चुनावभन्दा अहिले कमजोर भएपछि त्यसको असर प्रदेश र संघको चुनावमा पर्न सक्ने आकलन गरिएको छ ।
हामी दोस्रो हुँदा मात्रै गठबन्धन ठिक ढंगबाट अघि बढ्छ
–सरल सहयात्री पौडेल, बागमती प्रदेश अध्यक्ष
गठबन्धन गर्ने भएपछि एकले अर्कोलाई सहयोग गरेरै जाने हो । एकल रूपमा आ–आफ्नो स्थान छँदैछ । काँग्रेस पहिलो हुने देखिएकै छ । गठबन्धन नहुँदा माओवादी तेस्रो भइहाल्छ । काँग्रेस बैठकमा माओवादीले ७÷८ सीटभन्दा बढी जित्न सक्दैन भनेर छलफल भयो भन्ने सुनेको छु । त्यो विल्कुल सही होइन । हामी एकल रूपमा प्रतिस्पर्धा गर्दा तेस्रो त्यसै हुन्छौँ । तेस्रोबाट कसैले झार्न सक्दैन । गठबन्धन गरेर काँग्रेस पहिलो हुने र माओवादी तेस्रो हुने ठिक भएन । सीटमा थोरै तलमाथि होला । तर गठबन्धन गर्दा तेस्रो हुने हो भने किन तालमेल गर्ने ? त्यसैले हामी दोस्रो हुँदामात्रै गठबन्धन ठिक ढंगबाट अघि बढ्छ । नभए हामीले गठबन्धन गरेको औचित्य हुँदैन ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा काँग्रेसले राम्रोसँग नसघाउँदा माओवादी तेस्रो भयो । यदि काँग्रेसले राम्रोसँग सघाएको भए दोस्रो हुने थियौँ । अब गठबन्धन हुँदा दोस्रो हुनेगरी जाने भन्ने छ ।
२०७४ को निर्वाचनमा बागमती प्रदेशमा प्रतिनिधिसभामा कुल ३२ सीटमा एमालेसँग तालमेल गर्दा माओवादीले ६ सीट जितेको थियो । प्रदेशसभामा १५ सीट जितेको थियो । त्यतिबेला पनि माओवादी तेस्रो शक्ति थियो । गत वैशाख ३० गतेको स्थानीय चुनावमा कुल ११९ पालिकामध्ये २७ प्रमुख र ३० उपप्रमुख जितेको छ ।
विचारमा पहिलो छौँ, चुनावी अंकगणितमा दोस्रो हुन्छौँ
गुणाखर बस्याल, गण्डकी प्रदेश उपाध्यक्ष
हामी विचार र देशको एजेण्डामा पहिलो पार्टी हौँ । अब चुनावी अंकगणितमा संसदमा दोस्रो हुनेगरी काम गरिराखेका छौँ । एमालेलाई तेस्रो बनाएर कम्युनिस्टभित्रको पहिलो दल माओवादी बन्नेगरी काम भइराखेको छ । अध्यक्ष प्रचण्डको निर्देशन पनि त्यस्तै खालको छ ।
हामी पार्टी निर्माण र संगठन विस्तारमा प्रतिबद्ध भएर लागेका छौँ । गत स्थानीय चुनावपछि हामीले संगठनमा उल्लेख्य सुधार गरेका छौँ । २०७४ सालको स्थानीय चुनावमा प्रदेशभर कुल ८५ सीटमा ५ सीटमात्रै माओवादीले जितेको थियो । अहिले ११ पालिका जितेका छौँ । यसले पनि पार्टीको संगठन र जनमत बढेको छ । अब हुने प्रदेश र संघको चुनावमा गण्डकीमा माओवादी दोस्रो हुने पक्का छ । त्यसलाई एमालेले रोकेर रोकिँदैन ।
२०७४ सालमा एमाले–माओवादी गठबन्धनबाट माओवादीले ३ प्रतिनिधिसभा र १२ प्रदेशसभा सीट जितेको थियो । यो सङ्ख्यासमेत बढाएर जानेगरी काम गरेका छौँ ।
लुम्बिनीमा १० सीटभन्दा बढी दाबी गर्ने सोचेका छौँ
–सुदर्शन बराल, लुम्बिनी प्रदेश अध्यक्ष
अघिल्लो स्थानीय चुनावमा माओवादीले प्रदेशका कुल १०९ पालिकामध्ये १९ वटामा प्रमुख जितेको थियो । अहिले त्यो बढेर २५ पालिका पुगेको छ । एमालेले २७ पालिकामात्रै जितेको छ भने हामीले २५ जितेर एमालेकै हाराहारीको स्थितिमा पुगेका छौँ । वडा र सदस्यमा पनि एमालेकै हाराहारीमा छौँ ।
पछिल्लो समय पार्टी र जनवर्गीय संगठनलाई सक्रिय बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छौँ । टोपबहादुर रायमाझीसहित प्रदेशका २ सांसद एमालेमा गएका छन् । अहिलेको चुनावी परिणामले नेताहरू पार्टी छाडेर गए पनि कार्यकर्ता र जनता गएका रहेनछन् भन्ने पुष्टि भएको छ । बरु उल्टै कार्यकर्ता र जनताको समर्थन माओवादीप्रति बढ्ने क्रममा देखिएको छ । यो स्प्रिटलाई बढाउँदै लग्यौँ भने लेफ्टभित्रको पहिलो पार्टी हुने सम्भावना छ ।
प्रतिनिधिसभाको कुल २६ सीटमध्ये हामीले विगतमा ६ सीट जितेका छौँ । अबको निर्वाचनमा आधाजसो सीट दाबी गर्ने सोचेका छौँ । त्यसको मतलब अब १० सीटभन्दा बढी दाबी गर्ने तयारी गरेका छौँ । अघिल्लो चुनावमा प्रदेशको कुल ५२ सीटमध्ये १४ सीट जितेका थियौँ । अब प्रदेशसभामा २० सीट दाबी गर्ने सोचेका छौँ ।
कर्णालीमा पहिलो पार्टी बनाउनेगरी काम गर्दैछौँ
–विमला केसी, कर्णाली प्रदेश अध्यक्ष
हामी कर्णालीमा यसै दोस्रो छौँ । पहिलो बनाउने कोसिस छ । अब दोस्रो र तेस्रो भएको क्षेत्रलाई पहिलो बनाउन लागियो भने कर्णालीमा माओवादी पहिलो हुने सम्भावना छ । प्रदेशका नेतृत्वहरुलाई आ–आफ्नो क्षेत्रमा खटाएका छौँ । उहाँहरू निर्वाचन क्षेत्रमा खटिएर काम गरिराख्नु भएको छ । केन्द्रीय सदस्यहरूको कार्य विभाजन नहुँदा अन्योल जस्तो भएको छ । त्यसले गर्दा राम्रो काम गर्न पाएका छैनौँ । कर्णाली भौगोलिक रूपमा कठिन भएकाले भौतिक रूपमा उपस्थित हुन सकिँदैन । त्यसैले भर्चुअल रूपमा नियमित बैठक बसिराखेका छौँ । अब प्रदेशको बैठक बसेर अभियानकै रूपमा चुनावमा खटिने छौँ ।
२०७४ सालको चुनावमा माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रदेशका १२ सीटमध्ये ६ सीट जितेको थियो । प्रदेश सभामा २४ सीटमध्ये १३ जितेको थियो । गत वैशाख ३० गतेको स्थानीय चुनावमा कुल ७९ पालिकामध्ये प्रमुखमा २४ र उपप्रमुख २५ जितेको थियो ।
अघिल्लो चुनाव भन्दा राम्रो नतिजा ल्याएर देखाउँछौ
हरि चौधरी, सुदूरपश्चिम प्रदेश अध्यक्ष
यस प्रदेशमा प्रतिनिधिसभामा कुल १६ सीट हो । २०७४ सालको चुनावमा एमालेसँग गठबन्धन हुँदा माओवादीले तीन सीटमात्रै जितेको थियो । त्यसमध्ये अहिले बिना मगर मात्रै हुनुहुन्छ । लेखराज भट्ट र गौरीशंकर थारु एमालेमा प्रवेश गरिसक्नु भएको छ । प्रदेशसभाको ३२ सीटमध्ये माओवादीले १३ सीट जितेको थियो । त्यसमध्ये एक जना एमालेमा जानु भएको छ ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा कुल ८४ सीटमा १४ सीट जितेका छौँ । अघिल्लो स्थानीय तह चुनावमा माओवादीले १० सीटमात्रै जितेको थियो । त्यसो हुँदा अघिल्लो चुनावभन्दा यस पटक माओवादीले सुधार गरेको छ । लेखराजजीहरु एमालेमा गए पनि माओवादीमा खासै असर परेको देखिएन । मलाई लाग्छ, यसअघिको चुनावभन्दा यस पटक राम्रो नतिजा ल्याएर देखाउँछौँ ।
अर्को कुरा, सुदूरपश्चिमको हकमा नेताहरू जता भए पनि कार्यकर्ताहरू सबै माओवादी केन्द्रमै केन्द्रित भएका छन् । समग्रमा सुदूरपश्चिममा पार्टी संगठन सुधारको अवस्थामा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै