सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

किशोरी बेचबिखन गर्न खोज्नेलाई गाउँमै मिलापत्र गर्ने प्रयास

आइतबार, १५ साउन २०७९, ०७ : ००
आइतबार, १५ साउन २०७९

गत मङ्सिरको ९ गते कटहरी–७ की १६ वर्षीया किशोरी हराइन् । हराएको ७ महिनापछि असार १२ गते बालबालिका खोजतलास केन्द्रले भारतको पूर्णियाबाट उनलाई उद्धार गरेर ल्यायो । 

जब उनी गाउँमा आइन्, त्यसपछि कहाँ, कसले लगेको भन्ने विषयमा उनैसँग खोजीनिती भयो । किशोरीले आफ्नै छिमेकीले जोगवनी सम्म पुर्‍याएर पूर्णिया जाने अटो रिक्सामा हालेर पठाइदिएका रहेछन् । किशोरी हराएपछि जोगबनी लगेर पूर्णिया पठाउनेहरूले नै आमालाई किशोरी निकाल भन्दै दबाब दिए । गाउँमा समाज बोलाएर हत्याको आरोप लगाए । 

‘उनीहरुले किशोरीको आमालाई तैँले छोरीलाई मारेर कहाँ फालिस् भन् भन्दै दबाब दिएका थिए,’ छिमेकी कृष्णप्रसाद खतिवडाले भने, ‘गाउँको भेला बोलाएर समेत उनलाई दबाब दिइयो ।’

पछि खुलासा भयो कि किशोरी उनै दबाब दिनेहरूले नै बेचबिखन गर्ने उद्देश्यले भारत पठाएका रहेछन् । किशोरीलाई नेपाली भाषा बोल्न पनि आउँदैन । उनी विद्यालयसमेत जाँदिनन् । उनले भनिन्, ‘धाक धम्की दिएर मुख थुनेर लगे, हल्ला गरिस् भने मुन्टो बटारेर फालिदिन्छु भने, त्यसपछि मोटरसाइकलमा राखेर जोगवनीको पूर्णिया जाने अटोमा हालेर पठाइदिए । त्यसपछि के भयो अरू म भन्दिनँ,’ उनले भनिन् ।

आफूलाई अपहरण गर्ने कटहरी ७ का अन्दाजी ४५ वर्षीय शम्भु मुखिया, ३६ वर्षीया अमिरीकादेवी मुखिया र ४२ वर्षीय छोटेदेवी मुखिया रहेको उनले बताइन् । उनलाई शम्भु मुखियाले जोगवनीसम्म मोटरसाइकलमा हालेर पुर्‍याएका थिए । शम्भु अहिले विदेशमा रहेको बताइएको छ । 

उनीहरू तीनै जनाको विरुद्धमा किशोरीको आमाले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् । तर, प्रहरीले निवेदन दर्ता नगरी बसेको छ । शुक्रबार दिएको अपहरण वा शरीर बन्धन सम्बन्धी कसुरमा दिएको निवेदनमा आफ्नी छोरीलाई रातको समयमा पिसाब गर्न भनी घरदेखि बाहिर निस्केको समयमा ढुकेर अपहरण गरेको उल्लेख छ । 

‘पिसाब गर्न भनी घरदेखि बाहिर निस्की राखेको बखत बाटो ढुकी बसी राखेका रहेछन् । मेरी छोरी सो वारदात स्थानमा पुग्दा निज विपक्षीहरूले उक्त मेरी छोरीलाई च्याप्पै समाती बोल्न कराउन समेत नदिई निज छोरीलाई आफ्नो नियन्त्रणमा लिई मेरो घरदेखि नजिकै पश्चिम दक्षिणमा भएको जुडीखोला लगी मोटरसाइकलमा लिएर जान लाग्दा मेरी छोरीले हल्लाखल्ला गर्न खोज्दा निज विपक्षीहरूले बढ्ता बोलिस् कराइस् भने तिम्रो टाउको बटारी खोलामा फाल्दिन्छु भनी विभिन्न किसिमको डर त्रास देखाइ उक्त मेरी छोरीलाई बल प्रयोग गरी जबरजस्ती मोटरसाइकलमा राखी भारतको जोगबनीमा गएको एकजना अपरिचित मानिसको जिम्मा लगाई निज विपक्षीहरू सो स्थानबाट फर्की आफ्नो घरमा आएको,’ उनले निवेदनमा उल्लेख गरेकी छिन्, ‘मेरी छोरीलाई भारतीय अपरिचित मानिसको जिम्मा लगाई दिएको सो पछि उक्त मानिसहरूले अटो रिक्सामा हाली पूर्णिया लिएर गएको सो स्थानमा पुग्दा करिब २÷३ बजेको थियो होला ।’

निवेदनमा आफ्नो नाबालक छोरीलाई भारत बेचबिखन गर्ने उद्देश्यले भारत लगेको पनि उल्लेख छ । ‘आफ्नो नियन्त्रणमा लिई मानव बेचबिखन गर्ने उद्देश्यले भारतमा लिई गएको हुँदा उक्त विपक्षीहरूलाई पक्राउ गरी सो वारदातमा संलग्न रहेका अन्य मानिसहरू को–को हुन् सो समेत पत्ता लगाई उक्त मानिसहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १७ को दफा २११, २१२ को कसूरजनित कार्य गरेकाले ऐ. दफा २१३ र २१४ बमोजिम हदैसम्म सजाय गरी पाउन सादर अनुरोध छ,’ निवेदनमा उल्लेख छ । 

यता, जिल्ला प्रहरी कार्यालय मोरङले भने पीडितको निवेदन लिएको भए पनि दर्ता भने गरेको छैन । मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले निवेदन लिएको र प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘हामीले निवेदन लिएका छौँ । दर्ता गरेका छैनौँ । घटनाको विषय शङ्कास्पद भएको कारण वास्तविक कुरा के हो भनेर किशोरीलाई काउन्सिलिङमा पठाएका छौँ । काउन्सिलिङपछि किशोरीको बयान लिन्छौँ । त्यसपछि प्रक्रिया अगाडि बढ्छ,’ मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने । 

गाउँमै मिलापत्र गर्ने प्रयास

यसैबीच प्रहरीकै मिलेमतोमा किशोरी अपहरणको विषय मिलापत्र गराउने प्रयास भएको पाइएको छ । प्राप्त जानकारी अनुसार किशोरी फेला परेपछि जिल्ला प्रहरी कार्यालयमा अपहरणको निवेदन परेको थियो । तर, त्यसबेला पीडक भनिएका मुखिया परिवारले गल्ती भएकोले एक पटकलाई माफी दिनुपर्ने बताएका थिए । 

मुखिया परिवारको कुरा आएपछि समाजका अगुवाहरूले अब के गर्ने भनी पीडित परिवारलाई सोधेको थियो । तर, पीडित किशोरीको परिवार निम्न आर्थिक अवस्थाको रहेको कारण समाजले भनेको मान्ने बताए । त्यसपछि प्रहरी कार्यालयमा मिलापत्र गराउन समाजले दबाब दिएका थिए । 

तर, प्रहरीले शरीर बन्धक तथा अपहरणको निवेदनमा मिलापत्र नहुने बताएपछि प्रहरीकै सल्लाहमा उक्त निवेदन फिर्ता गरी झैझगडा तथा अभद्र व्यवहारको मुद्दा हाल्न लगाइयो र मिलापत्र गरिएको एक स्थानीय बताउँछन् । 

कारबाहीबाट उम्किएपछि पीडक पक्षले 'आफ्नो बेइज्जत गर्ने तेरो परिवार सकिदिन्छु, अर्को छोरी पनि अपहरण गर्छु' भन्दै पीडितलाई नै उल्टो धाक धम्की दिन थालेको स्थानीय बताउँछन् । ‘उसले अहिले मेरो मानहानि भयो, मानहानिको मुद्दा हाल्छु भन्दै हिँडिरहेको छ । फेरि बेपत्ता पारिदिन्छु भनेर धम्क्याएको पीडित बताउँछन्,’ स्थानीय खतिवडा बताउँछन् । त्यसपछि गाउँका सबै महिलाहरू भेला भएर पुनः निवेदन दिनुपर्ने दबाब दिएपछि जिल्ला प्रहरी कार्यालयमा उनीहरू आइपुगेका हुन् । प्रहरीले भने यसअघिको घटना मिलाउन आफ्नै अप्रत्यक्ष संलग्नता रहेको खुल्ने डरले निवेदन लिन नमानेको स्थानीयको आशङ्का छ । 

किशोरी बेचिनबाट यसरी जोगिइन् 

किशोरीले दिएको बयान अनुसार उनलाई अटोरिक्साले पूर्णियाको रेल्वे स्टेसनमा छोडेको थियो । दिउँसोको २÷३ बजेतिर स्टेसनमा पुर्‍याएर अटो फर्कियो तर, किशोरी भने अलपत्र परिन् । ‘सायद किशोरीलाई लिन आउने मान्छे झुक्कियो होला या सम्पर्क हुन सकेन होला,’ नाम नबताउने शर्तमा एक स्थानीय भन्छन् । त्यसअघि किशोरीलाई जोगबनीको अटोमा राखिदिएर पूर्णियामा मान्छे रिसिभ गर्न आउँछ भनेर फोन नम्बर दिइएको थियो । निवेदनमा भने किशोरीलाई लिन आएको अपरिचित मानिस प्रहरीलाई देखेर भागेको उल्लेख छ ।

कोही पनि लिन नआएपछि किशोरी आत्तिइन् र रुन थालिन् । किशोरी रोएको भारतीय प्रहरीले थाहा पाएपछि उनलाई सोधपुछ गर्‍यो । प्रहरीलाई किशोरीले सबै कुरा भनिन् । त्यसपछि भारतीय प्रहरीले किशोरीको उद्धारमा खटिएका भारतीय सामाजिक संस्थाका जिम्मा लगाइदियो । 

यता नेपालमा भने किशोरीको खोजीका लागि स्थानीयले प्रहरी चौकी कटहरी र जिल्ला प्रहरी कार्यालयमा पनि हुलिया दिइएका थिए । नेपालका बालबालिका सम्बन्धी काम गर्ने विभिन्न संस्थामा पनि निवेदन दिइयो । त्यसपछि प्रहरी र विभिन्न संस्थाको पहलमा चैतको २६ गते मान्छे भेट्टाएको खबर आएको थियो । त्यसपछि उनको उद्धार गरेर ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप