बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लघुकथा : जाबो मास्टर

शनिबार, १४ साउन २०७९, ०९ : ४४
शनिबार, १४ साउन २०७९

विद्यालय जान आउन एक घण्टाको उकालो ओरालो गर्नुपथ्र्यो । बाटोमा विभिन्न विषयमा कुराकानी हुन्थे, यसले बाटो काट्न सहज हुन्थ्यो । कुरै कुरामा हामीले एकदिन समीको फेदमा बसेर आफ्ना भविष्यका योजना सुनायौँ । उसले डाक्टर बन्ने योजना सुनाई, मैले इन्जिनियरको । 

नम्रता हो उसको नाम । एकदम फरासिली, राम्री पनि उस्तै । एसएलसी पछि ऊ लागी काकाका साथमा काठमाडौं । म भने गाउँमै पढेँ । पढाइ त मेरो पनि राम्रो थियो तर सहरमा पढ्न जाने अवसर मिलेन । ऊसँग चिठीपत्रमा कुरा हुन्थ्यो । उच्च मावि तहको अध्ययनपछि ऊ लागिछ विदेश । 

एकदिन फोन गरी उसले । सोधी, ‘के गर्दैछौ हँ ?’ मैले भने, ‘मास्टरी गर्दैछु । पढ्दै, पढाउँदै छु ।’ 

दैनिक खर्च चलाउन पनि काम नगरी सुख थिएन मलाई । उसले व्यंग्य गरी, ‘इन्जिनियरको सपना देख्थ्यौ त, मास्टरीमा अल्झ्यौ ? के गर्छौ, जाबो मास्टरी गरेर ? भोलि परिवार कसरी पाल्छौ ?’ 

नेपालका सन्दर्भमा यो प्रश्न जायज थियो । जे होस्, आफू आज डाक्टर भएको पनि मास्टरले पढाएरै हो भन्ने उसले हेक्कै नगरी मज्जैले भनी । 

‘‘के गर्नु देखेका सपना सबै सकार नहुँदा रहेछन् । बाध्यता छ । जे होस् म खुसी नै छु” जवाफ दिएँ ।  समय बित्दै गयो ।  ऊसँग लामो समय सम्पर्क भएन । स्वाभिमानी पेसा म यसमै रमाएँ ।

डाक्टरी सकेर उसले बिहे गरिछ । श्रीमान् इन्जिनियर रे । बच्चा भर्ना गर्न आएकी उसले स्कुलमा भेटेर लजाउँदै भनी,‘‘ शिक्षक बिना त सबै सपना मर्छन् नि । मैले यो त हेक्कै गरेनछु । तिम्रो पेसाप्रति सम्मान छ । मेरो छोरालाई पनि मास्टर नै बनाउने हो । राम्ररी पढाइदेऊ है ।” 

ऊ छोरा भर्ना गरेर कारमा फर्किई । मैले केही नबोली एकोहोरो हेरिरहेँ ।  

तारकेश्वर गापा–१ दाङसिङ नुवाकोट, हालः पोखरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप