सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीद्वारा दुई पुस्तक सार्वजनिक

आइतबार, १५ साउन २०७९, २१ : ३३
आइतबार, १५ साउन २०७९

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले दुई पुस्तक सार्वजनिक गरेको छ । आइतबार हेटौडामा पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्रकाशित डिजिटल साक्षरता र उहिलेको पत्रकारिता नामक दुई पुस्तक सार्वजनिक गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक सार्वजनिक गर्दै मन्त्री खनालले रजिस्ट्रार कार्यालयले इतिहासलाई दस्तावेज गर्ने काम गर्नुको साथै आगामी भविष्यलाई पनि ध्यान दिएर पुस्तक तयार पारेको बताए । उनले डिजिटल साक्षरताले अहिलेको मार्ग प्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताए ।

यी दुवै पुस्तकले बागमती प्रदेश र आफनो मन्त्रालयको साख बढाएको मन्त्री खनालको भनाई छ । डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुग्ने मन्त्री खनालले बताए । 

उहिलेको पत्रकारिता पुस्तकमा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई  पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ । उक्त पुस्तक पत्रकारिता इतिहासको अभिलेख गरिएको सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए ।

उनले इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरुसँग हुन्छन् जसले आफनो जीवनको उर्वरशिल समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेको बताए ।

सत्तापक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना संकलन, प्रशोधन र सम्पादन गरेको अनुभव संगालेका जेष्ठ पत्रकार आफैमा जिउँदा इतिहास भएकाले जेष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण रहेको उनले बताए । 

प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारी तहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको उनको भनाई छ ।

त्यस्तै डिजिटल साक्षरता पुस्तकमा सूचना प्रविधिको आधारभूत ज्ञान हासिल गर्न चाहनेका लागि यस पुस्तक महत्वपूर्ण रहने सापकोटाले बताए । डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच , थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप