शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

आइतबार, १५ साउन २०७९, १४ : २९
आइतबार, १५ साउन २०७९

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए ।

महासंघका मानार्थ सदस्यसमेत रहेका संघीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन आएसँगै सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए ।
  
“निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेसालाई सम्मानित बनाउने दायित्व व्यवसायीको काँधमा आएको छ”, अध्यक्ष सिंहले भने । समृद्धिका सारथी निर्माण व्यवसायीबिना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनको भनाइ थियो । महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी)ले व्यवसायीलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए । 

महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीले नै राम्रो काम गरेको उनको दाबी थियो । महासंघका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्तले २५ लाखभन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुनसक्ने तर्क गरे । निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताए ।

 मुलुकमै निर्माण सामग्रीको उद्योग स्थापना गर्न व्यवसायीलाई उनले सुझाव दिए । कार्यक्रममा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीका समस्याबारे चर्चा गरेका थिए। महासंघको विधानबमोजिम एसोसिएट उपाध्यक्ष स्वतः एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधानअनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्यसमिति निर्विरोध चयन गरेको छ । सोअनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरिएको छ । 

सचिवद्वयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् । उपसचिव माधवप्रसाद आचार्य चयन भएका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाईं चयन भएको जनाइएको छ । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर  बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् । सल्लाहकारमा सोम प्रसाईं, विनोद भट्टराई र केशव त्वानावसु चयन भएको जनाइएको छ । भेलामा महासंघको कार्यसमितिमा एसोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप