शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

निबन्ध : फौजी कीराको हुलमा मानव कीरा !

शनिबार, १४ साउन २०७९, ०६ : ०८
शनिबार, १४ साउन २०७९

जीवन अध्याँरोमा अधमरो तालले घस्रिरहेछ । उज्यालोको उत्सव अलाप्न यस जुनीमा पाउँछु कि पाउन्न, सन्देहको घेराभित्र उभिएको छु । रातदिन हरक्षण हरपल उज्यालोकै उपासना गरिरहेछु । मेरो निख्लो उपासनाले माखो समेत मरेको होइन । अँध्यारोको कालो सुरुङतिर छिरिरहेको छ देश । 

देश चलाउने पुङमाङ नाविकहरु बेफिक्री नाङ्गो नाच र एक तमासामा आकण्ठ डुबेका छन् । जसलाई देशको दूरदराजमा उज्यालो पुर्‍याउने चाह भन्दा आफ्नै ह्याकुलो सेक्ने ध्याउन्नले वढी सताएको छ । नागरिकको नाङ्गो आङ छोप्ने तिर्सनाले भन्दा आफ्नै साँप्रो सेक्ने धुनले अलमस्त बनिरहेका छन् । यो देशले नजाने कति युगसम्म अँध्यारोमै बास बस्नुपर्ने हो, कुनै ठेगान छैन । यो देशले कति लामो समय पीडाको पोखरीमा पौडी खेलिरहनु पर्ने हो, कुनै ठेगान छैन । यो देशले कति वर्षसम्म अविकास र अवनतिको जहरकुण्डमा डुबिरहनु पर्ने हो, कुनै ठेगान छैन ।

चौतर्फी निराशाको बीचमा पनि आशाको थोरै ज्योति देख्न सक्ने मान्छे म । अँध्यारोको अनन्त कालो सुरङबीच पनि थोरै मधुरो उज्यालो रेखा ठम्याउने मान्छे म । तर, दिनदिनै विचलित बन्दो छु । इतिहासमा नायक ठानिएका मान्छेहरु स्खलित नायकमा परिणत भएको दृश्यले मनमा निराशाको बादल उठिरहेछ । क्षोभ र ग्लानीका काला धर्काहरु कोरिँदै गएका छन् । 

अभिशप्त देशको तस्वीरले विपनीमा ऐँठन गर्छ, सपनीमा ऐँठन गर्छ । कसैको रगतमा टेकेर सुनको थालीमा सत्ताको भुजा ज्यूनार गरिरहेको शासक, नाममा जनतन्त्र, जनवाद, प्रजातन्त्र, समाजवाद जे भनेपनि काला शासकको सनातनी बुर्जामा खुट्टा पसारिरहेको छ । द्रव्य–मोहमा डुबेको थुतुनो कुरा त गरिवकै गर्छ, कुरा त निमुखाकै गर्छ । तर, काम मालिक रिझाउनमा आशक्त छ । यस्तो विद्रुप विसंगत यथार्थ मेरो सामु लम्पसार छ, जसलाई भुलेर म राम्रोसित निदाउन सक्तिन । जसलाई बिर्सेर म समृद्धि सोच्न सक्तिन । 

देशको समृद्धि पोली खाने भष्मासुर नेतृत्वले देशलाई काँक्रो जस्तो चिरा हानेर अर्कालाई सुम्पिन लागेको गन्ध आइरहेछ । कति अभिशप्त छौँ हामी । कति पराधिन छौँ हामी । आज नायक कसैको गोटी बनिरहेछ । देशको भँडार खनेर अर्काको आँगन पुरिरहेछ । महमा टाँसिएको माखो जस्तो सत्ताको लिसोमा टाँसिन पाउने शर्तमा जे गर्नपनि तयार छ पुङमाङ नायक । 

सुनेको छु घाटमा बसेर मुर्दा पोल्ने व्यक्तिलाई सहरमा महामारी फैलिँदा औधी जाती लाग्छ अरे । यो कुरा कति सत्य हो थाहा छैन । मुर्दा पोल्ने व्यवसाय त्यतिखेर फस्टाउँछ, जतिखेर सहरमा गाउँमा भकाभक मान्छेहरु मर्छन् । महामारी आएर मान्छे सोहोरो मर्न थालेपछि मुर्दा पोली खानेहरुलाई खुशीको एक उत्सवले घेर्छ । 

देशमा जति महामारी फैल्याउन सक्यो, त्यति नाफाको व्यापार गर्ने नाफाखोर व्यापारीको हातमा छ देश । भूकम्प जान्छ, राहतको नाममा करौडौँको घोटाला हुन्छ । हरेक प्राकृतिक प्रकोपको वहानामा अकुत कमाउने कमिशनको गोरखधन्दा चल्छ यहाँ । 

कोरोनाको कालो कहरले समाजलाई उठ्नै नसक्ने गरी थला पार्छ । यो बेला कमिसनखोर, दलाल, विचौलिया र कालो व्यापार गर्नेलाई फलिफापको सुनौलो याम सुरु हुन्छ । सत्ताधीशको अकुत कमाउने बाटो खुल्छ । हरेक प्राकृतिक प्रकोपलाई वहाना बनाएर धनार्जन गर्ने धनकुवेरहरुको खाँचो छैन यहाँ । 

औषधिमा कमिसन, माक्समा कमिसन, सावुन सेनिटाइजरमा कमिसन, पिपिआरमा कमिसन, आइसोलेशन सेन्टर बनाउने नाममा भ्रष्टाचार, क्वारेन्टाइनमा भ्रष्टाचार । यसरी अखण्ड कमिसन र भ्रष्टाचारको दलदलमा फाँसिरहेछ देश । यो गोर्खे मुलुकमा गोर्खे शासक छन् । गोर्खे शासनमा लुटतन्त्रकै गोरखधन्दा फस्टाउँदो छ ।

हिजो देशमा गृहयुद्ध चलिरहँदा पनि युद्धको नाममा अकुत द्रव्य आर्जन गरे युद्ध सरदारहरुले । गोलीगठ्ठा र बारुद खरिदको नाममा खाए । आक्रमणको नाममा खाए । प्रत्याक्रमणको नाममा खाए । घाइतेको नाममा खाए । मृतकको नाममा खाए । लालाबाला टुहुरा टुहुरीको नाममा खाए । अपाङ्ग असहाय र निराश्रित जनको नाममा पनि कुम्ल्याए । हरवखत कुम्ल्याउनुको चंगुलमा कैदी बन्यो देश । राष्ट्रको कलेजो लुछी लुछी भुटुवा बनाए । जनताको रगत पसिना र आँसुमा सेकुवा, पकुवा र कवाफ उसिने । हुँदा हुँदा कात्रोमा कमिसन खानेपनि देखिए । हात धुने सावुनमा भ्रष्टाचार गर्नेपनि देखिए । तीन सयको तन्नालाई तीन हजारमा खरिद गरेको विल बनाइ पैसाले गोजा भर्ने नेतृत्वपनि उदाङ्गिए ।

लोकतन्त्र नामको थोरै उज्यालोपनि चाटाचाट गर्न तँछाड मछाड गरिरहेको छन् सलहका झुण्डहरु । गणतन्त्रको अलिकति उज्यालो दमपच पार्न अनेकन हर्कत देखाउँदैछन् । प्रकृतिमा बेलाबेलामा सलहका हुल आउँछन् । सलहले वालीविरुवा सखाप पार्दछ । किसानको अन्नवाली रातारात समाप्त पार्दछ । मानव मुहारका सलहले मुलुक आक्रान्त पारेको ताजा दृश्य देखिँदैछ । जुन वाद, जुन तन्त्र र जुन सिद्धान्तको शासन आएपनि खाने मुख र भर्ने पेट एउटै लिएर आएपछि मुलुकले त्राण कहिले पाउँछ ? लुटतन्त्रको चङ्गुलबाट विश्रान्ति कहिले मिल्छ ? 

एकचोटि कोरोनाको लहर सँगसँगै फौजी कीराको हुलपनि दक्षिण भारतबाटै नेपालको सरहदभित्र प्रवेश गर्‍यो । यसलाई सञ्चार माध्यमले नाम दिए, अमेरिकन फौजी कीरा । यो कीराको हुल आकाश ढाकेर आयो । धर्ती छोपेर आयो । मकैवालीमा पसेपछि केही घण्टामै मकै स्वाहा । धानवाली, गहुँवालीमा पसेपछि बाला, पात र डाँठै चिरिप् पारिदियो । 

प्रकृतिका फौजी कीरा त केही दिनमा यहाँको चिसो हावापानीको चपेटामा परी सोत्राम भए । तर, मानव भेषका फौजी कीराहरु भने हराउने विलाउने कुनै छेकछन्द छैन । यहाँको पर्यावरण त यिनका लागि यति फलिफापतुल्य छ । यिनलाई के गर्मी, के शितकाल देशको हरियो परियो हुरेल्न कुनै बाधा अवरोध छैन । खेतवारीको अन्नबाली सक्यो, फौजी कीराको हुलले मुलुकको राजस्व ढुकुटी सके मानव मुहारका फौजी कीराको जमातले । लौ न यिनलाई मार्न वेहोस पार्न कुनै विषादी किटनाशक औषधि छ भने छर्किन सुरु गरौँ । 

उहिल्यै कृष्णलाल अधिकारी बाजेले ‘मकैको खेती’ पुस्तक लेखेथे । राणाकालीन युगको जण्ड शासक चन्द्रशमशेरको समयमा किसानलाई मकैको खेती सिकाउन लेखिएको व्यवसायिक ग्रन्थ थियो यो । यस किताबमा उनले मकैको बोटलाई रातो टाउके कीरा र कालो टाउके कीराले खाने खतरा हुन्छ भनेर लेखे । साथै बाँदर तस्करले पनि मकै खेतीलाई विमाख पार्न सक्छ भनी औँल्याए । चन्द्रशम्शेर रातो टोपी लाउँथे अरे । चाकरहरुले उनको कानमा भरिदिए– मकै खेती विमाख गर्ने रातो टाउके कीरा भनेर त तपाईंलाई पो लेखेको हो । यसले घुमाउरो गरी तपाईंलाई व्यङ्ग्य गरेको छ । तपाईंको घोर मानमर्दन भएको छ । 

चाकरहरुले कानमा यति भरीदिएपछि  पुग्यो श्री ३ महाराजलाई । तुरुन्तै सिपाही लाएर पक्राउ गरी जेलचालन गरियो  लेखक कृष्णलाल अधिकारीलाई । पुस्तक जफत गरी सबै किताब जलाइयो । जेलमा पनि कठोर यातना दिइयो । भनिन्छ, कैयौँ वर्ष भुटेका मकै मात्र खान दिइयो । आखिर जेलमै मरे । लेखन जगतको इतिहासमा पहिलो सहिद भए उनी ।

राणाकालीन समयदेखि नै कीराले बाली सखाप पार्ने परिपाटी चालु रहेको देशमा अहिलेपनि रातोटाउके कीरा, कालो टाउके कीरा, सलह कीरा, फौजी कीरा अनेकाँै प्रजातिका कीराहरुले लोकतन्त्रका पात र हाँगापनि चपाइरहेका छन् । गणतन्त्रको टुप्पो डाँढपनि मर्काइरहेका छन् । संघीयताको वीउपनि चपाइरहेका छन् । उनै रातो टाउके चन्द्रशमशेरका नयाँ संस्करणका कीराले देशको वागवानीभित्र छानी छानी मुनामञ्जरीका कलिला पात लुछिरहेछन् । 

भर्खरमात्र कर्णाली प्रदेशको सभामुखले दुई करोडको गाडी किनेर भोग, रोग र अशिक्षाले डल्लो परेका जनतामाथि तमासा गर्‍यो भनेर छापाहरुमा समाचार आयो । उसै त कर्णाली भौगोलिक रुपले पनि विकट छ । आर्थिक रुपमा पनि पिछाडिएको अवस्थामा छ । चेतनाको हिसावले पनि पछाडि नै छ । यहाँका जनतालाई वाह्रैमास खाद्यान्नको संकट हुने कुरा मिडियामा सधैँ देख्न, पढ्न पाइन्छ । तर, यही प्रदेशको सभामुखले जनताको रगत पसिनाबाट जम्मा भएको राजस्वले दुई करोडको गाडी किन्यो । कति ठूलो विरोधाभास छ ।

कर्णाली प्रदेशको सभामुखलाई गाडी आवश्यक चिज होला । त्यो पनि ठिकै छ । तर, महँगो मूल्यको विलासी गाडी नै किन किन्नु परेको होला ? त्यो पनि दुःखी गरिब विपन्नको मुक्ति ल्याउँछु भन्ने साम्यवादी दर्शनको नेताले ठाउँ भेट्ने वित्तिकै देशको राजस्वमा यसरी फोहोरी नङ्ग्रा गाड्नु कति शोभनीय भयो होला । 

त्यही समयमा खान नपाएर मुगुमा मान्छे मर्‍यो । जाजरकोटमा झाडापखाला लाग्दा स्लाइन पानी नपाएर विमारीको ज्यान गयो । कर्णालीमा जनताले सुलभ ढंगले सिटामोलको चक्की पाउन सकेनन् । नेताहरु भने राष्ट्रको ढिकुटीबाट पैसा खम्टिदै महँगो उपचारको लागि विदेश उडेका उड्यै छन् । छिः कति विद्रुप दृश्य देखिँदैछ यहाँ । नेताको जीउज्यान जसरी भएपनि महँगो उपचार गरेर बचाउनु पर्ने सर्वसाधारणको जिउ ज्यान चैँ केहीपनि होइन । उनीहरुले चैँ कुकुर मराइ मर्नुपर्ने ? कस्तो विवेक हराएको देश । कस्तो न्याय र नैतिकता हराएको देश ।

यही बेला त्यहीँबाट अर्काे समाचार भाइरल भएर आयो– दैलेखमा व्यवस्थित रुपको क्वारेन्टाइनको अभावमा कोरोना पीडितहरु भैँसी गोठमा छन् । पीडित जनता भैँसी गोठमा, नेता महोदय दुई करोडको सवारी साधनमा धन्य तिम्रो साम्यवादी दर्शन । चपाउने दाँत र देखाउने दाँत अलग अलग भएपछि कसको के लाग्छ ?

उल्का उल्काका खबर सुन्न पाइन्छ यहाँ । मन्त्रीको भुँडी घटाउन र बोसो फार्न मन्त्री क्वाटरभित्रै बयासी लाखको जिमखाना तयार हुँदैछ अरे । एकातिर जनता अघाउँजी भात खान नपाएर सुकेनासले पीडित छ । मन्त्रीलाई भने भुँडीमा बोसो थुप्रिएर समस्या भैसक्यो । उनीहरुको शारीरिक चुस्ती तन्दुरुस्तीको लागि महँगो मूल्यमा जिमखाना बन्दैछ । 

राष्ट्रपति कार्यालयमा तीन वर्ष अघि मात्रै बिच्छ्याएको नयाँ गलैँचा फालेर करोड करोडका गलैँचा हालियो अरे । लोकतन्त्रमा मिडियाले छिसिक्क कुनैपनि कुरा गुपचुप गोप्य रहन दिन्न । विकृतिजन्य घटना र समाचारलाई छिन मिनेटमा जनताको कान कानमा पुर्‍याइ दिन्छ । आँखा आँखामा घुसाइ दिन्छ । यसबाट आलोचनात्मक चेतको विकास भैरहेको छ । जनता सचेत, चनाखो र संवेदनशील हुँदैछन् । 

भर्खरै मधेसमा मलहर सदा भोकले मर्‍यो । बन्दाबन्दीको कठिन समयमा उसको काम खोसियो । माम खोसियो । दशनंग्री खियाएर विहान बेलुकीको छाक जुटाउने सदा खान नपाएरै मर्‍यो भन्दा करोडका गलैँचा टेकेर हिँड्नेप्रति, करोडका गाडीमा सवारी चलाउनेप्रति जनमनमा घृणाको लेदो सुसाएर आउँछ ।

 भोट दिने जनता तन्नम तुम्भी हालतमा छ । विपन्नताको पनि सीमान्त विन्दुमा मुस्किलले सास फेरिरहेको छ । भोट पाउने नेता भने विलास र समृद्धिको उपरी शिखरमा आरोहित छ । फेरि ऊ सत्तामा उक्लेपछि उसका विवेक चक्षु ट्याप्पै टालिन्छन् । उसले हिजो आपूmले टेकेको माटो भुल्दछ । हिजो आफू यात्रा गरेको बाटो र वाचा भुल्दछ ।

सीमान्तकृत जनताको घरमा गतिलो गुन्द्री छैन । गुन्द्री भएपनि गुन्द्रीमाथि ओछ्याउने काम्लो छैन । सत्रन्जी छैन । अनि शासक हिँड्ने बाटोमा करोडको मखमली गलैँचा । दृश्य आफैँमा विरोधभासी छ । आफ्ना जनतालाई दिनुपर्ने सुखसुविधा दिएर आफूपनि विलासी सुखमा रमेको भए त्यो सुहाउँदो पुग्दो कुरा हुन्थ्यो । सत्तासीन नेतृत्व वर्गको चेत कति चाँडो विग्रिन्छ ? अनुमान गर्नै सकिँदैन । युग युगदेखि मलर सदाहरु भोकले मरिरहेका छन् । यहाँका महाराजाहरु हिजोका पुराना महाराजा पनि पर्छन्, गणतान्त्रिक युगका नव–महाराजा पनि पर्छन् । यी सबै रुप र रंगका महाराजाहरु मखमली गलैँचा टेकेर सुनको थालीमा भुजा खाइरहेका छन् ।

जसले जे भनेपनि किसानको मकैवाली पनि फौजी कीराले नै सखाप पारेको छ । मुलुकको मकैबारी पनि सोत्तर बनाउने फौजी कीरा नै हुन् । यी दुवै खालका फौजी कीराको रुप, गुण, चरित्र ठ्याक्कै मिल्दछ । एउटा नमिल्ने चिज भनेको यिनको शारीरिक संरचना हो । एउटा झुसिलो कीराको लम्वाइको खुम्ले कीरोजस्तो खैरो रंग हुन्छ भने अर्काे नर–देहधारी रुपमा प्रकट हुन्छ ।

फौजी कीरा खानको लागि एकै रातमा एक सय किलोमिटरसम्म वायूवेगी रफ्तारमा यात्रा गर्छ । अर्थात् यसको उद्भव सुरुमा अमेरिका भएको हो । अमेरिकाबाट अफ्रिका, अफ्रिकाबाट पाकिस्तान, भारत हुँदै नेपालको ओखलढुंगा मानेभञ्ज्याङ्गदेखि पाँचथरसम्म आइपुग्यो । उच्च वेगको हावासँग हुँइकिन सक्ने यसको विपुल क्षमता छ । र, दिनमा भन्दा रातको निविड अन्धकारमा सक्रिय रहन्छ यो ।

मानव देहमा नेपाल मण्डलमा उत्रेका फौजी कीराहरु पनि एकल रुपमा मकैबारी सखाप पार्दैनन् । यिनीहरु पनि एक एकओटा झुण्ड बनाएर, एक एकओटा दल र जमात बनाएर मुलुकको मकैवारी सोत्तर पारिरहेका छन् । फौजी तवरले राष्ट्र लुट्ने भएकोले यिनलाई पनि मानव चेहेरा भिरेका फौजी कीराको कोटीमा दर्ज गरेको हुँ । यिनीहरु पनि दिनमा भन्दा रातको चकमन्न सन्नाटामा अर्थात् जनता भुतुक्क गलेर मस्मिन्द सुतेको मौका छोपी खाने कमाउने काम रातको अँध्यारोमै सम्पन्न गर्दछन् । उज्यालोमा त साखुल्य पल्टिन्छन् । साधु बन्दछन् र रामनामी ओढ्छन् । अझ भेटे भने घण्टी बजाएर पूजापाठ पनि गर्दछन् । दिनमा साधुता देखाउने र रातमा आफ्नो खन्चुवा भेषमा मकैवालीमा उडान भर्ने यिनको सनातनी स्वभावै हो ।

जसरी प्रकृतिको फौजी कीरो मकैको गुबोबाट भित्र छिर्छ र पहिले गुबो सिध्याउँछ । अनि डाँढ चपाउँछ । डाँठ सिध्याएर माटो मुनिका जरा समेत सखाप पारी अर्काे जग्गातिर उडान भर्छ । मकैको पनि गुबो, पात, धानचमर, डाँठ, घोगा, जुँगा खोस्टा, जरा कुनैपनि चिज बाँकी नराखी गु बनाउँछ । मानव रुपका फौजी कीराले पनि खान हुने, खान नहुने सबै सबै चिजको जरापात हाँगाविगाँको चिनोवानो नराखी सोत्तर बनाइदिन्छ । अर्थात् केन्द्र भागमा रहेका फौजी कीरा शिरोभागबाट गुबो दार्छन् । बीचका फौजी कीरा प्रदेश प्रान्तको डाँठ चपाउँछन् । तलका फौजी कीरा स्थानीय तहको जरो चपाउँछन् । जसरी प्रकृतिको फौजी कीराले विरुवाको तीन भागलाई आक्रमण गर्दछ । मानव रुपका फौजी कीराले पनि मकैको बोटलाई तीनै ठाउँबाट चपाइरहेका छन् ।

अनेकन अनुसन्धान गर्दापनि फौजी कीराको विरुद्धमा कुनै विषादीले काम गर्न सकेको छैन । घरेलु खरानी र सूर्तीको झोल लाउँदापनि यो छोइ खान मान्दैन । विषादी छर्किदा पनि यसलाई निमूर्ल गर्न सकिन्न । बरु यसले नेपियर घाँस मन पराउने भएकोले मकैवाली छेउमा नेपियर घाँस लाएर त्यसमा अगाडि नै कडा विषादी छर्किदियो भने नेपियर घाँस चपाउँदा विषको असरले मर्ने विधि कृषि वैज्ञानिकले निकालेका छन् । 

यता मानव रुपमा नेपाल मण्डलमा अवतरित फौजी कीरालाई पनि कुनैपनि प्रकारको विषादीले छुन सकेको छैन । न त अख्तियारमा प्राविधिकले, न त सिविआई, न त सम्पत्ति शुद्धिकरण विभागका चिकित्सकले यिनलाई बेहोस पार्ने र घुत्रुक घुत्रुक लडाउन सक्ने औषधी निकाल्न सके । यो अचम्मको विषय छ । खरानी र काँचोपात त यिनका सामु लग्दै नलगे हुन्छ । खरानीबाट त लट्टिनु अगाडि नै विगुत बनाएर निधारमा दल्छन् । काँचोपातलाई भोर्लाको पातमा बेरेर धुँवा बुङबुङ उडाइ दिन्छन् । त्यसैले खरानीको धुलो, काँचोपातको झोलले र गाईको पिसाबले नलट्टिने जातका फौजी कीरा हुन् यी ।

अचम्मको खन्चुवापन छ यी फौजी कीराको । यिनले एकै रातमा सयाँै हेक्टरको मकैवाली ध्वस्त पार्छन् । मकैका बोट भेटेनन् भने बन्दा, बदाम, आलु, गोलभेँडा, प्याज, भटमास र चुकुन्दरको बीउसम्म छोड्दैनन् । यताका मानवरुपी फौजी कीरा पनि सामुन्नेमा जे चिज आयो, त्यही चिज उदरस्त गर्न माहिर छन् ।

अनेक उपाय गर्दा पनि फौजी कीराको प्रकोप रोक्न नसकेर किटनाशक औषधिविज्ञ वैज्ञानिकहरु समेत आजित आजित छन् अरे । पछिल्लो समय विषादी र औषधि प्रयोगको सिलसिला नाकाम बनेपछि खुमलटारको नार्कले बारुला जातका सिकारी कीराहरुको उत्पादन गरेर फौजी कीरालाई तह लाउने योजना बनाएको कुरा मिडियाहरुमा पढँे । क्यावात ! नार्कका वैज्ञानिकहरुको बुद्धिको ताछिल्यतालाई सलाम गर्नैपर्छ । फौजी कीराको हुललाई बारुलो बच्छ्यूले भेट्यो भनी चटनी अवश्य बनाउँछ । तर गुबो छेडेर डाँठको केन्द्र भागमा लुकी बसेको फौजीलाई बारुलो छिरेर झिक्न सक्छ कि सक्तैन ? त्यसमा भने शंकै छ । फेरि लाखौंको संख्यामा आकाश मण्डलबाट प्रवेश गरेको फौजीलाई रोक्न त्यही संख्याको बारुलो उत्पादन हुन सकेन भने स्थिति के होला ? अनेकन आशंका जन्मिएका छन् । फेरि मासुको गन्ध मन नपराउने शुद्ध शाकाहारी बारुलो मकैबाली नाश गर्ने प्रकृतिको फौजी कीरा मास्न सक्षम बन्ला, नबन्ला त्यो पनि सन्देहको विषय हो ।

लु, मकैवाली नाश गर्ने प्रकृतिको फौजी कीरो मास्न त नार्कले बारुलो उत्पादन गर्ने भयो । मानव मुहारका फौजी कीरा सोत्तर बनाउन अरिङ्गाल उत्पादनमा लाग्नुपर्ने आवश्यकता छ । बारुलाले त छिसिक्क केही गर्न सक्ने होइन । फौजी कीरो निरन्तर बोलिरहेको छ– ‘आच्छ्यिूँ खाएँ बाच्छ्यिूँ खाएँ मुला झुसे बारुला ।’ यसरी उसले बारुलालाई त पत्याएकै छैन । बारुलो भन्दा ठूलो प्रजातिको कालो अरिङ्गालको खेती गर्न सक्तामात्र मानव देहका फौजी कीरालाई ठेगान लाउन सकिँदो हो भन्ने मेरो विश्वास हो । रातो अरिङ्गालले पनि खासै काम गर्न सक्तैन । कीराको शिकार गर्न सबैभन्दा माहिर कालो अरिङ्गालै हुन्छ ।

कालो अरिङ्गाल बिच्कियो र मान्छेलाई टोक्नु पर्‍यो भने पानीमुनि लुक्तापनि पानीभित्र पसेरै शत्रुलाई चिल्ने गर्छ । यसै खालका ज्याद्रा ज्याद्राखाले काला अरिङ्गालको हुल तयार नगरेसम्म नेपाल मण्डलको मकैवारी सोत्तर पार्ने खाल खालका फौजी कीरालाई निस्तेज गर्न कदापि सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप