सम्झना

जनगायक टुहुरेको सम्झना

person explore access_timeसाउन १५, २०७९ chat_bubble_outline0

जनगायक जेबी टुहुरे महायात्रामा निस्केको आगामी भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्म स्थान धरानमा यही दिन जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम हुँदैछ । नेपालका ख्याति प्राप्त स्रष्टाहरूको सम्मानसहित सोही दिन जेबी टुहुरेको सम्झनामा साङ्गीतिक उत्सव हुनेछ । उनै जनगायकको उच्च मूल्याङ्कन गर्न यी हरफहरू समर्पित छन् ।


हिमाल भन्दा अग्लो :



साम्यवादी साहित्यमा मृत्युलाई हेर्ने बेग्लै दृष्टिकोण छ । पहिलो मृत्यु हो हिमाल भन्दा गह्रुँगो र दोस्रो प्वाँखभन्दा हलुको । जसले जनताको मुक्तिको लागि जीवन अर्पण गर्छ उसको मृत्यु पहिलो मृत्यु हो । यस्तै मृत्युवरण गरेर गएको ०७८ भाद्र १० गते महायात्रामा निस्केका थिए । जनताका गायक जेबी टुहुरे यस्तो गीत गाउँदै :



मर्नै पर्छ एकदिन सबैले हामी पनि मर्छौँ
हामी मर्दा जनताको शीर उठाई मर्छौँ ।
आमा दिदीबैनी हो

 ‘चरी भरर’ पुस्तिकामा प्रकाशित एकदेव ज्ञवालीद्वारा लिखित ‘आमा दिदीबैनी हो’ बोलको गीतबाट जनपक्षीय सांस्कृतिक फाँटमा उदाएका टुहुरेले कहिल्यै विश्राम लिएनन् । किसान आन्दोलनको जागरण, महिला मुक्ति र जनमुक्तिका असङ्ख्य गीतहरू गाए । उनले गीतमात्र गाएनन् राजनैतिक आन्दोलनमा आफ्नो जीवन नै लगाए । तर उनलाई जीवन्त राख्ने यही आमा दिदी बैनी गीत नै भयो । टुहरे कै सङ्गीत रचना र गायकीमा आएको यो गीत एकदेव ज्ञवालीको कविता हो । तर, कवितालाई पनि उनले गीतमा ढाले । कविता गाउने विरालाकोटीका गायकमा पर्छन् जेबी । लाखौँ पटक उनले मात्र गाएको यो गीत कति पटक बज्यो, कति पटक सुनियो, कति पटक अरूले गाए त्यसको लेखाजोखा गर्न सकिन्न । यो गीतको मूल मर्मलाई नभाँची यो गीतको परिमार्जन, थपथाप गरेर यो गीतलाई जनपक्षीय सांस्कृतिक काव्य दर्शन बनाइएको छ । यो गीतलाई उजिल्याउन अर्का जनगायक रामेस श्रेष्ठ र टुहुरेले पहिलो मुखडा यो भाकामा थपे :

आफ्नै पौरख खान्छन्
आफ्नै सीपमा बाँच्छन्
दुःख कष्ट सहेर 
सृष्टि यिनले थाम्छन्
असल महान् महान् व्यक्तिहरू 
यिनैले जन्माउँछन्
ज्ञानगुन बुद्धिहरू 
यिनैले सिकाउँछन्
तर पनि अँधेरोमा 
जीवन बिताउँछन्

यो गीत सुनेर प्रगतिशील हुँदै वामपन्थी आन्दोलनमा हेलिएकाहरूको कथा सार खिच्न कठिन छ । पूर्वी नेपालको वस्तिहरूबाट गुन्जिएको यो गीतको शंखनादले नेपालको राष्ट्रिय राजनीतिलाई प्रगतिशील घुम्तीमा पुर्‍याउने सेतुको भूमिका खेल्यो भन्दा अन्यथा हुन्न । तर, यसलाई प्रगतिशील सांस्कृतिक दर्शनमा ढाल्न अर्को अन्तरा पनि थपियो । कवि बम देवानले थपेको यो गीतको अन्तिम अन्तरा यस्तो थियो तः

सामन्तीको कुचाल हो यो

भ्रष्ट रीति पुँजीको

बुझी सब ब्युँझ अब

ध्वस्त पार्न नारी बन्धन

दुःख अनि जीवनको

युगले आज भन्दछ

नारी पनि मान्छे हो

जाग उठ नारी हो

सिर्जनाको घाम बनेर ।

विश्राम नपाएको गीत :

यो गीत पहिलो पटक धरानको भूतपूर्व सैनिक विश्राम भवनमा टुहुरेले ०३३ सालमा गाएर सार्वजनिक गरेका थिए । कतिपय गीतहरू समयसँगै अप्रासङ्गिक हुन्छन् । तर विश्राम भवनबाट सार्वजनिक भएको यो गीतले कहिल्यै विश्राम पाएन । अझै कति दशक विश्राम नपाउने हो यकिन छैन । यस अर्थमा यो कालजयी भएको छ । यो गीत जत्तिको लोकप्रियता नेपाली साहित्यमा कुनै गीति साहित्यले आजसम्म पाएको छैन । सदियौँसम्म आमा दिदीबैनीक प्रसङ्ग आउँदा टुहुरे जीवित भएर हाम्रा आँखा अगाडि गाइरहेका नाचिरहेका हुनेछन् ।

मुठ्ठी भरलाई स्वर्ग :

हरेकको जीवनमा अन्तरङ्ग साथीहरू हुन्छन् । नेपालको प्रचलित चलनमा ‘मित’ भए जस्तै । टुहुरेको जीवनलाई उजिल्याउने सहयोद्धा मध्येका एक थिए, लव प्रधान । उनको टाइटल थियो ‘मित्र’ । तिनै मित्रले टुहुरेको व्यक्तिगत जीवनलाई मात्र भरथेग गरेनन् । टुहुरेको साङ्गीतिक यात्राको सारथि पनि बने । उनै मित्रले टुहुरेलाई यस्तो गीत रचना गरेर दिए :

वंशै हिँड्नेको ताँतीले

बस्नेको मन रुहाउँछ

लाखौंको लागि उजाड छ यो देश 

मुठ्ठी भरलाई त स्वर्गै छ ।

यो गीत रचनाले रूपमा टुहुरेको गायकीमा चाँरचाद मात्र लगाएन, सारमा यो गीतले नेपाली श्रमजीवी जनतामा जागरण पनि ल्यायो । गीतले मुट्ठीभर शोषक सामन्तको विरुद्धमा आम शोषित पीडितको पक्षमा जनवकालत गरेको छ ।

बुद्धले के भन्छन् ? 

महामानव सिद्धार्थ गौतम बुद्धले निरपेक्ष शान्तिको कुरा मात्र गरेका होइनन् । परिवर्तनसहितको शान्तिको कामना नै बुद्ध दर्शनको मर्म हो । परिवर्तन आफैंबाट सुरुवात गर्नु पर्छ भन्ने त बुद्ध दर्शनको प्रारम्भिक कार्यदिशा नै हो । यसैले बुद्धमा सामान्य चेतना आउनासाथ उनले राजपाट त्यागे । बुद्ध दर्शनको मूल्यमा खडेरी लागि रहेको बेला उनकै दर्शनमा आधारित सन्देश दिएर टुहुरेका अनन्य मित्र साहित्यकार बम देवानले यस्तो गीत लेखेर दिए :

छोराहरू हो, छोरीहरु हो

वीर छोरा छोरी हो

आमाले साथ माग्दछिन्

माटोले रगत माग्दछ

शान्तिका सन्तान हामी हौँ

बुद्धले ब्युँझ भन्दछ ।

सारङ्गीको तार :

नेपाली संगीतलाई उजिल्याउने प्रमुख वाद्यवादन सारङ्गी हो । सारङ्गीले नेपाली गीतसङ्गीतमा कति योगदान गरेको छ त्यसको मोल छैन । तर यस्तो वाद्यवादनलाई पनि जनताको हितमा प्रयोग गरेर स्रष्टाहरुले जनताको मुक्तिको सन्देश र सेवा गरेका छन् । माया पिरतीका रङ्ग न ढङ्गका गीत सङ्गीतमा अलमलिएको बाजालाई जनसमक्ष प्रयोगमा ल्याए । यस्तै एउटा गीत सम्भवतः स्व. कवि गोविन्द विकलले रचना गरे । शम्भु राईले सङ्गीत भरे र जेबी टुहुरेले गाए :

सारङ्गीको तार रेटी बनाएको धून

त्यै धुनमा रचेको गीत भाइबैनी हो सुन ।

 

संसारमा आएपछि जुझ्न जान्नु पर्छ 

बैरीसँग नडराई भिड्न जान्नु पर्छ

जुझ्ने आँट गर्नेहरूको जीत साथी हुन्छ

संसारमा वीरहरूको हात माथि हुन्छ ।

सोल्टेनीहरु छोड्दै :

सोल्टेनी कान्छी बजारै जाऊँ है

पुर्नेको छेकै पारी ।

टुहुरेले रेडियो नेपालमा गाउँ मेलामा पाउने सस्ता सोल्टेनीहरुलाई गीतमा सम्बोधन गरेका थिए । उनको सार्वजनिक गायकी यस्तै सस्ता सोल्टेनीको भाकाबाट सुरुवात भएको थियो । तर जब उनमा चेतना आयो सस्ता सोल्टेनीलाई चटक्कै छोडेर वीर छोरा छोरी र सिर्जनाका घाम आमा दिदीबैनीहरुको मुक्तिको सन्देश लिएर घुमे । कतिपय गायक चेत खुलेर पनि सोल्टेनी मै झुमिरहे । उनले भने महान् यात्राको पहिलो पाइला चाले । यो ०२७ सालको कुरा हो । कीर्तिपुरको अडिटोरियम हलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको गीति कार्यक्रममा सामन्तीलाई ललकार्दै एउटा गीत गाए :

किसानको मुटु छामेर हेर क्रान्तिको ज्वाला दन्केकै छ

मजदुरको मुटु छामेर हेर तातो रगत उम्लेकै छ

खेल न सम्झ सामन्ती हो भेल त यहाँ बग्दैछ

होसियार सामन्ती हो ......... ।

टुहुरेको प्रगतिशील पथको प्रस्थान बिन्दु यही गीतबाट भयो । त्यहाँदेखि उनले फर्केर पनि पछि हेरेनन् । अघिअघि गए । उनले छुटेका साथीहरूलाई पनि पर्खेनन् । 

नयाँ लहर हुँदै माओवादीसम्म :

धरानको नयाँ लहर साङ्गीतिक समूहबाट चेतनशील गीति यात्रामा लागेका टुहुरेले सङ्कल्प परिवार, जनसांस्कृतिक मञ्चमा रहेर प्रगतिवादी गीत सङ्गीतमा ठूलो योगदान दिएको विषय यो सानो लेखमा अभिलेख गर्न सम्भव छैन । माले एमालेको राजनीतिमा जीवन बिताएका टुहुरेको महायात्रा माओवादीको आँगनमा आएर टुङ्गियो । गीत सङ्गीतको मोर्चालाई सत्ता चढ्ने भर्‍याङमात्र बनाएको तत्कालीन एमालेको गुह्य थाहा पाएपछि दशकौँ बिताएको पार्टीलाई चटक्कै छाडेर माओवादीमा उनी समाहित भए । माओवादी पार्टीले दोस्रो संविधानसभाको सदस्य बनाएर टुहुरेको मूल्याङ्कन गर्‍यो । टुहुरेले बेलैमा यो निर्णय नगरेको भए एमालेको ‘गन्धर्व’ मात्र भएको भूमिकामा उनले मृत्युवरण गर्नु पर्दथ्यो ।

जन्म र राजनैतिक जीवन :

मनमोहन अधिकारी नेतृत्वको पूर्व कोशी प्रान्तीय कमिटीबाट बाम राजनीतिमा पाइला सारेका उनी ०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्य बने । कोओर्डिनेशन कमिटी, माले, एमाले हुँदै जीवनको अन्त्यमा पेरिसडाँडा पुगे । विसं २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका टुहुरेले नेपाली गीतसङ्गीतमा नयाँ योगदान दिए । तिन छोरी, एक छोरा र श्रीमतीसहितको परिवारलाई जनजीविकाको अनेक आरोह पार गर्दै बिरालोले बच्चा सारेजस्तै धरान, मधुमल्ला, विराटनगर हुँदै काठमाडौँमा विश्राम लिए । औपचारिक शिक्षा साढे तीन कक्षामात्र लिएका भए पनि उनमा अद्भूत क्षमता थियो । उनी प्राङ्गारिक गीत, सङ्गीत गायकीका प्राध्यापक हुन । यस्ता महान् उचाइका टुहुरेको क्षतिपूर्ति सम्भव छैन । जनगायकप्रति हार्दिक श्रद्धाञ्जली ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।