शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली क्रिकेटलाई टिक्ने प्रशिक्षकको खाँचो

को बन्दैछन् नयाँ प्रशिक्षक ?
शनिबार, १४ साउन २०७९, ०९ : ३८
शनिबार, १४ साउन २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक भएर आएका पुबुदु दशानायकेले गत साता राजीनामा दिए । नेपालसँग एक वर्षको सम्झौता गरेका उनले आफ्नो सम्झौता अवधि नसकिँदै राजीनामा दिएर गएका हुन् । पारिवारिक समस्या देखाएर राजीनामा दिएका पुबुदु सोही दिन नै क्यानडाको मुख्य प्रशिक्षकको रूपमा नियुक्त भए । 

यसअघि नेपालका लागि प्रशिक्षकको भूमिकामा आएर डेभ वाट्मोर पनि एक वर्षको सम्झौता पूरा नहुँदै पारिवारिक समस्या देखाएर भारतको क्लबमा गए ।  क्यानसँगको एक वर्षको सम्झौता गरेका उनले आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमान रहेको समयमा नै वाट्मोरले क्यानलाई इमेलमार्फत राजीनामा बुझाएका थिए । ओमान टुरबाट नेपाली क्रिकेट टोली घर फर्कियो तर, वाट्मोर भारतीय बरोडा क्रिकेट क्लबमा अनुबन्ध भए ।   लामो समय नेपाली क्रिकेटका लागि बिताउने बाचा गरेका वाट्मोरले जम्मा ८ महिना मात्र नेपाली क्रिकेटका लागि दिए । उनी २०७७ पुस २ मा एक वर्षका लागि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

वाट्मोर जानुअघि नै नेपालका लागि ओपनरको समस्या समाधान गरेका थिए । लामो समय देखि मुख्य समस्याको रहेको ब्याटिङ समस्या समाधान भयो । तर, वाट्मोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज जितेको थियो । नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको सिरिजमा सिरिजमा नेपालको प्रदर्शन सम्झन लायक थियो । 

यता पुबुदुले पनि ६ महिना मात्र नेपालको प्रशिक्षकत्व सम्हाले । २०७८ मङ्सिर २५ गते क्यानले पुबुदुलाई दोस्रो पटक प्रशिक्षकको जिम्मेवारी दियो । पहिलो पटक पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए । तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको थियो ।

नेपालले २०२२ को फेब्रुअरीमा टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेलेको थियो भने अन्तिम पटक पुबुदुको प्रशिक्षकत्वमा नेपालले स्कटल्यान्ड टुर खेल्यो । पारिवारिक समस्या देखाउँदै प्रशिक्षकको जिम्मेवारी छोड्दै गर्दा पुबुदुले नेपाली क्रिकेटमा एकता नभएको बताएका थिए । आफूले चाहेर पनि टिममा एकता ल्याउन नसकेको बताए । पुबुदुले टिममा एकता नभएका कारण नै टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छोड्नु परेको सन्देश दिए । 

पारिवारिक समस्या देखाएपछि प्रशिक्षकलाई रोक्न सकेनौँ ः क्यान 

नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर विनोद दासले प्रशिक्षकहरूले पारिवारिक समस्या देखाउँदा आफूहरूले उनीहरूलाई रोक्न नसकिने बताए । सबै प्रशिक्षकसँग क्यानले एक वर्षसम्मको सम्झौता गर्ने भएको र त्यसअघि नै प्रशिक्षकले पारिवारिक समस्या देखाउँदै जाने गरेको बताए । 

‘क्यानले प्रशिक्षकहरूसँग एक वर्षको सम्झौता गरेको हुन्छ । तर, प्रशिक्षकहरू एक वर्ष नपुग्दै पारिवारिक समस्या देखाएर जानु हुन्छ । मानवीयताको नाताले पनि हामीले रोक्न सक्दैनौँ,’ दासले रातोपाटीसँगको कुराकानीमा भने ।

दासले  पछि अन्य क्लबसँग सम्झौता भएको भएपनि क्यानसँग सम्झौता सकिँदा भने पारिवारिक समस्या देखाउने बताए । उनले अब क्यानले लामो समय टिक्ने प्रशिक्षकको विकल्प पनि खोजिरहेको बताए । तर, एक वर्षको सम्झौता हुने भएकाले ग्यारेन्टी लिन नसकिने उनले बताए । ‘लामो समय टिक्ने नै प्रशिक्षक खोजेको हो । एक वर्षको सम्झौता हुन्छ । उहाँहरू एक वर्षको सम्झौता नसकिँदै पारिवारिक समस्या देखाउँदै जानु हुन्छ,’ दासले भने । 

नयाँ प्रशिक्षकका लागि के गर्दैछ क्यान ? 

क्यानले पछिल्लो समय नयाँ प्रशिक्षकका लागि छलफल थालेको बताएका छ । पुबुदुसँगै प्रशिक्षकका लागि अन्तिम छनोटमा रहेका प्रशिक्षकलाई विकल्पको रूपमा हेरिएको क्यानका म्यानेजर विनोद दाशले बताए । ‘प्रशिक्षकको लागि छलफल भएको छ । हामीले पुबुदुसँगै अन्तिम छनोटमा राखेका पाँच जनाबाट विकल्प खोज्नेकी भन्ने भएको छ । छलफल जारी छ,’ दाशले भने । 

पुबुदु नियुक्ति गर्ने समयमा क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।  नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए । 

क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिएको थियो । 

दसानायकेलगायत मोन्टी देशाई, ग्रान्ट ब्राडवर्न, अशंखा गुरुसिंह र रुवान कल्पले प्रशिक्षकका लागि अन्तरवार्ता दिएका थिए ।  अब क्यानले मोन्टी देशाईलाई मुख्य लिस्टमा राखेको छ । देशाई वाट्मोर प्रशिक्षक नियुक्त हुँदा पनि छनोटको अन्तिम लिस्टमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप