शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुनै बेला मस्कले होच्याएको बीवाईडीले अहिले उनकै टेस्लालाई उछिन्यो

आइतबार, १५ साउन २०७९, ०६ : २६
आइतबार, १५ साउन २०७९

एजेन्सी । यो महिना चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानमा उछिनेको छ । तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिममा भने कमै मानिसले मात्र सुनेका छन् । 

चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको बीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६,४१,००० वटा विशुद्ध विद्युतीय र हाइब्रिड(मिश्रित) सवारीसाधनहरू बेचेको भएता पनि चीन र एसियाका केही मुलुकबाहिर यसको पहिचान न्यून छ । जबकि यो वर्षको आधा वर्ष यसले आफ्नो निकटतम प्रतिद्वन्द्वी टेस्लाभन्दा ८०,००० बढी कार बेच्यो । 

तर बीवाईडीको टाङ पीएचईभी हाइब्रिडका कार चलाउने मालिक टोनी फुकोलाई भने शेन्जेनस्थित बीवाईडीको सफलता स्वाभाविक लाग्छ । ‘बीवाईडीको मूल्य टेस्लाको तुलनामा धेरै उचित रहेको छ । साथै यसका धेरै मोडलहरू पनि छन् । चिनियाँ घरेलु ब्रान्डहरूले धेरै विकल्प दिने भएकाले बीवाईडी टेस्लाभन्दा राम्रो बिकिरहेको छ ,’ सांघाईमा घर भएका फूले भने । 

वर्षौँदेखि चिनियाँ विद्युतीय सवारी–साधनको गुणस्तर र सुरक्षा प्रश्न उठ्दाउठ्दै पनि बीवाईडीको असाधारण वृद्धि भएको छ । बजारमा गइसकेपछि सवारी साधनमा विभिन्न समस्या देखिरहँदा पटक पटक चिनियाँ कम्पनीले बजारबाट तिनका वाहन फिर्ता भएको देखिन्थे । 

चिनियाँ सवारी साधनका सबैभन्दा ठूला आलोचकहरूमध्ये टेस्लाका सीईओ र सह–संस्थापक एलन मस्क नै एक थिए । सन् २०११ मा ब्लुमवर्गमा दिएको एक अन्तरवार्तामा मस्कले चिनियाँ वाहनलाई होच्याउँदै बोलेका थिए । ‘तिनको कार देख्नु भएको छ । मलाई त तिनले राम्रो उत्पादन गरेजस्तो लाग्दैन ,’ मस्कले भनेका थिए । 

एक दशक पछि, बीवाईडीले टेस्ला कारको बिक्रीलाई उछिनेको छ । अझ रोचक बीवाईडीको भावी प्रक्षेपण टेस्लाको भन्दा भएको बताइँदैछ । 

तथापि दुई कम्पनीले आफूहरुबीच एकदम तुलना गर्न नहुने बताउँछन् । किनभने टेस्लाका सबै मोडलहरू पूर्ण रूपमा विद्युतीय हुन् भने बीवाईडीका धेरै मोडेलहरू हाइब्रिड(मिश्रित) विद्युतीय छन् । 

बीवाईडीको बिक्री यो वर्षको आधा समयमा ३१५ प्रतिशतले बढ्यो भने टेस्लाको ४६ प्रतिशतले । बीवाईडीले बेचेका कूल कारमध्ये ९० प्रतिशतभन्दा बढी चीनमै बिक्री भएको पाइएको छ । चीनमा झण्डै ४८ करोड लाइसेन्सधारी चालक भएकाले उसले विस्तार गर्न सक्ने बजार ठूलो रहेको छ । 

बीवाईडीको आकर्षणको केन्द्रमा मुख्यतः यसको न्यून मूल्य रहेको छ । यसले उसका विदेशी प्रतिस्पर्धीको तुलनामा न्यून मूल्यमा कार दिइरहेको छ । उसले प्रयोग गर्ने कम शक्तिशाली तर सस्तो लिथियम आइरन फस्फेट ब्याट्रीहरूले कारको मूल्य थोरै राख्न सघाइरहेको छ । 

बीवाईडीको हान सेडानको खुद्रा मूल्य चीनमा लगभग ३२ हजार डलर छ, जुन टेस्लाको सस्तो मोडल वाईभन्दा झण्डै १८००० डलर कम हो । 

सांघाईस्थित रणनीति तथा लगानी परामर्शदाता फर्म अटोमोबिलिटीका संस्थापक र सीईओ बिल रुसोका अनुसार बीवाईडीले हासिल गरेको बिक्रीको कोसेढुङ्गामा कुनै आश्चर्य नभएको बताए । 

‘चीन विश्वकै ठूलो विद्युतीय वाहनको बजार हो । र बीवाईडी यहाँको प्रमुख खेलाडी बनेको छ । चीनमा विक्री हुने शीर्ष पाँच विद्युतीय वाहन मोडल बीवाईडीकै छन् । विद्युतीय वाहन अङ्गीकार गर्ने कुरामा चीनले विश्वको नेतृत्व गर्नेछन्,’ रुसले भने । 

विद्युतीय सवारी साधनको पावरहाउस भन्ने चीनको महत्त्वाकाङ्क्षाले पनि बीवाईडीको उदयलाई सहयोग गरेको छ ।

बेइजिङले कम उत्सर्जन हुने सवारी साधनहरू अपनाउन प्रोत्साहन गर्न उपभोक्तालाई अनुदान र कर छुट दिएको छ भने वाहन निर्माताहरुलाई कम्बसन इन्जिनको विकल्प खोज्न ब्याट्री र ईभी कम्पनीहरूमा अर्बौँ डलर खर्च गरिरहेको छ । 

मोटोरोलाजस्ता कम्पनीहरूको लागि मोबाइल फोन ब्याट्री निर्माताको रूपमा उत्कृष्ट काम गरेको बीवाईडीले सरकारी लगानीको प्रमुख लाभार्थीमध्ये एक बनेको थियो । 

सरकारी सहयोगले सन् २००० को दशकको उत्तरार्धमा बीवाईडीलाई विद्युतीय वाहनको निर्माणमा छलाङ मार्न सहयोग पुग्यो । उसले त्यसबेला सरकारी स्वामित्वमा रहेको कार निर्माता सिचुआनको अधिग्रहण गरेर पेट्रोलबाट चल्ने सवारी साधनहरूको प्रमुख खेलाडी बनिसकेको थियो । 

‘बीवाईडीले सरकारी अनुदान र प्रोत्साहनजनक नीतिहरूको पूर्ण फाइदा उठाएका छ,’ चाइना युरोप इन्टरनेशनल बिजनेस स्कूल अन्तरगतको सेन्टर फर अटोमोटिभ रिसर्चका पूर्व निर्देशक थोमस क्यारम्यानले भने । उनले आफ्नो अध्ययन अन्तरगत चीनको विद्युतीय वाहन उद्योगको अनुसन्धान गरेका छन् । 

‘केही सरकारी प्रतिनिधिहरूसँगको कुराकानीमा र बीवाईडीका व्यवस्थापनसँगको अन्तर्वार्ताका क्रममा चीन विश्वको प्रमुख विद्युतीय वाहन आपूर्तिकर्ता बन्न चाहेको कुरामा जोड दिन्थे । र बीवाईडीले सुरुदेखि नै यसमा अगाडि आउने मेहनत गर्‍यो,’ क्यारलम्यानले भने ।  

महामारीको समय शेन्झेनमा मुख्यालय हुँदा बीवाईडीलाई थप फाइदा भयो । चीनमा टेस्लाको फ्याक्ट्री रहेको सांघाईमा जति सेन्झेनमा त्यति कोरोना देखिएन । त्यसैले यो सहरमा सांघाईमा जति चर्को लकडाउन लागेन । ‘त्यसबाहेक बीवाईडीले आफ्नै पार्टपुर्जा आफैले उत्पादन गर्छ । यसले उत्पादन नगर्ने पार्टहरू पनि चिनियाँ आपूर्तिकर्ताहरूबाट सजिलै पाउन सकिन्छ,’ क्यालरम्यानले भने । टेस्लालगायत कम्पनी विश्वव्यापी आपूर्ति सङ्कटबाट अझै प्रभावित छन् ।  

तर अटोमोबिलिटीका संस्थापक रुसो भने बीवाईडीको उदयमा सरकारी सहयोग र अवस्थितिलाई मात्र देखाउनु गल्ती हुने मान्छन् । 

चिनियाँ व्यापारी वाङ चुआनफु

‘यो सही हो की चिनियाँ सरकारले ठूलो अनुदान नदिएको भए आज विद्युतीय वाहनको बजार नै हुने थिएन । तर म टेस्लाको बारेमा पनि उही कुरा भन्न सक्छु । यदि क्यालिफोर्निया सरकारले शून्य उत्सर्जन सवारी साधनहरूलाई भारी अनुदान नदिएको भए टेस्लाले आफ्नो अस्तित्वको पहिलो १० वर्षमा शून्य नाफा हुने थियो,’ उनले भने ।

‘विद्युतीय गाडीमा सबैभन्दा बढी लागतको पार्ट ब्याट्री हो । बीवाईडी सुरुमा ब्याट्री कम्पनीको रूपमा सुरु भएको थियो । त्यसपछि उसले विद्युतीय वाहन बनाउन थालेको हो । यसले गर्दा उसले आपूर्ति शृङ्खलामा ढुक्क हुने स्थिति बनेको छ । टेस्ला र बीवाईडी दुवैसँग एकीकृत ब्याट्री आपूर्ति शृङ्खला छ जसले तिनीहरूलाई प्रतिस्पर्धात्मक लाभ दिन्छ । जबकि अरू विद्युतीय कार निर्माताहरू ब्याट्रीको लागि एलजी, सामसुङ र बीवाइडीमै निर्भर छन् ,’ रुसोले भने । 

बीवाईडीको आगामी चुनौती विदेश अझ त्यसमा पनि पश्चिमी मुलुकमा प्रवेश गर्ने हुनेछ । संयुक्त राज्य अमेरिका, भारत र जापान लगायतका प्रमुख बजारहरूमा बीवाईडीले विद्युतीय बस बेच्दै आएको थियो । अब उसले कारमा ध्यान केन्द्रीत गर्ने लक्ष्य राखेको छ । 

अस्ट्रेलिया, सिङ्गापुर, नर्वे र नेदरल्याण्ड्समा प्रवेश गरेपछि अर्को वर्षबाट बीवाईडीले एट्टो ३, डल्फिन र सिल मोडलहरूका साथ वर्ष जापानी बजारमा प्रवेश गर्ने बताएको छ ।

अमेरिकामा यसले केही कठिनाइ भोग्न सक्छ । जस्तो अघिल्लो वर्षबाट अमेरिकाले चिनियाँ उत्पादकहरूमा उसको सरकारी लगानीलाई प्रतिबन्ध लगाएको छ । साथै कैयौँ अमेरिकीमा अझै पनि चिनियाँ ब्रान्डहरू अमेरिकी, युरोपेली वा जापानी समकक्षीभन्दा न्यून गुणस्तरको हुन्छ भन्ने मानसिकता छ । 

ब्याट्रीमा प्रयोग हुने मुख्य सामग्री लिथियमको सम्भावित अभावले समग्र विद्युतीय वाहन उद्योगलाई असर गर्ने बताइन्छ । यी चुनौतीका बाबजुद बीवाईडीको आकर्षक मूल्यका कारण विदेशमा पनि यसले राम्रो गर्ने रुसोलाई लाग्छ । 

‘यदि तपाईं किफायती विद्युतीय सवारी साधनहरू खोज्दै हुनुहुन्छ भने, आजको दिनमा त्यस्तो वाहन चीनमा मात्र फेला पार्न सकिन्छ । जबसम्म विश्वव्यापी उद्योगले विद्युतीय कारको उत्पादन बढाएर यसको मूल्य झर्दैन तबसम्म चिनियाँ वाहनको प्रतिस्पर्धात्मक क्षमता कायम रहेनछ ,’ रुसोले भने । 

अल–जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप