बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बीमावापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

शनिबार, १४ साउन २०७९, १० : २२
शनिबार, १४ साउन २०७९

सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमावापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् । 

बारा जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केरा खेतीमा आकर्षित छन् । ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरवाहीको कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बीमा गरेको भएता पनि त्यसको लाभ लिन नसकेको गुनासो बढ्न थालेको छ । 

निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बीमा कम्पनीका कर्मचारीहरु होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफू खुसी विवरण तयार गर्ने गरेको खुलेको छ, जसका कारण निजगढका पीडित केरा खेती गर्ने किसान चिन्तित बनेका छन । 

बारामा कृषि बीमाका लागि राष्ट्रिय बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर उक्त बीमा कम्पनीले किसानका पीडामा मलम लगाउने भन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ । इन्स्योरेन्सका शाखा प्रबन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुखेसो छ । ‘हामीलाई जानकारी नै नदिइ कर्मचारी आफुखुशी हाम्रो खेतबारीको विवरण संकलन गर्न आउने रहेछन् ।'

स्थानीय अगुवा किसान गोविन्द खरेलले भने धेरैको विवरण संकलन गर्न छुटेको छ र जसको विवरण लगिएको छ उनीहरुले समेत भुक्तानी पाएका छैनन् ।   उनका अनुसार कर्मचारीले बीमा गरेका निजगढका करिव २४२ किसान मध्ये ४०-५० जनाको मात्रै विवरण संकलन भएको र अन्य किसान प्रत्येक बर्ष मारमा पर्ने गरेका छन् । जसका कारण कृषि बीमाबाट  किसानले राहत महसुस गर्न सकेका छैनन् । 

बीमा कम्पनीको कर्मचारीको लापरवाहीको कारण आफूहरु पीडित हुनु परेको भन्दै किसानले गर्न वर्ष बीमा समितिमा समेत उजुरी दिएका थिए । सरकारको बीमा कार्यक्रम राम्रो भएपनि बीमा कम्पनीको कर्मचारी गैरजिम्मेवार भएका कारण किसान पीडित हुनुपरेको स्थानीयको भनाइ छ । 

गत वैशाख १६ गते र त्यस यता वर्षासँगको हुरीले केराको बोट ढालेर ९ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको छ । निजगढमा करिव १२ सय बिगा केरा खेती गरिएकोमा करिव १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा नष्ट गरेको किसानहरुले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए । 

निजगढमा केरा खेती गर्ने करिव ७ सय किसानमध्ये थोरैले मात्रै बीमा गरेको र बिमाबापतको रकम दिन समेत इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पौडेलले किसानलाई दुःख दिँदा समस्या बेहोर्नु परेको किसानहरुको गुनासो छ । गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप