जनवादी गायकको विडम्बना : गीत नेपाली माटोको, छायाङ्कन भारतमा
जनभावनालाई केन्द्रमा राखेर गीत सिर्जना गर्न सक्ने क्षमता भएका एक गायक हुन् जीवन शर्मा । आफ्नो सम्पूर्ण जीवन जनताका गीत गाउन चाहने उनले हालसम्म कति गीत सिर्जना गरे भन्ने यकिन हिसाबकिताब राखेका छैनन् ।
उनी भन्छन्, ‘मैले कति गीत लेखेँ, कति रेकर्ड भयो भन्नेबारे मलाई नै थाहा छैन । लेखेका सबै गीत रेकर्ड भएनन् । कति त दराज र ट्याङ्काको कुनातिर परिराखेका होलान् ।’ आफूले सिर्जना गरेका सबै गीतको मास्टर कपी पनि आफूसँग नरहेको उनको भनाइ छ । कयौँ गीतको मास्टर कपी तत्कालीन सत्ताधारीहरूले सेना लगाएर खोसेर नष्ट गरेको उनले बताए ।
मार्क्सवादी दर्शनमा आधारित विभिन्न पुस्तकले आफूमा मार्क्सवादी सौन्दर्यको चेतना जागृत गरेर जनवादी गीततर्फ आकर्षित भएको शर्मा बताउँछन् ।
जीवन शर्मा र जनवादी गीतसङ्गीत पर्यायवाचीजस्तै हुन् । उनले कयौँ रात ओडार, झुपडी र छाप्रामा बिताएका छन् । जनताका दुःख, पिर, मर्का बुझेका छन् । साहुको बारीमा काम गर्ने हली दाइ र भरिया दाइका पिर मर्कालाई टपक्क टिप्छन् र सङ्गीत भरेर भाका हाल्छन् ।
यिनैमध्येको एउटा चर्चित गीत हो– सिमली छायामा बसी..
२०३९ सालमा स्याङ्जामा रचना गरिएको यो गीत २०४३ मा मात्र रेकर्ड गरिएको थियो । यो गीतको छायाङ्कन (सुटिङ) भने भारतमा गर्नु परेको थियो । नेपाली जनताको पीडा बोलेको गीतको छायाङ्कन भने देशको भूगोलभित्र हुन नसक्नुको आफ्नै व्यथा छ ।
देशको अवस्थाको कारण उनको त्यो गीत नेपालमा छायाङ्कन हुने अवस्था देखिएन र भारत पसेको उनी बताउँछन् । उनी भन्छन्, ‘२०५८÷०५९ सालतिर नेपालमा बस्न सक्ने अवस्था नै रहेन । त्यस समयमा राजाको शासन झनै कडा भएको थियो । सेनाले भेट्यो भने मार्लान् जस्तो स्थिति बनेको थियो । जसले गर्दा हामी भूमिगत हुनु परेको थियो । पछि हामी भारत गयौँ र त्यहाँ नेपालको जस्तै भूगोल हेरेर गीतको छायाङ्कन गरिएको थियो ।’
शर्मा २०३९ सालमा काठमाडौँबाट घर (बागलुङ) जाँदै गर्दा बाटोमा देखिएको दृश्यलाई उनले गीतमा उतारेका थिए । पैदल यात्रा गर्दै घरतर्फ हिँड्दै गरेका उनले बाटोमा एक वृद्ध भरिया भेट्छन् । पूर्वतिरका राई थरका थिए ती भरिया । शर्माका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्याङ्जा आएर भारी बोक्ने काम गरेर जीविकोपार्जनमा जुटेका रहेछन् उनी ।
वृद्ध अनि उनले बोकेको बडेमानको भारी । एउटा चौतारीमा भारी बिसाएर बसिरहेका ती भरियाको अवस्था देखेर शर्माले भलाकुसारी गर्न थाले । कुराकानीको क्रममा उनलाई थाहा भयो कि, ती वृद्धको भारीभन्दा ठुलो त उनको जीवनको दुःख रहेछ । वृद्धको कुरा सुनेपछि पारिवारिक अवस्था, अनुहार सबै हेर्दा शर्माको मन छोयो ।
त्यसपछि शर्मालाई गीत फुरिहाल्यो । उनलाई गीत बनाउन केही चाहिँदैनथ्यो, मात्र पात्र र उनीहरूको पीडा नै काफी हुन्थ्यो । उनले त्यहीँ गीत रचना गरिहाले र भाका पनि तयार पारिहाले । शर्माले गीतलाई आफ्नो डायरीमा उतारे ।
उनले यसरी तयार पारेको ‘सिमली छायामा बसी’ बोलको गीत २०४३ सालतिर छाउनीस्थित रेकर्डिङ स्टुडियोमा रातभर बसेर रेकर्ड गरेका थिए । प्रहरी प्रशासनका गतिविधि बढेकाले पक्राउ पर्ने खतरा पनि उत्तिकै थियो । जुन गीत त्यो समयमा निकै चल्यो । अहिले पनि त्यो गीतले निकै चर्चा पाउने गरेको छ । उनका हरेक कार्यक्रममा दर्शकहरूले यो गीत ‘फर्माइस’ गर्छन् ।
तत्कालीन समयमा जनवादी गायक बन्न र जनताको गीत गाउन सहज थिएन । सत्ताधारीहरूबाट लुकेर यस्ता गीत गाउनु पर्थ्यो । गरिबका गीत गाउन भन्दै उनले २०४३ सालमा रक्तिम सांस्कृतिक अभियान सुरु गरेका थिए । ‘सिमली छायामा’ बोलको गीत पनि सोही अभियान अन्तर्गत नै निकालिएको थियो ।
रक्तिम सांस्कृतिक अभियानले सेना र प्रहरीबाट लुकेर पूर्व–पश्चिम, मेची–महाकाली पुगेर गरिवका गीत गाउने गर्थ्यो । २०४६ चैतमा बहुदल आयो । तर, पूर्ण रूपमा जनताको अधिकार स्थापित हुन सकेन । त्यस समयमा पनि उनीहरूले जनवादी गीत गाउन छोडेनन् ।
शर्मा निरन्तर जनवादी गीतिकर्ममा लागिरहे । २०५२ फागुनपछि माओवादीले सशस्त्र विद्रोह सुरु ग¥यो । त्यसपछि उनलाई गीत रेकर्ड गर्न झन् कठिन भयो । दिउँसो रेकर्ड गर्ने स्थिति थिएन । रातिको समयमा लुकेर गीत रेकर्डिङ गर्नुपर्थ्यो ।