सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी दोश्रो नभए सहकार्य सहज नहुने काँग्रेसलाई प्रचण्डको चेतावनी

शनिबार, १४ साउन २०७९, १५ : ५६
शनिबार, १४ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनसम्म अहिलेकै गठबन्धन कायम हुने बताएका छन् । अध्यक्ष प्रचण्डले अब हुने चुनावी तालमेलमा स्थानीय तहको निर्वाचनमा भएको कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरे । शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए’ उनले भने, ‘प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरेर टिकट बाँड्न पाइन्छ ।’

अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा माओवादी काँग्रेसपछिको दोश्रो ठूलो पार्टी बन्ने दाबी समेत गरे । काँग्रेसले माओवादीलाई दोश्रो ठूलो पार्टी बनाउन सहयोग गर्नुपर्ने बताउँदै उनले  काँग्रेसका नेताहरुसँग यो विषयमा कुराकानी भैसकेको समेत खुलासा गरे । अगामी निर्वाचनमा सहयोग नगरे काँग्रेससँगको सहकार्य सहज नहुने चेतावनी समेत प्रचण्डले दिए । उनले भने, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ, मैले नेपाली काँग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज रुपमा अघि जाँदैन ।’

देशमा अब एउटा मात्रै माओवादी रहेको दावी गर्दै उनले स्थानीय चुनावबाट यो प्रमाणित भएको बताए । उनले भने, ‘स्थानीय चुनावबाट अरुको काम छैन भन्ने प्रमाणित भयो। किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, अब तिनको त हिसाब रहेन।’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचन नै आफ्नो अन्तिम कार्यकाल हुनसक्ने बताए । उनले स्थानीय निर्वाचनमा आफुहरुले आँकलन गरे अनुसारको नतिजा नआएको बताउँदै त्यही अनुभवका आधारमा निर्वाचनमा जाने बताए । उनले भने, ‘हामी त्यहीं अनुभव लिएर चुनावमा जाँदैछौ, त्यसैले देशको बागडोर हाम्रै हातमा आउँछ, हामीले अब एकचोटी देशको विकास, सुशासन र सम्बृद्धि यसरी भनेर देखाउनु छ’ उनले भने, ‘मलाई नै भन्नुहुन्छ भने आउँदो चुनाव मेरो लास्ट इनिङ्स हुनसक्छ । यो लास्ट इनिङ्सचाहि पछिसम्मको सन्ततिलाई सम्झिने गरी देशलाई केही दिने सपना मैले राखिराखेको छु ।’

उनले स्थानीय निर्वाचनमा  पार्टीले १७५ सिटको आकलन गर्दा पनि पहिले जितेका झण्डै ५० सिटलाई जोगाउन नसक्दा सोचेजस्तो परिणाम नआएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप