कथा : परदेसिएका बा
जाडो कम कम हुँदै गएको थियो । घर छेउका बाँसघारीमा चराहरू सुत्ने तरखरमा थिए । बाँसघारीको छेउको डाँडामा सिरसिर हावा चलिरहेको थियो । डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा भएका बा गोठमा गाईबस्तुलाई घाँसपानी गरेर फर्कँदै थिए । अनि आमा भित्र भान्सामा खाना बनाउने तयारीमा थिइन् । त्यस्तै केही मानिस पिठ्युँमा घाँसको डोको, दाउराको भारी बोकी घरतर्फ आउँदै थिए । अनि कोही घरमा रेडियो सुनेर बसिरहेका थिए ।
पर्वतको बाजुङमा मेरो घर । मेरा बा उई जवानामा १२÷१३ क्लास पढेका अरे । आफूले पढ्दै पढाउँदै गरेका कारण मेरा बालाई जसले पनि मास्टर भन्ने रैछन् । बाले आज मास्टरी छाडे पनि हाम्रो घरको नाम मास्टरको घर भनेर चिनिन्छ ।
औंसीको रात, पुस महिनाको समय, घाम डुबिसकेका थियो । मानिस र जुनमा एउटा भिन्नता रैछ, जुन अस्ताएपछि फेरि उदाउन सक्छ तर मानिस अस्ताएपछि उदाउनु त्यस्तै हो । जुन अस्ताएर मिर्मिरका तारा झरेर गएपछि नै बिहानको सुरुआत हुने त हो । भूपि शेरचनले भनेको जस्तोः
हुँदैन बिहान मिर्मिर मा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।
गाउँमा दुईतिरबाट खोला बग्छ । दुबै खोला तलतिर एकै ठाउँमा मिसिएको छ । अनि त्यहाँ गहिरो ताल बनेको छ, जहाँ हामी ससाना हुँदा पौडी खेल्न जान्थ्यौ । म सानो हुँदा मैले आमालाई सोध्थे, ‘आमा, बाबा खोई ?’
आमाले घर छेउको डाँडामा गई दुई खोली सलल बगेको देखाउँदै भन्थिन्, ‘तेरो बा, ऊ त्यो खोलाको तिरैतिर हुँदै परदेस गएका छन् । अस्ति फोनमा अब छिट्टै घर आउँछु भनेका छन् ।’
त्यस्ता अस्ति कति गए, कति । तर बा आजसम्म परदेसबाट फर्केनन् । म सानै हँुदा बा परदेसिएको कुरा मैले आमाबाट थाहा पाएँ । मैले मेरा बालाई म जान्ने बुझ्ने भएदेखि देख्न पाएको थिइनँ । जबदेखि म जान्ने बुझ्ने भएको थिएँ, तबदेखि बालाई देख्न पाउन अनि उत्सुक थिएँ । किनकि मेरा बा कस्ता अनि कस्ता छन्, मैले देखेकै थिइनँ । मलाई त यत्ति थाहा थियो कि मेरा पनि बा रैछन्, म पनि बाको सन्तान रैछु ।
अस्ति आमासँग अब छिट्टै घर आउँछु भनेको कुरा एक कान दुई कान गर्दै मैदान भएछ । गाउँभरी हल्ला भयो । बा घर आउने पक्का भयो । बा घर आउने भएपछि घरको सरसफाई हुन थाल्यो । आमाले ढोकाको दैलोमा अम्खोरामा जल राखिन् । आँगनको डिलमा भएको सयपत्री फुलको बोटबाट फुल टिपेर ल्याइन् अनि अम्खोरामा हालिन् । फुल छेउमा दुबो पनि राखिन् । आमाले घरलाई चारैतिरबाट रंगीन बनाइन् । आजजस्तो आमा मुस्कुराएको मैले यसअघि कहिल्यै देखेको थिइनँ । त्यो पल आमाको मुहारमा अनौठो किसिमको चमक देखे । आमाको ओठ खुसीले नाचिरहेको थियो ।
यता आमा घरको काममा तल्लीन थिइन्, म बाको ब्यग्र प्रतीक्षामा थिएँ । बा आउने बाटातिर हेरेर बसिरहेको थिएँ । ती खोलानालाले बालाई कतिबेला स्वागत गर्लान् भनी डाँडाको छेउमा आउँदै हेर्दै गरिरहेको थिएँ । तर अहँ झमक्कै साँझ पर्यो, चराचुरुङ्गी बास बस्न डाँडा छेउको बाँसघारीमा आइपुगे । झ्याउकिरी कराउन थाले तर बा आएनन् ।
म निराश हुँदै घर आएँ । तर घर आउँदा सबैको मुहारमा खुसी देखियो । किनकि घरबाट देखिने तलको बाटोमा चार ओटा लाइट एकैसाथ एकैबाटो बाल्दै आएको देखिदै थियो । मैले एकोहोरो लाइट बालेको मात्रै हेरे ।
दोबाटोमा आएपछि ती लाइट दुईतिर बाँडिए, दुइओटा मेरो गाउँतिर अनि दुइओटा पल्लो गाउँतिर । अलि नजिक आएपछि दुई जनामा मेरा बा को होलान् भनी अनुमान गरें । दुबै हाम्रो घरको आँगनमा आइपुगे । मैले अनुमान गरें कि पक्कै पनि मेरा बा अगाडि आएको हुनुपर्छ ।
आफू जान्ने बुझ्ने भएपछि पहिलो पटक बालाई देख्दै थिएँ । बाले आएर हजुरबुबालाई ढोगे । अनि बालाई आमाले लम्पसार परेर खुट्टामा ढोगिन् । मैले बालाई ढोगेपछि वर्सौपछि परदेसबाट आएका बाले आशिष दिदै मलाइ भने, ‘म जसरी मेरो छोरो परदेस जान नपरोस् । मैले जसरी परदेसिएर जागिर खानु नपरोस् । मैले पढाईदिएको, लेखाइदिएको छु, उसले सोचेको सबै यही नै काम लागोस् भगवान ।’
बा आएपछि घरका सबै सदस्यहरुको अनुहार खुसी भयो । आमा झन खुसी भइन् । तर बा आए पनि आमाको दुःख भने घटेन । आफू जलेर सन्तानलाई खुसी दिइरहेकी छिन् आमाले ।
मैले देखे, बाको निधारमाथि गहिरो दाग । त्यो दाग बाले जिम्मेवारी बोक्दा बोक्दै बसेको गह्रौ भारीको दाग थियो । मैले मेरा बा त परदेसमा जिम्मेवारीको भरिया पो रैछन् भन्ने सोचे ।
एकदिन बालाई मैले बालसुलभ ढंगले सोधेछु, बा तपाईं किन परदेसी हुनु भएको ? अनि परदेस भनेको के नि ?
परदेसी हुने रहर त कसलाई हुन्छ र बाबु । गरिबी र बेरोजगारीको हतकडी फुकाउने उद्देश्यले म जस्ता कयौ मानिस जाने ठाउँ नै परदेस हो । जहाँ उनीहरुको दुःख, पीडा, पीर, ब्यथाहरु कसैको कसैभन्दा कम नहोला । तर फरक भने अवस्य छ, जहाँ पलपल जन्मभूमि, घर परिवार र छोराछोरीको यादमा बग्ने आँसुको महत्त्व बुझ्ने मानिस कोही हँुदैन त्यही नै परदेस हो । सम्झनाले जति सताए पनि बिछोडको पीडाले जति तड्पाए पनि भावनारुपी दियोमा कल्पनारुपी आशाका दीप जलाउँदै घरको सम्झना, भरोसा र आशामा बाँच्ने ठाउँ परदेस हो बाबु ।
आज म घरबाट टाढा छु । पढ्न आएको छु, मेरो यहाँ सम्मको यात्रामा बा आमाको सपना अनि मेरो विपना जोडिएको छ । बा तपाईंलाई सम्बोधन गर्ने त मसंग कुनै शब्द नै छैन । तपाईंलाई सधँै बा भनेर बोलाउन पाई राखुँ । भौतिक रुपले टाढा भए पनि आत्मीयता गाढा छ । हजुरको कारण म यो स्थानमा छु, हजुरको मुहारमा सधैँभरी खुसी छाओस् । बाँकी दुःख, कष्ट, रोग, पीर, ब्यथा म आफै बुझौला अनि सहौला पनि । तर बा तपाईंको निधारको जिम्मेवारीको दाग भने एक म दिन अवस्य मेट्ने छु । यो मेरो वाचा भयो ।
मोदी गाउँपालिका–५, पर्वत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
-
लिक्विफाइड न्याचुरल ग्यास आयातको अनुमति, तर छैन मापदण्ड